इनरुवा (सुनसरी), ७ चैत : सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका उराँव समुदायले आज सरहुल पर्व मनाएका छन् ।
इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, गढीलगायतका स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले सरहुल पर्व मनाएका हुन् ।

प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायका मानिसले इनरुवा–८ मा सामूहिक भेला भएर आफ्नो धार्मिक परम्पराअनुसार सरना स्थलमा सरहुल पर्व मनाएको उराँव समुदायका अगुवा रामकिसुन उराँवले जानकारी दिनुभयो । उहाँले यो पर्व आफ्नो समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रकृति पर्वका रूपमा रहेको बताउनुभयो । चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गरेको उहाँले जानकारी दिनुभयो ।
पर्वका अवसरमा साल र करमको रूख अर्थात् सरना स्थलमा भेला भई पूजा गरेर यो पर्व मनाउने गरिएको छ । नयाँ फूल आउनुलाई नयाँ वर्षको सुरुआतका रूपमा लिई यो पर्वलाई मनाउने प्रचलन छ ।
नयाँ फलफूल भएका बेलामा कुलदेवतालाई प्रसादका रूपमा अर्पण गरेपछि मात्र नयाँ फसल वा फलफूलको प्रयोग सुरु गर्ने गरेको उराँव समुदायका अगुवाले बताएका छन् ।
पूजाका क्रममा धर्मगुरुले पृथ्वी, जङ्गल, पानी र पूर्वज देवताप्रति कृतज्ञता व्यक्त गर्दै समुदायको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । सहभागीले पारम्परिक वेशभूषा लगाएर पूजापाठ गरेका थिए ।
—




