मुगु । लामो समयसम्म निर्माण कार्य अधुरै छाडेर आयोजना ओगट्ने निर्माण व्यवसायीमाथि सडक डिभिजन कार्यालय जुम्ला ले कडा कदम चालेको छ । कार्यालयले चार वटा सडक योजनाका ठेक्का सम्झौता रद्द गरेको सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यालय प्रमुख श्रवणकुमार महताराका अनुसार पटक–पटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीहरूले काममा प्रगति नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको हो । रद्द गरिएका योजनाअन्तर्गत कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले जुम्ला–डोल्पा सडक निर्माणको जिम्मा लिएको थियो ।
यस्तै, शंकरमाली निर्माण सेवाले नाग्मा–गमगढी सडकअन्तर्गत मुगुको पिना देखि गमगढीसम्मको खण्ड निर्माणको जिम्मा पाएको थियो ।
त्यसै गरी, मान शाही निर्माण सेवाले कालिकोटको सेर घाटदेखि मात्म बजार क्षेत्रसम्म सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम लिएको थियो भने मानक शाहीले कर्णाली राजमार्गअन्तर्गत सेरिघटा सडक सुधारको जिम्मेवारी पाएका थिए । तर ती सबै योजनामा लामो समयसम्म काम अधुरै राखिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख महताराले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीमाथि प्रचलित कानुन बमोजिम थप कारबाही गरिने जानकारी दिएका छन् ।
साथै, अलपत्र आयोजनाहरूलाई छिट्टै नयाँ प्रक्रियामार्फत अघि बढाइने पनि उनले बताए । लामो समयदेखि रोकिएका सडक योजनामा भएको यस कदमले स्थानीयस्तरमा पुनः काम सुरु हुने अपेक्षा बढेको छ भने सेवाग्राहीहरूमा पनि आशा जागेको छ ।




