काठमाडौँ, १९ चैत : सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी रु ९० लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी रु ९० लाख जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न निज गुरुङलाई पक्राउ गरिएको हो ।”
गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी आज ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।
यात्रीलाई अभद्र व्यवहार गर्ने १३ जना नियन्त्रणमा
प्रहरीले सर्वसाधारण यात्रीलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने गरेको अभियोगमा १३ जनालाई काठमाडौँको नयाँ बसपार्कबाट आज नियन्त्रणमा लिएको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने यात्रीलाई दुःख हैरानी दिने अभद्र व्यवहार गर्ने गरेको सूचनाका आधारमा १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारण यात्रीको झोला तथा सामान जबर्जस्ती तान्ने, दुःख हैरानी दिने अभद्र व्यवहार गर्नेलाई प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।” नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
h




