• सोमबार-कार्तिक-५-२०८१

सिन्सियर सहकारीमा कालोधन ? 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २८ शंकरदेव क्याम्पसको दक्षिणतर्फ पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले हजारौं सदस्य र बचतकर्ताको रकम जथाभावी लगानी गरेर बचतकर्ता र ऋणीलाई डुबाएको गुनासो पीडितहरुले गरेका छन् । २०५७ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा २४ वर्षदेखि निरन्तर रुपमा राजेन्द्रभक्त श्रेष्ठ नै अध्यक्ष रहेको स्रोतले जानकारी दिएको छ ।  बचतकर्ता सदस्यहरूको लगानीमा कुनै समस्या नदेखिएपनि र कर्जा असुलीमा भने केही समस्या देखिन थालेको सञ्चालकहरूले बताएका छन् । यस सहकारी संस्थाको अध्यक्ष श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत भने मीरा कमाचार्य रहेका छन् ।


उनीहरूले पाँच प्रतिशत कमिशन लिएर समस्यामा परेका सदस्यहरूलाई चर्काे व्याज दरमा ऋण प्रवाह गरेको आरोप पीडितहरुले लगाएका छन् । आर्थिक मन्दीका कारण सदस्यले कर्जाको लागि घरखेत, धितोजेथा र कमाइखाने सवारीसाधन धितोमा राखेर ऋण लिएको तर समयमा साँवा, व्याज र किस्ता समयमा बुझाउन नसक्दा धितो लिलाम गरी उठिवास लगाएको गुनासो पीडितहरुले गरेका छन । राम्रो घर जग्गा र सवारीसाधन धितो राखेर लिएको ऋणको दुई तीन किस्ता साँवा र तीन महिनाको व्याज बुझाउन नसक्दा नै धितो राखेको जायजेथा सहकारीले लिलाम बिक्रीको सुचना प्रकाशित बिना नै सहकारीको नाममा गर्ने गरेको पीडितहरु बताउँछन ।


तेश्रो पक्षसँग मिलोमतोमा आफ्नै समूहलाई ऋणीले धितो राखेको जायजेथा खरिद गर्न लगाउने संस्थालाई फाइदा पु¥याउने काम गरेको गुनासो प्राप्त भएको छ । कतिपय धितोमा राखेको जायजेथा संस्थाले नै सकार्दै पदाधिकारीहरुले सस्तोमा खरिद गरी आर्थिक रूपमा ऋणीलाई भने घरको न घाटको हरितन्नम बनाइ सम्पत्ति हडप्दै आएको एकजना पीडितले गुनासो सुनाए । यतिसम्मकि ऋणीलाई समयमा साँवा, व्याज र किस्ता नतिरेको खण्डमा धितो लिलामको लागि ऋण लैजाँदा नै खाली कागजमा संस्थाका कर्मचारीहरुले हस्ताक्षर र ल्याप्चे लगाएर मात्र प्रवाह गर्ने गरिएको पीडितहरु बताउँछन् ।


सिन्सियरका अध्यक्ष राजेन्द्र, कार्यकारी सञ्चालक खड्का र कर्जा विभाग प्रमुख मिराले स्थापनाकालदेखि नै यसरी ने ऋणीहरुलाई सताउँदै आएको आरोप छ । २४ वर्ष अघिसम्म अध्यक्ष श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश र कर्जा विभाग प्रमुख मीरालाई देखेकाहरू यतिखेर उनीहरूको फेरिएको सानदार र बैभवशाली जीवनशैली देखेर आश्चर्यचकित हुन पुगेको बताउछन् । 

प्रतिकृया दिनुहोस