• मंगलबार-असोज-२२-२०८१

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव


काठमाडौँ, २१ असोज : खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकारभेटघाटमा उहाँले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दसैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो ।

 

“काठमाडौँवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दसैँ अगाडि काठमाडौँवासीका घरमा पानी पुर्‍याउँछौँ”, मन्त्री यादवले भन्नुभयो, “ विपद्को समयमा सबै नागरिकले एकजुट भएर आफूसँग भएको चिज प्रदान गर्नु नै धर्म हो ।”

 

काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीबासीका घरमै पुगेर अनुरोधसमेत गर्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ । मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु ।”

खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची संघर्ष समितिका पादधिकारीहरुबीच आज मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा हेलम्बु गाउँपालिकामा वार्ता हुँदै। तस्बिर : विमलबहादुर विष्ट/रासस

 

यसैगरी मन्त्री यादवले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गराउन आफू हरतरह लागि परेकाले मेलम्चीवासीको मागको सहमति नजिक पुगेको जानकारी दिनुभयो । बाढीपहिरोका कारण पछिल्लो समय मुलुकमा असहज परिस्थिति रहेको भन्दै उहाँले परिस्थिति बुझ्न र काठमाडौँमा पानी पठाउन मेलम्चीवासीसँग आग्रह गर्नुभयो ।

 

मेलम्चीका स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने मन्त्री यादवले जानकारी दिनुभयो । सोही क्रममा मन्त्री यादवले केही दिन पहिले आफू दक्षिणकालीका नागरिकका घरैमा पुगेर विन्ती बिसाएपछि ललितपुरमा खानेपानी सहजरूपमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

 

मेलम्चीका स्थानीयवासीले विपद्को यस घडीमा काठमडौँमा पानी पठाउने विषयमा अवस्य साथ दिने आशा रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विपद्को घडि छ । यो समय आन्दोलन गर्ने बेला होइन, अहिले भनेको एक अर्कालाई सहयोग गर्ने समय भएकाले मेलम्चीवासीले पानी पठाउन अवस्य सहयोग गर्नुहुन्छ ।”

 

हालैको अविरल वर्षाका कारण गएको बाढीपहिरोले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको र खानेपानीमा मात्रै करिव साढे रु तीन अर्बको क्षति पुर्‍याएको मन्त्री यादवको भनाइ छ । बाढीकै कारण काठमाडौँका महाङ्काल मैदानमा भएका मेसिनरी वस्तुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्पलगायत मेसिनरी सबै सामान ध्वस्त भएकाले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको मन्त्री यादवले जानकारी दिनुभयो । 
–––

(तस्बिरमा खानेपानीमन्त्री प्रदीप यादव आज मेलम्ची संघर्ष समितिको मागका विषयमा मन्तव्य राख्दै । मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा अहिले मेलम्ची संघर्ष समितिका पदाधिकारीहरुसँग सिन्धुपोल्चोकको हेलम्बु गाउँपालिकामा वार्ता चलिरहेको छ । तस्बिर : विमलबहादुर विष्ट/रासस)

प्रतिकृया दिनुहोस