• मंगलबार-असोज-२२-२०८१

विपद्बाट बच्न तीनवटै सुरक्षा निकायको संयुक्त कृत्रिम अभ्यास


सिमकोट (हुम्ला), २१ असोज : जिल्ला सदरमुकाम सिमकोटको तल्लो बजार सिमसार क्षेत्रमा आज विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । 

 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकायको संयुक्त सहभागितामा कृत्रिम अभ्यास गरिएको हो । उक्त अभ्यासमा परालको छानो भएको घरमा आगो लगाइएको थियो । आगलागी भएको सूचना जिल्ला प्रशासनमा प्राप्त भयो र प्रशासनले विपद् व्यवस्थापन टोली खटाइ घटनास्थलमा पुगेर आगो निभाइयो । 

 

अभ्यास कृत्रिम भए पनि वास्तविक झैँ गरी प्रदर्शन गरिएको थियो । आगलागीमा परी घर जलेका महिलाले आगो निभाउने क्रममा घाइते भएको र विपद् व्यवस्थापन टोलीले तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको अभ्यास गरिएको थियो । 

आगलागीको कृत्रिम घटना गराइ निभाउन पूर्वअभ्यास गरिएको बराहदल गुल्म, रानीवन ब्यारेकका सेनानी प्रतीकसिंह राठौरले बताउनुभयो । हुम्लामा सबैभन्दा बढी विपद्का घटनामध्ये आगलागी भइरहने हुँदा यसबाट बच्न पूर्वअभ्यास गरिएको सेनानी राठौरको भनाइ छ ।  

 

आगलागीका घटना हुन नदिन र यदि भइहालेमा कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न पूर्वतयारीस्वरुप सुरक्षा निकायले पूर्वअभ्यास गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 

 

विपदका घटना जतिखेर पनि आइपर्ने भएकाले पूर्वतयारीका लागि सुरक्षाकर्मीले गरेका अभ्यास सकारात्मक भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । आज भएको कृत्रिम अभ्यासमा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राई, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थित रहेको थियो । 
---

 

 

 

प्रतिकृया दिनुहोस