• आइतबार-असोज-२०-२०८१

प्रकाशमान सिंह राउत ३२ औं प्रधान न्यायाधीशमा नियुक्त

काठमाडौं । २०८१ असोज २० गते सर्वाेच्च अदालतको प्रधान न्यायाधीशमा वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असोज २० गते नै सर्वाेच्च अदालतको प्रधान न्यायाधीशमा संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधान न्यायाधीश राउतले असोज २० गते हिजो दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहणलिई अपरान्ह सर्वाेच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई सर्वाेच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतमा स्वागत गरेकी थिइन । राउत ०८२ चैत १६ गतेसम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीश रहनेछन् ।


प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको २०८१ असोज १९ गतेदेखि अवकास पाएपछि राउत प्रधान न्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले राउतलाई २०८१ भदौ ३१ गते प्रधान न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

 

प्रधान न्यायाधीशमा सिफारिस भएका राउतको नाम २०८१ असोज १६ गते संसदीय सुनुवाई समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको थियो । सर्वाेच्च अदालतका यसअघिका प्रधान न्यायाधीश श्रेष्ठको २०८१ असोज १६ गते सर्वोच्च अदालतबाट औपचारिक रूपमा  बिदाइ गरिएको थियो ।

को हुन प्रधान न्यायाधीश राउत ?


२०१७ चैत १८ गते उदयपुर जिल्लामा जन्मिएका राउतले कानूनमा स्नातक गरेका छन् । उनले २०३९ सालदेखि कानून व्यवसायीका रुपमा वकालत गरेका थिए। राउतले अधिवक्ता र वरिष्ठ अधिवक्ताका रूपमा करिब ३३ वर्ष अर्थात् २०७२ सालसम्म वकालत र बहस पैरवी गरेर कानून व्यवसायलाई निरन्तरता दिएका थिए।

 

राउत सर्वोच्च अदालत बार एशोसिएशन र नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए । साथै उनले नेपाल बार एसोसिएसनको संवैधानिक समितिको संयोजक भएर पनि काम गरेका थिए।


 प्रधान न्यायाधीश राउत देवानी, फौजदारी, संवैधानिक कानूनका ज्ञाता, यी मुद्दा र रिटमा विशेष दख्खल राख्छन् । यसबाहेक राउतसँग विभिन्न निजी एवं सार्वजनिक संस्थाहरूमा कानूनी सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ। राउत सर्वाेच्च अदालतको न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त भएका थिए।


  राउतको सर्वाेच्च अदालतमा ०८१ असोज २० देखि ०८२ चैत १७ सम्म नेतृत्व गर्ने छन। सर्वाेच्चमा ८ वर्ष न्यायाधीश हुँदा उनी कुनै पनि विवादमा मुछिएका थिएनन् । लोकतान्त्रिक विचार र कांग्रेस निकट रहेका मानिएका प्रधान न्यायाधीश राउतलाई अत्यन्तै सकृय, तुलनात्मक रूपमा इमानदार, न्यायिक र अनुभवी प्रधान न्यायाधीश मानिन्छ ।

 

उनको डेढ वर्षे कार्यकालमा न्यायिक क्षेत्रमा पेशी, तारिख, बयान, वकपत्र, फैसला, पूर्णपाठ फैसला लेखनदेखि फैसला कार्यान्वयनका क्षेत्रमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ।


  साथै तिनै तहका न्यायाधीशको नियुक्ति र सिफारिस संविधान र कानून अनुसार समयमै योग्य, क्षमतावान, इमानदार र अनुभवीलाई  गर्ने, उच्च अदालत र जिल्ला अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, रजिष्ट्रार, सह रजिष्ट्रार, उप रजिष्ट्रार, श्रेस्तेदार र अन्य कर्मचारीहरूको निप्पक्ष र न्यायिक सरूवा गर्ने अपेक्षा गरिएको छ । तर यसमा उनी कति सफल हुन्छन्, त्यो त आगामी दिनमा उनले खेल्ने भूमिका, जिम्मेवारी लिने सुधारका कामले नै बताउने छ ।

 

प्रतिकृया दिनुहोस