• सोमबार-पौष-१५-२०८१

जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज

काठमाडौँ। भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव जारी रहेको छ। जस अन्तर्गत आज तेस्रो तथा अन्तिम चरणको मतदान हुँदैछ।

 

असोज १५ मंगलबार ४० सिटका लागि मतदान हुन लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। जसमा जम्मु डिभिजनका २४ सिट र उत्तर कश्मीर उपत्यकाका १६ सिटका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। तेस्रो चरणमा कुल ४१५ उम्मेदवार मैदानमा छन्। यससँगै सबै ९० विधानसभा सिटमा मतदान प्रक्रिया पूरा हुनेछ। आजको मतदानपछि मतगणना अक्टोबर ८ मा हुने छ।

 

जम्मू कश्मीरमा तीन चरणमा विधानसभा चुनाव हुँदैछ। पहिलो चरणमा सेप्टेम्बर १८ मा २४ सिटका लागि मतदान भएको थियो। सेप्टेम्बर २५ मा दोस्रो चरणमा ४० सिटका लागि मतदान भएको थियो।

 

आजको मतदानमा ३९ लाख १८ हजार २२० मतदाता मतदान गर्न योग्य छन्। जसमा २०,०९,०३३ पुरुष, १९,४०,०९२ महिला र ५७ अन्य मतदाता रहेका छन्। तेस्रो चरणमा १८ देखि १९ वर्षका युवा मतदाताहरूमा १.९४ प्रतिशतले पहिलो पटक मतदान गर्दैछन्। निर्वाचन आयोगले ५०६० मतदान केन्द्रहरू सिर्जना गरेको छ। साथै, कश्मीरका आप्रवासी मतदाताहरूका लागि २४ विशेष मतदान केन्द्रहरू पनि स्थापना गरिएको छ। जसमा जम्मूमा १९, दिल्लीमा चार र उधमपुर जिल्लामा एउटा विशेष मतदान केन्द्र समावेश छ।

 

तेस्रो चरणको निर्वाचनका लागि समग्रमा २० हजारभन्दा बढी मतदान कर्मचारी खटिएका छन्।

प्रतिकृया दिनुहोस