• सोमबार-पौष-१५-२०८१

‘पर्यटन प्रवर्द्धनका अन्तर्राष्ट्रिय कार्यक्रम गर्न नीतिगत समस्या छन्’

‘नेपालले लग्जरी टुरिस्ट ल्याउनसक्ने हैसियत राख्छ’

यतिबेला पर्यटनको सिजन सुरु भएको  छ । नेपालमा सेप्टेम्बर १५ पछाडि सिजन सुरु भएको मान्छौं । संसारभरीको कुरा गर्ने हो भने सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवस भनेर मनाउने चलन छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पुरानै हो ।

 

युरोपेलीलगायत पश्मिमा देशहरुले सिजन सकिएको खुसीयाली र नेपाललगायत एसियाली देशहरुमा चाहीं सिजन सुरु भयो भनेर उत्सव मनउने गरिन्छ । नेपालमा पछिल्लो समय पर्यटनको सिजन सुरु भएको छ ।  पर्यटन व्यवसायीहरु पनि आ–आफ्नो  काममा पर्यटनलाई  स्वागत गर्ने हिसाबले तयारी अवस्थामा छन् ।


पर्यटन आवागमन विगतको महिनाहरु भन्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा धेरै पर्यटक आउने महिना भएकाल सोही अनुसार तयारी पनि भइरहेको छ । नेपाल आउने पर्यटकहरु पछिल्लो समय कोभिड महामारीपश्चात यसपटक आवागमनमा परिवर्तन भएको छ ।

 

मुख्यगरी कोभिड भन्दा अगाडि सबैभन्दा धेरै भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका पर्यटकको आगमन हुन्थ्यो । भारत २० प्रतिशतको हाराहारी, चीनको १५ प्रतिशतको हाराहारी, अमेरिकाको आठ प्रतिशत बेलायतको ६ प्रतिशत र श्रीलंकाको पाँच प्रतिशतको हिसाबमा आगमन हुन्थ्यो ।


तर कोभिड पश्चात सबैभन्दा धेरै भारतीय पर्यटकहरु नेपाल आइरहेका छन् । जसमा हवाई माध्यमबाट आउने भारतीय पर्यटकको संख्या ५९ प्रतिशतसम्म पुगेको थियो । अहिले पछिल्लो २४ को पहिलो आठ महिना भारतबाट आउने  पर्यटकहरुको संख्या ३० देखि ३५ प्रतिशतको हाराहारीमा छ । अमेरिकीहरुको बजार आठ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ ।

 

चिनियाँ बजार १५ प्रतिशत हुनुपर्ने हो तर अहिले घटेर आठ प्रतिशत मात्र देखिएको छ । बेलायती बजार ६ देखि सात प्रतिशतको बीचमा छ । यस्तै  श्रीलंकन बजार पनि अलिकति घटिरहेको अवस्था देखिन्छ । समग्र रुपमा हेर्ने हो भने नेपाल आउने पर्यटकहरुलाई चार क्याटागोरीमा विभाजन गरेर हेर्ने गर्छौ ।


सबैभन्दा धेरै ६० देखि ६५ प्रतिशत होलिडे अथवा लिजर समय लिएर पर्यटकहरु नेपाल आउने गर्छन । १०देखि १५ प्रतिशत ट्रेकिङका लागि आएको  देखिन्छ । धर्मकर्ममा जाने भनेर आएका पर्यटक आठ देखि १० प्रतिशत आएको देखिन्छ । बाँकी पर्यटक अन्य कामको लागि  आएको पाइन्छ ।


मुख्य रुपमा हाम्रो अघिल्लो सिजनको कार्यकाल माघको मध्यतिर सकिए पछाडि पर्यटन बोर्डमा नेतृत्वको अभाव थियो । नियमित काममा पनि केही समस्याहरु थिए । दुई हप्ता अगाडि नयाँ नेतृत्व पर्यटन बोर्डले पाएको छ । नयाँ नेतृत्व आइसके पछाडि नयाँ उर्जा, जोश जाँगर र नयाँ इतिहास रच्ने हिसाबले नेतृत्वले काम गरिरहेको छ ।


यतिबेला हामी बजेटले पुर्नलेखन गर्ने काम गरिरहेका छौं । पर्यटन गतिविधि गर्न र जतिसक्दो प्रवर्द्धनका कार्यक्रमको तयारीमा जुटेका छौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस वर्ष कम्तिमा १६ लाख पर्यटक भित्र्याउने भनेर घोषणा गरेको छ ।

 

यसका लागि के कस्ता गतिविधिहरु गर्ने र कस्ता रणनीतिहरु तयार गर्ने भनेर छलफलमा छौं । १६ लाख पुर्याउन सकिन्छ भन्ने हिसाबले नयाँ नेतृत्वको सम्पूर्ण टिमले काम गरिरहेको अवस्था छ ।


हुनत नेपाल आउने पर्यटकहरु संख्या कि गुणस्तरको भन्ने पनि बहस छ । गुणात्मक कि संख्यात्मक भन्ने कुरामा जहिलेपनि बहस चलिरहेको हुन्छ । सन् १९९८ मा भिजिट नेपाल इयरमा पर्यटन सूची बनाउँदा कम्तीमा पाँच लाख भनेर संख्याकोे कुरा गरेका थियौं । नेपाल भ्रमण वर्ष २०११ मनाउँदा कम्तिमा पर्यटकको संख्या १० लाख पुर्याउने भन्ने हिसाबमा काम कारवाही गतिविधिहरु गरेका थियौं ।


भिजिट नेपाल २०२० भनेर मनाइरहँदा २० लाख पर्यटक भित्र्याउने कुरा गरेका थियौं । कुनै न कुनै हिसाबबाट संख्याको हिसाब राखिएकै छ । सबै देशमा संख्यात्मक कुरा गर्ने चलन छँदैछ । यति भनिरहँदा हामीले संख्या मात्र बढाउन लागेका होइनौं । गुणात्मक पर्यटक आउन भन्ने हामी सबैलाई लाग्नु स्वभाविक हो ।

 

पूर्वको कञ्चनजंघाबाट लिएर पश्चिमको अपिसम्म उत्तिकै महत्वपूर्ण सम्पदाहरु छन् र उत्तिकै पर्यटकहरुलाई आकर्षण गर्ने गन्तब्यहरु रहेकाले तिनीहरुको प्रवर्द्धन गर्न हामी सबै एकसाथ जुटेका छौं ।

 

आएका पर्यटकहरु सिमित ठाउँमा मात्र नभएर सकेसम्म पूर्वदेखि पश्चिमसम्म जाउन भन्ने राज्यको नीति नै हुन्छ । सबै ठाउँमा पर्यटक पुर्याउनका लागि मात्र संख्याको कुरा गरिएको हो ।


हालका सबै गतिविधि र परिणामले टुरिज्मको मार्केट त झन् सशक्त रुपमा अगाडि बढिरहेको छ भन्ने जनाउँछ । प्रिमियम ब्रान्चहरु नेपालमा सायदै आउथे होला ।

 

त्यसैगरी मुस्ताङको रिसोर्ट चिन्तामणि भनेर सुन्नु भएको होला, त्यो नेपालको अहिलेसम्ममा सबैभन्दा राम्रो पैसा चार्ज गर्ने रिसोर्टका रुपमा चिनिएको छ । त्यो पनि राम्रो तरिकाले चलिरहेको छ ।

 

काठमाडौं उपत्यका र पोखरामा पनि लग्जरी होटलहरु छन्, ट्रेकिङ एरिया मुस्ताङ, यता चितवनमा पनि लग्जरी होटल र लग्जरी ब्रान्चहरु आउँदा लग्जरी टुरिस्ट पनि ल्याउन सक्ने हाम्रो हैसियत रहेछ भन्ने पुष्टि हुन्छ । लग्जरी टुरिस्टहरु पनि नेपालमा आएको देखिन्छ ।


संख्यात्मक भन्दा पनि गुणस्तरका पर्यटक पनि आकर्षित गर्नको लागि विभिन्न खालका लग्जरी ब्रान्डको साथै नेपाल पर्यटन बोर्डले पनि लग्जरी मार्केटहरु खोज्न ध्यान केन्द्रीत गरेको छ । अथवो स्रोत बजारहरुमा आफ्नो हिसाबको बजारीकरण गरेर बढि प्रचार प्रसारको कामहरु गरिरहेका छन् ।

 

बोर्डले निजी क्षेत्रहरुलाई समेत सहभागी गराएर संसारका मेजर डेस्टिनेशन, मेजर ट्राभल केयरहरुको सहभागिता बढाएको छ । यस्ता गतिविधिले सुरुवातदेखि नै निरन्तरता पाइरहेको थियो । तर विगतका बर्षहरुमा कतिपय फेयरहरुमा हामीले उपस्थिति जनाउन सकेनौं । त्यसमा कानूनी प्रावधानले अलिकति समस्या आएको थियो ।

 

विदेशमा कार्यक्रम कार्यान्वयन गर्नको लागि सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार कार्यविधि बनाएर सम्बन्धित निकायमा पेश गरेका थियौं । मुख्य रुपमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा र त्यहाँ पेश गरेको विषयको सम्बन्धमा प्रतिक्रिया समयमा नआइपुग्दा अघिल्लो आर्थिक वर्षमा केही कार्यक्रमहरु गर्न सकेनौ ।


पछिल्लो फागुन–चैत्र तिर सरकारका अन्य निकाय मुख्य रुपमा परराष्ट्र मन्त्रालयलगायतले अन्तर्राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरेका कार्यविधिहरुलाई रिफ्रेन्स मानेर र मध्यम बाटो निकालेर केही कार्यक्रमहरु गरेका थियौं । तर मुख्य कार्यक्रम गर्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जुन कार्यविधि स्वीकृत भएर आउनुपर्ने भएकाले त्यसको प्रतिक्षामा छौं । त्यसको लागि छलफल भएर अन्तिम चरणमा पुगेको छ । त्यसैले यो बर्ष धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटन सम्बन्धी कार्यक्रमहरुमा गर्न पायौं भने त्यो सौभाग्य हुनेछ ।


विश्वसामु नेपालको प्रचार गर्ने क्रममा उत्कृष्ट होलिडे गन्तव्य हो भनेर प्रचार गरेका हुन्छौं । उत्कृष्ट भनेपछि मान्छेले त्यही हिसाबको अपेक्षा गर्ने भए । त्यही हिसाबले होटलहरु र आवतजावतमा खासै गुनासो आउँदैन् ।

 

नेपालका कतिपय होटलहरु अन्तर्राष्ट्रिय स्तरको भन्दा पनि माथिका छन् । दिनुपर्ने सेवाहरु अन्तर्राष्ट्रिय स्तरको भन्दा माथि छ । तर पूर्वाधारको सवालमा सन्तोषजनक हुन सकिरहेको छैन ।

 

अहिले धेरै सुनिने भनेको चितवनदेखि लुम्बिनी जाने र काठमाडौंबाट पोखरा जाने रोडका बारेमा हो । लाग्ने समयभन्दा पनि बढि समय लाग्ने गुनासोहरु छन् । यसले कतिपय पर्यटकहरुलाई भनेको समयमा गन्तव्यसम्म नपुग्दा समस्या आउने गरेको छ ।


जसका कारण पर्यटन मन्त्रालयमार्फत सम्बन्धित निकायमा कम्तिमा पर्यटन क्षेत्र र मुख्य रोडहरुलाई प्राथमिकतमा राखेर विकास निर्माणका कार्यहरु गर्नको लागि अनुरोध गरेका छौ । राज्यले पनि पर्यटकलाई प्रमुख आयस्रोतको रुपमा हेरेको क्षेत्र भएकादृ प्रगती गर्न सक्ने भन्ने कुरामा सम्बन्धित निकायहरुसँग समन्वय गरेर अगाडि बढ्न थालेका छौं ।  


यो पर्यटन दिवस भनेको पर्यटनकर्मीहरुका लागि दशैँ आएको जस्तो हो । आउने सिजनको लागि सबैजना तयार छौं भनेको हो । सिजन सुरु भयो भनेर गर्ने एक प्रकारको उत्सव हो ।

 

नेपाल पनि युनाइटेड नेशनको सदस्य भएको हुनाले दिवस मनाउनु दायित्व पनि हो । पहिला युएनडब्लु थियो, अहिले, यूएन् टुरिज्म भन्ने विश्व पर्यटन संगठन छ । यसले १९८० देखि विश्व पर्यटन दिवस भनेर मनाउँदै आएको छ ।


यसपालि ४५ औं पर्यटन दिवस हो । हरेक वर्ष कुनै न कुनै थिममा काम गरिरहेकै हुन्छौं । जुन पर्यटनसँग सम्बन्धित हुन्छ सोही थिममा कार्यक्रमहरु गरिन्छ । नेपालले पनि त्यही हिसाबले मनाइरहेको छ ।

 

यसपालीको थिम ‘टुरिजम् एन् पिस्’ भन्ने छ । कार्यक्रमहरु यही थिममा गर्ने भन्ने छ । मन्त्रालयबाट सबैभन्दा धेरै पर्यटक ल्याउने संस्था, सबैभन्दा धेरै बिदेशी मुद्रा आर्जन गर्ने ट्राभल कम्पनी, होटललगायतलाई अवार्ड दिने कार्यक्रम तय भएको छ ।


पछिल्लो समय पर्यटनका नयाँ नयाँ आधार र माध्यमहरु फेला परिरहेका छन् । मानिसहरुले नयाँ पर्यटनको क्षेत्र पहिचान गरेर काम गरिरहेका छन् । हवाईमा डोरी लगाएर हामफाल्ने स्काई ड्राइभिङ, आइसमा दौड प्रतिस्पर्धा गर्ने, हन्टिङ सम्बन्धि कार्यक्रम पनि विस्तारै बढिरहेको छ ।

 

पर्यटकहरु इलाममा चिया कसरी बनाइन्छ भनेर हेर्नेदेखि रोपाई महोत्सवमा सामेल हुनका लागि पनि आउँने गरेका छन् । धान काट्ने, चुट्ने अनुभव लिन पनि पर्यटकहरु पनि आइरहेका छन् । मःम बनाउन, नेपाली खाना बनाउन सिक्न, विभिन्न चाडपर्वमा घुलमिल गरेर सहभागिता जनाएर संस्कृतिबारे बुझ्न र सिक्न पर्यटकहरु आउने गरेका छन् ।


(विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

 

 

 

 

प्रतिकृया दिनुहोस