• मंगलबार-असोज-१-२०८१

राजदूत नियुक्ति खा रेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

 

रौतहट । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै गरेको राजदूत नियुक्तिको माग गर्दै जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।

 

पार्टीको निर्धारित कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लामा एकै साथ ज्ञापन पत्र बुझाइएको हो । नेपाल सरकारले नियुक्ति गरेका १८ देशका राजदूत नियुक्ति संविधानको मर्म तथा भावना विपरीत रहेको र सरकारले बिगतमा गरेको सम्झौताको मजाक उडाएकाले  बदरको  माग गर्दै  ज्ञापन पत्र बुझाइएको जसपा रौतहटका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका छन् ।

 

सहायक सीडीओ नरेश प्रसाद यादवलाइ बुझाइएको ज्ञापन पत्रमा राजदूत नियुक्ति अविलम्ब खारेज गरी समानुपातिक समावेशीको आधारमा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनेगरी पुनः नियुक्ति गर्न  माग गरिएको छ ।

 

बर्तमान सरकारले एउटै समुदायका व्यक्तिलाई राजदूतमा नियुक्ति गरेर एकल जातीय राज्य बनाउने दुरसाहस गरेको ज्ञापनपत्र मार्फत आरोप लगाइएको छ । समावेशी सिधान्तको आधारमा राज्यको हरेक अंग, तह, र निकायमा मधेशी, जनजाती, दलित, महिला, थारु, मुस्लिम, पिछडा बर्ग लगायतका समुदायको समानुपातिक समावेशी सिद्धान्तमा आधारित संवैधानिक अधिकारको पालना गर्नु पर्नेमा सो विपरित नेपाल सरकारले असमावेशी असंबैधानिक राजदूत नियुक्ति गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

२०६४ भाद्र १३ गते तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल र नेपाल सरकार बीच भएको २२ बुन्दे सम्झौता तथा २०६४ फाल्गुन १६ मा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकारबीच भएको ८ बुँदे सम्झौता अनुसार सरकारले राज्यका सम्पूर्ण संरचनाहरुको सबै अंग र तहका साथै शक्ति साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा अहिले नेपाल सरकारले गरेका १८ देशका राजदूत न्युक्तिमा सम्झौता विपरीत रहेकोले खारेज गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा मधेश कृषि बिश्व विद्यालय राजविराज र मधेश बिश्व विद्यालय बिरगंजलाइ प्रयाप्त बजेट विनियोजन गर्न माग गरिएको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०८१/ ०८२ मा विनियोजन गरिएको १० लाख रुपैयाँ अपुग रहेको तथा खिल्ली उडाउने काम भएको भनिएको छ ।

 

ज्ञापन पत्र बुझाउने टोलीमा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, गरुडाका मेयर प्रत्याशी अनिल कुमार यादव,बिश्वनाथ पटेल, किरण ठाकुर, बिरेन्द्र यादव, राजकुमार दास तत्मा, जयराम महतो, विद्यार्थी नेता ललन यादव, पुनित पटेल, आशिस लामा सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

 

प्रतिकृया दिनुहोस