• मंगलबार-असोज-१-२०८१

‘विवाह र ‘सरोगेसी मदर’का नाममा मानव बेचबिखन बढेको छ’ - सुनिता दनुवार

‘मानव बेचविखन नियन्त्रण विद्यमान कानुनबाट सम्भव छैन’ 


सुनिता दनुवार मानव बेचविखनविरुद्ध क्रियाशील चर्चित अभियन्ता हुन् । कुनै समय देहव्यापारका लागि भारतको कोठीमा बेचिएकी उनी महाराष्ट्रबाट उद्धार भएपछि मानव बेचविखनविरुद्धको अभियानमा शसक्त रुपमा लागिपरेकी छिन् । अभियानमा निरन्तरको क्रियाशीलताले उनलाई विश्वका चर्चित अवार्डहरु पनि दिलाएको छ । सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा ‘हिरो’ अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

 

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीको ३६ औं नम्बरमा समेटिएकी उनी हाल सुनिता फाउन्डेशनमार्फत समाजसेवामा सक्रिय छिन् । शक्ति समूह नामक संस्थाको संस्थापक अध्यक्ष समेत रहेकी दनुहार हाल सुनिता फाउन्डेशनको अध्यक्षको भूमिकामा छिन् । नेपालको मानव बेचविखनको अवस्था, नीतिगत एवम कानुनी जटिलता साथै व्यवहारिक समस्याहरुबारे गरिएको कुराकानी ः

प्लेनबाट झर्दा त अर्कै ग्रहबाट आएको जस्तोगरी हेर्नेहरुको लाइन थियो । हामीले आफूसँग जे छ त्यहीले मुख छोपेर निस्कियौं । हामी एकदम मिल्ने त्यही समूहमा १२ जना थियौं । पछि १२ जना एकै संस्थामा जान्छौं, भन्यौं ।

पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ? सुनिता फाउन्डेसनले के गरिरहेको छ ? 

- अहिले सुनिता फाउन्डेसनले मानव बेचबिखनमा परेर फर्किएका महिलाहरुको अधिकारको लागि ‘आर्थिक पुनर्मिलन’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अलिक फरक तरिकाले काम गरिरहेका छौं । बेचबिखनमा परेकाहरुलाई नगद पैसा दिँदा परिवारबाट सहयोग नपाउने भएका कारण उहाँहरु आफैं व्यवसाय गर्न चाहनुहुन्छ । त्यस्तो कामका लागि पहिचान गर्ने र त्यही अनुसारको तालिम दिएर कुखुरा, बाख्रा, बंगुर पालन, किराना पसल, खाजा घर सञ्चालन जस्ता आयमूलक काममा सहयोग गरिरहेका छौं ।

गोठ बनाइदिने र उहाँहरु आफैंले छनोट गरेका बाख्रा किनेर गोठमा हालिदिने तर नगद पैसा नदिने गरेका छौं । यस्तो कार्यक्रमहरु दिर्घकालिन रुपमा सफल भएको हामीले पाएका छौं । त्यसैगरी, जो बेचबिखनमा परेर फर्किनुभएको छ उहाँहरुको कानूनी सहयोग समेत दिइरहेका छौं । उहाँहरुमा देखापर्ने मानसिक समस्याहरुबाट मुक्ति दिलाउन परामर्श सेवा समेत प्रदान गर्दै आइरहेका छौं । बेचबिखनमा परेर फर्किएका नेपाली दिदीबहिनीहरुलाई सबै प्रकारको सहयोगहरु गरिरहेका छौं ।

बिरामी अवस्थामा उपचार पाउनेदेखि छोराछोरीहरुलाई पढाउने काममा समेत सहायता मिलेको छ । फाउन्डेसनले मानब बेचबिखनमा परेका नेपालीहरुहरुलाई प्रभावकारी रुपमा समाजमा पुनःस्थापना र समस्याहरुको समाधानका लागि प्रभावकारी तरिकाले काम गरिरहेको छ । इच्छा अनुसार फोटोग्राफर, बेकरी उद्योग, चिया र कफि बनाउने तालिमहरु समेत प्रदान गर्दै आइरहेका छौं ।

सेल्डर होम समेत संचालनमा छ । सेल्टरमा  बालिकाहरुलाई राखेका छौं । दुई बर्षमा प्रत्यक्ष आर्थिक सहयोग चाहीं ५० जना दिदीबहिनीहरुलाई गरेका छौं । त्यस्तै मानब बेचबिखनमा संलग्न रहेको शंकास्पद व्यक्तिहरुलाई प्रहरी र स्थानीय सरकारहरुको सहयोगमा नियन्त्रणमा लिनका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका छौं । 
 

 

यी सबै कामका लागि फाउन्डेसनले स्रोत चाहीँ कहाँबाट जुटाइरहेको छ ?  
 

- हामीलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट सहयोग मिलेको छ । पार्टनरका रुपमा इक्प्याट लक्जम्बर्ग छ । जापानबाट सानो शिक्षा सहयोग पाइरहेका छौं । बेलायतबाट पनि सहयोग मिलिरहेको छ । 
 

नेपालमा भएका पछिल्ला अध्ययनहरुले देखाएको तथ्यांकले मानव बेचबिखनको अवस्था जर्जर देखाएको छ । लामो समयदेखि यही क्षेत्रमा काम गरेको हिसाबले मानव बेचविखनको अवस्थालाई कसरी हेर्नुभएको छ ?
 

- तपाईले भनेजस्तै नेपालमा मानव बेचबिखनका स्वरुपहरुमा परिवर्तन भएका छन् । पहिले मानव बेचबिखन भन्ने वितिक्कै केटी, महिला मात्र बेचिन्छन् त्यो पनि दिल्ली, बम्बै (अहिलेको मुम्बै), कलकत्ताका कोठीहरुमा मात्र बेचिन्छन् भन्ने अवधारणा थियो । तर पछिल्लो समय आन्तरिक बेचबिखन बढिरहेको छ ।

मसाज, दोहोरी, क्लब र क्याबिन, रेस्टुरेन्टहरुका नाममा बेचबिखन भइरहेको छ । त्यसैगरी वैदेशिक रोजगारीका नाममा समेत ठूलो संख्यामा महिला, युवाहरु र पुरुषहरु समेत बेचबिखनमा पर्नुभएको छ । पहिले दलालहरु गाउँ गाउँमा गएर दिदीबहिनीहरुलाई ललाईफकाई गरी बेच्ने चलन थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट एउटा बन्द कोठामा बसेर दलालले आफ्नो पञ्जामा पारिरहेका छन् ।
फकाउने, भेट्ने, खाजा खान जाऔं, घुम्न जाऔं भनेर लैजाने र कोठीहरुमा बेचेको हामीले पाएका छौं ।

बेचबिखनको स्रोत र स्वरुपहरु बदलिएका छन् । विवाहको नाममा समेत मानव बेचबिखन भइरहको छ । सरोगेसी मदरको नाममा समेत भइरहेको छ । तर, हाम्रो काम गर्ने शैली पुरानो छ क्या । सीमा नाकाहरुमा बुथ राख्ने अनि नाकामा जाने जो पनि बेचिन मात्र गएको हो जस्तो गरेर पक्राउ गर्ने चलन छ ।

एउटै सिमानाकामा सात आठ वटा संस्थाको बुथहरु राख्ने काम भएको छ तर समूदायमा सचेतनाका कामहरु भएको छैन् । अहिलेको जमानामा बिहान कमाएर साँझ के खाने परिवार पनि छन् । भोको पेटमा त त्यो परिवारले कसैको कुरा सुनेर बस्दैन नि त । यो अवस्थामा आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बेला भएको छ । त्यसमा हाम्रो कमजोरी छ । राज्यका सरकारी निकायहरु त्यसमा ध्यान दिएका छैनन् ।

अहिलेसम्म होलस्टिक रुपमा काम कसैले गरेको पनि छैन । नेपालमा पहिलो पटक हामीले काम गरिरहेका छौं । पर्याप्त गर्न नसकेपनि सन्तुष्ट चाँही छौं । सरकारले मानव बेचबिखन प्रभावितको लागि भनेर बनाएको समितिमा म पनि सदस्य छु । तर हाम्रो चलन के छ भने र्याली गर्ने, प्रभावितलाई सम्मान गर्ने जस्ता कामहरु मात्र भए । यस्तो मात्र गरेर भएन यो त सधैं भइरहेको छ । यसले समुदाय वा प्रभावितहरुलाई के फाइदा भयो भन्ने हेर्नुपर्छ । फरक तरिकाले जाउँ भनेर आवाज उठाइरहेका छौं । सचिवज्यू र मन्त्रीज्यूहरुले प्रतिवद्धता पनि देखाउनुभएको छ ।

पुरानो शैलीबाट काम गर्न सबै जनाले छाड्नुपर्ने बेला आएको छ । मानव बेचबिखन विभिन्न स्वरुपमा बढिरहेको छ । यसका लागि नीजि संस्था र राज्यका निकायहरुले एक आपसमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ । बेचबिखनविरुद्धको कानूनले आन्तरिक बेचबिखनलाई पनि समेट्दैन, वैदेशीक रोजगारीमा गएर बेचिएकाहरुलाई पनि समेट्दैन ।

कानूनले अहिले पनि मानव बेचबिखनलाई यौनसँग जोडेको छ । यौनसँग सम्बन्धित शब्दहरु परिमार्जन गरेर यौंन हिंसाको लागि मात्र नभई विभिन्न बहानामा बेचिएका दाजुभाइलाई न्याय दिलाउनकालागि कानून संशोधनको कुरा उठाइरहेका छौं । मानव बेचबिखनविरुद्ध सम्बन्धि कार्यक्रम बनाउँदा बेचिने भनेको गरीब र अशिक्षित मात्र भनेर बनाउने होइन सम्पन्न र वौद्धिक वर्गहरु समेत जोखिममा छन् । 
 

नेपालमा त एउटै मुद्दा फैसला हुन दशौं वर्ष लाग्छ, फैसला आउञ्जेलसम्म प्रभावितको मृत्यु समेत भइसकेको हुन्छ । अधिकांश दिदीबहिनीहरु झमेला झेल्नुपर्ने कारणले पनि कानूनी प्रक्रियामा जादैनन् । अर्को कुरा सुरक्षाको जोखिम हुन्छ । दलालले धम्की दिने कारणले पनि कति पीडितहरु कानूनी लडाई लड्न नसक्ने अवस्थामा छन् । उल्टै मिडियामा समाचारहरु आएर आफू नांगिने डरले पनि महिलाहरु खुल्न सकिरहेका छैनन् ।

मानव बेचबिखनको शिकारमा गरिव र विपन्न वर्ग मात्र नभई शैक्षिक वर्ग समेत पर्ने गरेका छन् । हाम्रो समाजको चेतनाको स्तर कस्तो पाउनुहुन्छ ? 
 

-अलिकति धनी अथवा बुझेको मान्छेहरुलाईलाई राम्रो अवसरको आश्वासन दिँदै त्यसको फाइदा दलालले लिइरहेका छन् । सचेत र पढेलेखेका युवतीहरुलाई समेत विदेशका विभिन्न स्थानहरुमा छात्रवृत्तिमा पढाइदिने र राम्रो काममा लगाइदिने भन्दै फकाएर लगेर बेचबिखन गर्ने गरेको पाइन्छ । बुझेका छन्, पढेलेखेका छन्, शिक्षित छन् भनेपनि फसिरहेका छन् ।

जस्तै म तपाईलाई एउटा उदाहरण दिन्छु । काठमाडौंमा घर भएको एनजिओमा काम गर्ने मान्छे । तर दलालले के ट्रिक लाएभने म यूएनमा काम गर्छु भनेर केही समय पछ्यायो । त्यसपछि उनीहरुबीच लभ पर्यो अर्थात मायाप्रेममा परे । लभ परिसकेपछि दलालले केटीलाई तिमी नेपालमा र म विदेशमै बस्यौं भने विहे गर्न दिदैनन् । बरु म यूएनबाट राजीनामा दिन्छु । तिमी र म दिल्ली गएर दिल्लीको यूएनमा फाइट गरौं । त्यही घरजम गरौं, भन्यो । पाँच, छ वर्षको लभ थियो केटीले विश्वास गरिन । दिल्ली गए । त्यता गएपछि कोठीमा बेचिदियो । ति बहिनीको उद्धार हामीले नै गरेका हौं । उनी घर परिवार र विभिन्न कारणले खुल्न चाहिनन् । उनको इच्छा विपरित हामी गएनौं । 

स्तर अनुसारको मानव बेचबिखन भइरहेको छ । गरिबहरुलाई आफूसँग गए राम्रो पारिश्रमिक भएको जागिर खोजिदिन्छु, राम्रो पैसा कमाउँछौ भनेर फकाएर लगेका केसहरु पनि छन् । धेरैलाई त बेहोस बनाएरै लगेको केसहरु पनि छन् । दलालहरुले वर्ग अनुसार फकाइरहेको पाइन्छ । मैंले यस क्षेत्रमा काम गरेको २८ बर्ष भयो, कुनै बेला म आफैं पनि मानव बेचबिखन प्रभावित महिला हो । समस्यामै परेर आएको हुँ । अहिलेको अवस्था तुलना गर्ने हो भने धेरै परिवर्तन पनि आएको छ ।

बेचबिखनमा परेर आएको भन्ने सुन्ने वित्तिकै छिमेकीहरुले त्यो केटी कस्ती रहिछ हेर्नपाए हुन्थ्यो भन्ने खालको सोच थियो । अस्पतालमा जाँदा डाक्टरहरु बेचिएर आएको थाहा पाएपछि छुन घिनाउँथे । तर अहिले त्यस्तो छैन । परिवारले पनि सहजै तरिकाले स्वीकार गरिरहेको छ । तर, केहीले छोरीलाई तपाई सेल्टरमा राखिदिनुस्, जागिरको व्यवस्था गरिदिनुस् भन्ने खालका प्रस्तावहरु पनि आउने गर्छन । 

कतिपय परिवारले बल्लतल्ल मेरो छोरी फर्किएर आयो लिएर जान्छु भन्ने पनि आउँछन् । अहिलेको समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । पहिले बेचिने महिलाको चरित्रमाथि प्रश्न उठाइन्थ्यो । चञ्चले थिई, उत्ताउली थिई, आफ्नै कारणले बेचिन पुगि भन्ने थियो नि त । अहिले चाँही बेचिनुमा उसको दोष होइन भन्ने सोच समाजमा आएको देखिन्छ । 
 

तर, मानव बेचबिखनमा परेर उद्धार गरी ल्याइएका खबरहरु आउछन् तर दोषिमाथि कारबाही भएको खबर सुनिदैन नि । के दलालहरुलाई राजनीति दल वा पहुँचवालाको संरक्षण हुन्छ ? 
 

- तपाईँले भनेको एकदमै सहि हो । कुनैपनि मानव बेचबिखनका घटनाहरु हुने वितिक्कै राजनीतिक दबाब आउन सुरु हुन्छ । एउटा भर्खर नुवाकोटको घटना छ । दोषीलाई कारबाही गर्नका लागि त्यहाँको स्थानीय सरकारले सहयोग गरेको देखिन्छ । तर, कुनै राजनीतिक दलले संरक्षण गर्न खोजिरहेको छ । एउटा पार्टी त उसलाई निकाल्नुपर्छ भन्ने तिर गैसकेको छ । जो बेचबिखनमा परेर फर्किएर आएको छ उसलाई समाजबाट बहिस्कार र बेच्न दलाललाई सामाजिक र राजनीतिक संरक्षण छ । सामान्य मान्छेले मान्छेलाई नै बेच्ने जस्तो जघन्य अपराध गर्न सक्दैन क्या । जसको पछाडि ठुलो संरक्षण गर्ने शक्ति छ उसले अपराधिक गतिविधि गर्दोरहेछ । सोझोले कहिले पनि आँट गर्न सक्दैन । त्यसकारण राजनीति संरक्षणका कारणले प्रभावितले न्याय नपाउने अवस्था र दलाल छाती खोलेर हिँडिरहेको अवस्था छ । अहिले पनि यही कारण मानव बेचबिखन प्रभावितले न्याय नपाउने र समाजबाट बहिस्कार हुनुपर्ने स्थिति छ । 
 

आन्तरिक र वैदेशीक रोजगारीका नाममा बेचिने युवा युवतीहरु त छदैछन् । पछिल्लो समय बालक वा बालिका आफ्नै घर, समाज र परिवार वरपर सुरक्षित छैनन् भनिन्छ । तपाईलाई के लाग्छ ?
 

- यसमा सत्यता छ । पहिलेभन्दा अहिले लैगिंक र यौनिक हिंसाहरु समेत बढेका छन् । बलात्कार गरेर मारिदिने, वेपत्ता पारिदिने घट्नाहरु तथ्यांकले नै बढेको पाइन्छ । मुलुकमा लोकतन्त्र त आयो तर छाडातन्त्र उत्तिकै बढेको छ । पहिले मान्छेमा डर हुन्थ्यो, अहिले मान्छेमा डर छैन ।

सिंहदरबार घरघरमा भनिन्छ तर कुन घरले चाँही सुरक्षित महसुस गरेको छ ? कुन घरको बालिकाले आफू सुरक्षित छु भनेर महसुस गरेको छ ? जो अलि शक्तिको पहुँचमा छ उ सिंहदरबार पनि आएको छ, अपराध गर्ने आँट पनि गरेकै छ । निर्धक्क भएर अपराधहरु गरिरहेको छ । तर जसले महसुस गर्नुपर्ने हो उनीहरुलाई अहिले पनि थाहा छैन के हो सिंहदरबार भनेर । त्यसैले अब पीडितले न्याय पाउनेगरि कानूनहरु बन्नुपर्ने देखिन्छ ।

नुवाकोटकै कति धेरै वडाहरु छन् जहाँ संघर्ष गर्नुपर्ने उमेरका कोही पनि भेटिदैनन् । गाउँमा बच्चा र वृद्धवृद्धाहरु मात्र छन् । कसैको मृत्यु भयोभने त्यहाँ लास उठाउने मान्छेहरु छैनन् । त्यो नेपालको आर्थिक विपन्नताको कारणले हो नि । आर्थिक रुपमा विपन्नताका कारण वैदेशीक रोजगारीमा जान बाध्य छन् । अनि ठगिन्छन् , बेचिन्छन् । नेपालमा रोजगारीको अवसर सिर्जना गरिदिने हो भने आधाजति ठगी र बेचबिखनका अपराधहरु हटेर जान्छन् । 
 

मानव बेचबिखन रोक्नका लागि अब के गर्नुपर्ला ? प्रहरी प्रशासनको भूमिकालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?  


-सरकारले अहिले चाहीं केही गरिरहेको छ भन्न सकिन्छ । यही मात्र केस हेर्ने भनेर मानव बेचबिखन ब्यूरो नै स्थापना गरेको छ । जिल्ला जिल्लामा पनि कामहरु भइरहेको देखिन्छ । अब जिल्ला प्रहरी कार्यालयहरुमा महिला सेल राख्ने र त्यसले महिलाको मुद्दा मात्र हेर्ने भनेर काम गरिरहेको छ । कतिपय ठाउँहरुमा महिला सेलहरु छन् । तर दुःखको कुरा महिला हाकिम भएर जानुपर्नेमा पुरुष हाकिम हुनुहुन्छ । अब त्यो ठाउँमा कुनैपनि पीडित महिला गएर उसले आफ्नो व्यथा सुनाउन सक्छ त ? जति महिलालाई उनीहरुले खुल्ला रुपमा भन्छन्, त्यति पुरुषहरुलाई त भन्न सक्दैनन् नि ।

यसमा पीडितहरुको सहज पहुँच पुर्याउनका लागि काम गर्यो भने मात्र यस्ता अपराधका घट्नाहरु न्यूनीकरण गर्न सम्भव छ । तर अहिले पनि नगरेको त होइन । तर न्याय छिटो र छरितो हुनुपर्यो । मानव बेचबिखन प्रभावित भएको प्रमाणित हुनुवित्तिकै उनीहरुले क्षतिपुर्ति पाउनुपर्यो क्या ।

नेपालमा त एउटै मुद्दा फैसला हुन दशौं वर्ष लाग्छ, फैसला आउञ्जेलसम्म प्रभावितको मृत्यु समेत भइसकेको हुन्छ । अधिकांश दिदीबहिनीहरु झमेला झेल्नुपर्ने कारणले पनि कानूनी प्रक्रियामा जादैनन् । अर्को कुरा सुरक्षाको जोखिम हुन्छ । दलालले धम्की दिने कारणले पनि कति पीडितहरु कानूनी लडाई लड्न नसक्ने अवस्थामा छन् । उल्टै मिडियामा समाचारहरु आएर आफू नांगिने डरले पनि महिलाहरु खुल्न सकिरहेका छैनन् ।

खुलेर गयो भने समाजबाट बहिष्कार हुने भोलिको दिनमा बिहे नहुने लगायतका समस्याहरु रहन्छन् । तीनै तहको सरकारले क्षतिपुर्तिको व्यवस्था गर्यो भने धेरै जनाहरु खुलेर कानूनी लडाईमा जान आतुर छन् जस्तो लाग्छ । 
 

तपाईँ शक्ति समूहमा पनि आवद्ध हुनुहुन्छ । यसको स्थापनाको परिकल्पना कसरी भएको हो ?
 

- शक्ति समूहको फाउन्डर म आफैं हो । अहिले म त्यसमा सक्रिय नभएपनि सहकार्य र समन्वय भइरहेको छ । सन् १९९६ मा हामी भारतको मुम्बै शहरको एक वेश्यालयमा बेचिएका थियौं । १८ वर्षमुनिका पाँचसय जना बालिका र युवतीहरुलाई भारत सरकारले बाहिर निकालेको थियो । त्यसमा तीनसय भन्दा बढी नेपाली थियौं । त्यहाँ रहेको भारतीय, बंगाली र नेपालीको उद्धार गरिएको थियो ।

भारतले आफ्नो देशका बालिकाहरुलाई परिवारसँग पुर्नमिलन गरायो । बंलादेशले स्वदेश फिर्ती गरायो । तर, नेपाल सरकारले स्वदेश फर्काउन मानेन । नेपालले उनीहरु नेपाली हो भन्ने के प्रमाण छ ? नेपाली बोल्दैमा कोही नेपाली हुन्छन् ? भनेर ल्याउन मानेन ।

उनीहरुलाई नेपाल ल्यायो भने नेपालमा एचआईभी एड्सको पोको भित्रिन्छ भन्ने डर थियो तत्कालिन सरकारलाई । पछि सेल्टर चलाउने सातवटा संस्थाहरुले हाम्रो छोरीचेली हो भनेर सरकारले चाहेन भने हामी ल्याउँछौं भन्दै नेपाल फर्काएको हो । त्यहाँ हामीलाई बेच्ने पनि नेपाली किन्ने पनि नेपाली नै थिए । यो कथा मैंले ‘आँशुको शक्ति’ नामक किताबमा लेखेको छु । त्यसबेला समाचारमा ‘बम्बैका वेश्याहरु’ भोलि नेपाल आउँदै’ । यति नम्बरको प्लेनमा यो समयमा आउँदैछन् भनेर नकारात्मक समाचारहरु मिडियामा पनि आएका थिए ।

प्लेनबाट झर्दा त अर्कै ग्रहबाट आएको जस्तोगरी हेर्नेहरुको लाइन थियो । हामीले आफूसँग जे छ त्यहीले मुख छोपेर निस्कियौं । हामी एकदम मिल्ने त्यही समूहमा १२ जना थियौं । पछि १२ जना एकै संस्थामा जान्छौं, भन्यौं । ओरेक नेपालकी डाक्टर रेणुले १२ जनालाई आफ्नो संस्थामा लिएर जानुभयो ।

ओरेक सेल्टरमा बसेपछि हामीलाई एचआईभी टेस्टका लागि लगियो । धेरै जनामा एचआईभी पोजेटिभ देखियो । त्यतिबेला जिन्दगी अन्धकार जस्तो भयो । पछि डाक्टर रेणुले नै आधारभूत स्वास्थ्य तालिम दिनुभयो, तालिम लिएपछि हाम्रो गल्ती त होइन रहेछ भन्ने भयो । तालिम लिएका १५ जनाहरु मिलेर आफूमाथि अन्याय गर्ने अपराधीलाई कानूनी कठघरामा ल्याउनैपर्छ भनेर र आफूहरुको आँशूलाई शक्तिमा बदल्ने भनेर शक्ति समूह स्थापना गरेका हौं । 
 

अहिले मानव बेचबिखनमा परेकाहरुले समाजमा पुर्नस्थापित हुन कत्तिको गार्हो छ ? 
 

- अहिले पनि गार्हो नै छ । राजधानी काठमाडौंमै पनि म बेचबिखन पीडित हो भनेर गयो भने कोठा भाडामा पाइदैन । कही काम गरेको छ भने त्यहाँको अनरले यसलाई एब्युज गर्न थाल्छ । अहिले पनि मानिसहरुको सोच त्यही नै छ । परिवार समाज बुझेर बस्ने हो भने सहज छ नत्र गाह्रो नै छ । अहिलेपनि मानव बेचबिखनमा परेर आएकी हुँ भनेर खुलेर भन्न सक्ने अवस्था छैन् ।

 

तपाईँ आफू पीडित हुँदाको समाजको चेतनको स्तर र अहिलेको चेतनाको स्तर कति फरक छ ?
 

- पहिलेको तुलनामा अहिले फरक छ । बेचिएको केटी हेर्न पाएहुन्थ्यो भन्ने सोच पहिलेको समाजमा हुन्थ्यो भने अहिले त्यस्तो छैन । त्यतिबेला कोहि बेचिएको महिला आयो भने आफ्नै कारणले बेचिएको हो भन्ने थियो । अहिले त्यो छैन । जानेर बेचिएको होइन भनेर अहिलेको समाजले बुझ्न थालेको छ । त्यही अनुसार कानूनहरु परिमार्जन भएका छन् ।

होला कानून कार्यान्वयनको अवस्था अहिले पनि फितलो छ । तर कानून छ नि । धेरै कुराहरु परिवर्तन भएका छन्  तर, अझै पनि धेरै कामहरु गर्न बाँकी नै छन् । मैले देखेको सपनाको समाजमा छोरीहरु राति एक्लै हिड्न नडराओस्, आफ्नो देशमा छुँ भन्ने अनुभव गर्न पाइयोस् ।  

 

सुनिता फाउन्डेसनका भावि योजनाहरु के के छन् ? 

- अब हामी बेचबिखनमा पर्नु भएकाहरुको आर्थिक पुर्नमिलन नै निरन्तर गर्छौं । त्यसको साथै सचेतनामुलक कार्यक्रमहरु पनि सँगसँगै लग्ने योजनामा छौं । मानव बेचबिखनविरुद्ध पीडितहरुको समितिको सञ्जाल बनाउँछौं । कतिपय ठाउँहरुमा समितिहरु नै बनेका छैनन् । भएका समितिहरुलाई अझै सशक्त बनाएर लाने र नभएका ठाउँहरुमा समिति बनाएर मानव बेचबिखनको सिकार भएका दाजुभाई दिदीबहिनीहरुको आँसुलाई शक्तिमा रुपान्तरण गर्ने हाम्रो लक्ष्य र सपना छ । 
 

 

प्रतिकृया दिनुहोस