• शनिबार-भदौ-२२-२०८१

माओवादी पूर्वनेता थापाको तरक्की, ‘एकान्त एग्रो रिसाेर्ट’ खोलेर मालामाल

काठमाण्डौ २० भदौ, २०८१ । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ वर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेको बताए । उनले भने ‘विगतमा पनि कुनै कालखण्डमा म रिसाेर्ट सञ्चालनमा होमिएको थिएँ, केही अनुभव पनि थिए, अहिले एग्रो टुरिजम थालेको छु’ ।


उनले आफूले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको बताए । उनले भने ‘तर मैले राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि ब्यक्तिगत रुपमा कुनै खालको अवसर पाइँन । सधैँ अरुको भर्याङ हुनु भन्दा कुनै व्यवसाय गरेर आफू सहित अरुलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौं र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकुँ भन्नका लागि ऋणपान गरेर ब्यवसाय थालेको हुँ ।


  थापाले भक्तपुरको खरीपाटीस्थित मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्बृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर एकान्त एग्रो रिसाेर्ट थालेका हुन् ।


उनको एकान्त एग्रो रिसाेर्ट रिसाेर्ट  मात्र नभएर अर्ग्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दुध दिने गाइ रहेका छन् । जसले करिब २०० लिटर दैनिक दुध दिइरहेका छन् ।

 

बस्न, खान आउने पाहुनाहरुको माग पूरा गर्न दर्जनौ हाँस, सयौं लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्की र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुई वटा पोखरी छन् । जहाँ फिसिङ्ग गरेर मनाेरञ्जन गर्न पाइने व्यवस्था छ ।


   करिब २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिसाेर्टमा हालसम्म रू. २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिट्टै उद्घाटन गर्ने लक्ष्य बनाएका माधब थापाले रिसाेर्ट निर्माणको काम करिब सकिएको पनि बताए ।

 

रिसाेर्ट सञ्चालनमा आइसकेपनि केही संरचना तयारी गरि छिट्टै उद्घाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिसाेर्ट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको दावी  छ ।


पारिवारिक वातावरणमा होम स्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुहुन चाहे दोएर दुध पिउन सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफ्नै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अर्ग्यानिक उत्पादनहरुको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खसी जस्ता सबै खालका लोकल चीजहरुको उपलब्धता रिसाेर्टमा रहेको उनले बताए ।


 त्यसैगरी जुम्लाको मार्सी चामल, सिमी, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अग्र्यानिक खानेकुरा आफ्नो रिसाेर्टमा पाइने उनले बताए । उद्घाटन नभएपनि रिसाेर्टबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको ब्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफ्नो रिसाेर्टमा ८–१० जनाले रोजगारी पनि पाएको थापाले बताए ।


साथै उनको सो रिसाेर्टमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होम स्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा छुट्टै माटाका घर र पढ्ने लेख्नेहरुका लागि लाइबेरी समेत बनाइने उनले सुनाए ।


अहिलेको राजनीति घृणित पथबाट  अघि बढेको, नेताहरु भ्रष्टाचारमा लिप्त भएको र आफूहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको दुखद कुरा उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जीवन कृषि पर्यटनको क्षेत्रमा समर्पित गरेर रमाउने पनि कमाउने दावी थापाले गरे ।

प्रतिकृया दिनुहोस