• बुधबार-कार्तिक-७-२०८१

सेनाको नयाँ नेतृत्वका लागि विकृति विसंगति नै चुनौती  

 

नेपाली सेनामा करिब ३० बर्ष सेवा गरेर निस्केपछि संस्थागत हितको लागि आगामी नेतृत्वलाई सुझाव दिएको छु प्रकाशित गरिदिनु होला ।   यस अघि नेपाली सेनामा सनकको भरमा  चिफ हुनुपर्ने जर्नेलहरु घर पठाईएका छन् । २०६३ पछि चिफसा’बहरुले नचाहिने राजनीति गरेर प्रदीप प्रताप बम मल्ल, दिलीप शमशेर राणा, बिनोज बस्न्यातहरूलाई बिगारिदिंदा सेनामा यस्तो विवाद अवस्था जन्मिएको हो । गल्ती थियो भने जेल पठाउने नत्र चिफ बनाउन पर्ने थियो ।  स्थापित प्रचलन के हो भने ३ तारेमा अवधि थप्दा चिफ हुन्छ भने थप्ने नत्र नथप्ने तर यहाँ त मेरो मानिस र अर्को मानिस भनेर आफूखुसी गरियो । 


 स्वविवेकीय अधिकार हातमा छ भनेर जथाभावी गरियो । यदि नेपाली सेनामा नेपाल प्रहरीको जस्तै नेताले जसलाई मन लाग्यो त्यसलाई चिफ बनाउने खेल भयो भने त्यसको जिम्मेवारीमाथि लेखिएका जर्नेलहरु बिगार्नेहरुले लिनुपर्छ । 


 सबैभन्दा ठुलो भागीदारी पूर्ण चन्द्र थापाले लिनु पर्छ । सबैभन्दा धेरै सकलदर्जालाई कारवाही गरिएको उनकै पालामा हो र सबैभन्दा भद्रगोल नियम बनाईएको पनि उनकै पालामा हो । चिफ थापा आफ्ना सैनिक सहायकहरुसंग यति भर परे कि एउटा कर्नेलले आफू घर जाने भएर नियमावली नै फेरिदिए बेग्लै कुरो के भने अर्कैले जर्नेल खाईदियो । उनले नेपाली सेनामा नियम कानून बिना हुकुमी शासन चलेको भाष्य बनाएर यति धेरै नियम बनाए कि अहिले यति मिनेटमा भात खाईसक्नु पर्ने नियम पनि छ ।


राजेन्द्र क्षेत्री द्रव्य मोही भएपनि कसैलाई बिगारेनन् तर गौरव शमशेर र छत्रमानले कहीँ नभएको फाष्टट्रयाक ल्याएर संस्था नै खतम् बनाए । कार्यविधि तयार गर्ने कार्यमा खटिएकाहरुले आफ्नै दुनो सोझ्याउने नियम बनाए । माओवादीसंग ज्यान हत्केलामा राखेर लडेर पाएको तक्माको मूल्य भएन तर नेताको नजिक भएकै भरमा पाएको तक्माको नम्बर आउने भयो । एउटा बेसिकले आफूभन्दा ६ वर्ष जेठोलाई जितेर जाने भयो ।


  २०५९ बैसाख पछि २०६३ जेठसम्म नेपाली सेनामा भर्ना भएकाहरु सबै भन्दा दुखित छन् । सेनालाई चाहियो भर्ना लियो तर अहिले न बेलामा शान्ति सेना छ न सुविधा छ । एउटै ड्राइभर २० वर्ष जागिर हुँदा ३ चोटी शान्ति सेना जान्छ, अन्त हेर्न पर्दैन जंगी अड्डा निवेशमा रहेका सिपाही १७ वर्षमा पहिलो चोटी जान्छ  । कमसे कम ड्राईविंग गराएर पठायो भने ऊ छिटो त जान्छ । मिसनमा गाडी अनुसार ड्राइभर नपुगेर बिजोग छ, १५० भन्दा बढी गाडी भएको ठाउँमा ४० जना मात्र जान्छ भनेको बेलामा सबै गाडी निकाल्न सकिंदैन । लेवनानमा हालै गणपतिले नै तालिम नै चलाएछन् । सिग्नल, सै.प्र. मेडिकल सकेसम्म धेरैलाई गरायो भने सेनालाई पनि व्यक्तिको पनि फाईदा हुन्छ । गाडी, जेनेरेटर बनाउने मेकानिक छैन ५ पटकसम्म जान्छ सिपाहीले काम सिक्यो भने गण गुल्ममा काममा लिन सकिदैन र वि. या. से. नि. को टोलीले गर्भमा नै सिकेर आएको हो र ?


 त्यो बेलामा भर्ना हुने अधिकृतको त झन बिजोग छ, स्टाफ कलेज पास भएकाहरु मेजर र प्र से छउन्जेल कि अब्जरभर कि तालिम कि गुल्मपति÷गणपति गरेरै महासेनानी हुने लाईनमा पुग्छन् । तिनीहरुले मेजरमा गण पनि देख्दैनन्, बाहिनी पनि देख्दैनन्, पृतनामा चाहिं जर्नेलहरुले लिएर गएपछि देख्छन् । अझ राम्रो गरेकाहरु त नेपालमा भ्रमण गर्न मात्र आउँछन् ।  त्यसपछि प्रमुख सेनानी भयो महासेनानी हुन गाह्रो महासेनानी भयो सहायक रथी हुन गाह्रो हुन्छ र त्यही भएर चाकडी जी– हजुरी र नमिल्ने कुरा संविधान विपरीत भएको पनि हुन्छ भनेर मिलाउन सक्ने मात्र अघि बढ्छन्  ।  स्टाफ कलेज पास नभएकाहरु अछुत वर्ग जसरी छुट्ट्याईन्छन् । 


  नेपाल सरकारले दुईजना उपसचिवमा फरक गर्दैन तर सेनामा आकाश जमिन फरक हुन्छ ।  त्यही फरक पार्न स्टाफ कलेज भनेर राखिन्छ अनि प्रतिशत लगाएर भाग दिईन्छ । मेजरबाट कर्नेल हुन ठिकै हो त्यहाँबाट माथि जान फेरि प्रतिशत लगाएर भाग दिईन्छ ।  यो क्रम उपरथी हुने बेलासम्म चल्छ । स्टाफ कलेज फेल हुनेहरु  कि एउटा अब्जरभर आउंछ कि शान्ति सेना आउंछ भनेर कुरेर बसेका छन् । बाहिर राम्रो मौका आयो कि पेन्सन नपाकेकाहरु पनि जागिर छाड्छन् ।  अहिले गणदेखि बाहिनी पृतना अनि जंगी अड्डाको जुन अफिस छिरे पनि देखिने मेजरहरु यिनै हुन् । स्टाफ कलेज गरेकाहरुबाट सिन्को पनि भाँचिएको छैन भने किन भएभरको सुविधा ?


  एकातिर साधारण सेवामा यस्तो छ उता प्राविधिक सेवामा १२ वर्षमा कर्नेल हुने नियम छ । भर्ना हुँदा भन्दा बाहेकको तालिम पनि छैन शिक्षा पनि छैन । सबैभन्दा हरिबिजोग हस्पिटलमा र ई एम ई मा छ मेजर नहुन्जेल विज्ञ नहुने मेजर भए पछि केही काम गर्न नहुने । सकेसम्म बाहिर गएर काम गर्न‘पर्ने । सेनाले पढाएपछि यिनलाई २४ घण्टा ब्यारेकमा राखेर काम किन नलिएको ? कि फुली झिकेर करारमा भर्ना गरौं, राम्रो तलव दिऊँ तोकिएको समय काममा लिउँ ।


  नेतृत्वले समयमा पहल कदमी लिएन भने पहिला पहिला जस्तो अधिकृत÷पदिकको दरवन्दी कम हुँदा हुद्दाले प्लाटुन कमाण्डर चलाउने दिन फेरि फर्किने निश्चित छ । नयाँ भर्ना हुन कोही आउँदैनन् भएकालाई जोगाएर राख्ने रणनीति छैन । सेनाकै सिपाहीले छोरो अधिकृत बनाउंछु भन्दैन अरु कसले भन्छ ? स्टाफ कलेजमा के त्यस्तो पढाई हुन्छ जसले उसको नेतृत्वका गुणहरु÷कार्यशैली वा जर्नेल हुनसक्ने क्षमताको विकास गराउँछ ? उदाहरण धेरै पर छैन स्टाफ कलेज पास भएकाहरु मध्येकै एकजनालाई पेन्सन पाक्न पनि नदिई घर पठाउन परेको घटना काफी छैन र  स्टाफ कलेज पास गरेकाहरु एउटा गतिलो सर्भिस पेपर लेख्ने शैली नभएर कर्मचारीको भरमा जागिर खाईरहेछन् । सेनामा चाहिने भन्दा नचाहिने नियम बनाएर संस्थालाई धरासायी बनाईएको छ ।


निजामती, पुलिसमा १५–२० बर्ष जागिर भएकाहरु कुनै तालिम नै नगरी द्वितीय÷प्रथम÷विशिष्ट श्रेणी भईरहेकै छन् त । कुनै तहमा विशिष्ट योग्यता÷दक्षता पूरा गरेका समूहलाई नियम कानून बनाएर खुड्किला नघाउने गरिन्छ तर पटक पटक गरिंदैन । निजामती सेवामा समावेशी बढुवा सेवा अवधिमा एक पटक मात्र लिन पाईन्छ । नेपाली सेनामा एउटै मान्छेको लागि तीन पटक सैनिक सेवा नियमावली संशोधन भयो, यस्तो पनि कानूनी संस्था हुन्छ ? 


  नयाँ चीफ(अशोक राज सिग्देल क्षेत्री) सा’ब ७५ प्रतिशत अधिकृतलाई बाहेक गरेर तपाईंको कार्यकाल पूरा हुन्छ भने सुतेर नै जानुस्, तर एक भूपू अधिकृतको नाताले यति भन्ने अधिकार राख्छु कि सैनिक सेवा नियमावली संशोधन गराएर बरु स्टाफ कलेज सहितका तालिमलाई अंक राखिदिनोस् काम न काजको नेकेबदीको नम्बर हटाईदिनोस् सेवा अवधिलाई गणना गराई दिनोस् ।   

 

    एकपटक प्र से हुँदा गणना भएपछि स्टाफ कलेजको अंक हटाईदिनोस् ।  नयाँ तालिम राखेर त्यसको आधारमा प्रमोशन गराईदिनोस्, घर जान पर्दा पनि सबैको चित्त पनि बुझ्छ । ६०० जनामा कम्पिटीशन गराएर ५० जना पास गराउने बाँकीलाई घर पठाउने नियम ठिक छैन । संस्थागत आवश्यकतालाई हेरेर नियम बनाउनु होला जागिर खाईरहेकाहरुलाई शीर ठाडो पारेर खाने मौका दिनुहोला अहिले जसरी स्टाफ कलेजलाई काखी च्यापेर सात बर्ष पछि जागिर खानेलाई अगाडि पठाउने काम नगर्न‘होला ।


सेनाको नयाँ नेतृत्व(अशोक एक पटक संस्थागत ओ एण्ड एम गरेर अनावश्यक रूपमा खडा गरेका अड्डाहरु खारेज गराईदिनुहोस् । कमसे कम बिल्लादार भन्दा अधिकृत पदिक धेरै भएको संरचना नराखिदिनुहोस् । आफ्नो तीन वर्ष सक्ने होइन ३० वर्ष खारेज नहुने प्रथा राख्नुहोस् । शुभकामना ।   – भूपू अधिकृत, नेपाली सेना (साँघु साप्ताहिक, २०८१ साउन २१)

प्रतिकृया दिनुहोस