• आइतबार-भदौ-२३-२०८१

भारतसँग पराजित भएपछि नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौँ, ८ साउन : एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

 

यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

 

आजको खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

 

नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् । त्यस्तै विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

 

भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन भने अरुणदति रेडि र राधा यादवले समान दुई दुई विकेट लिए । यस्तै रेनुका सिंहले एक विकेट लिइन् ।

 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् ।

 

उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् । त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् ।

 

जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् । नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।
---

प्रतिकृया दिनुहोस