• आइतबार-भदौ-२३-२०८१

अमेरिकामा आयोजित टी-२० विश्वकपमा आईसीसीलाई ठूलो घाटा, छानबिन समिति बनायो

 

काठमाडौँ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ ।

 

आईसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजिल्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन् । न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्न आईसीसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ । आईसीसीले दिएको जानकारी अनुसार यो समितिले यस वर्षको अन्त्यमा बोर्डलाई रिपोर्ट बुझाउनेछन् ।

 

अमेरिकामा भएका खेलहरुमा करिब १५ करोड अमेरिकी डलर बजेट छुट्याएको र बजेटमा उल्लेख्य वृद्धि भएको पाइएको छ, जसमा विश्वका केही प्रभावशाली बोर्ड सदस्यहरूले आपत्ति जनाएका छन् । ड्रप-इन पिचहरूको खराब स्तर, टिकट प्रणाली र लजिस्टिक समस्याहरूले आईसीसीको समस्याहरू थपेको थियो । त्यस्तै विश्वकप आयोजनका क्रममा भएका विभिन्न टेन्डरको अवार्डमा पनि आशंका गरिएको छ ।

 

समितिले आईसीसीका केही शीर्ष अधिकारीको भूमिकाबारे पनि गहिरो अनुसन्धान गर्ने विश्वास गरिएको छ । आईसीसीका प्रतिस्पर्धा प्रमुख क्रिस टेटलीले यसअघि नै राजीनामा दिएका छन् । तर, हरेक वर्ष आयोजना हुने ठूला आईसीसी प्रतियोगिता (पुरुष र महिला) प्रभावित हुने आधिकारिक कारण दिइएको थियो ।
 

 

 

प्रतिकृया दिनुहोस