• आइतबार-असार-९-२०८१

अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित


चितवन, २७ जेठ : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गर्नुभएको हो । 

 

महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछुतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताउनुभयो । 

 

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।

 
अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछुत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।” 

 

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यसअवसरमा जानकारी दिइयो । तीमध्ये एकजना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस