• शनिबार-श्रावण-१२-२०८१

सेयर बजार २८.६२ अंकले बढ्यो, सहकारी र जलविद्युतका लगानीकर्ता फाइदामा

काठमाडौं । सेयर बजारमा मंगलबार सहकारी र जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।


मंगलबार ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ । हिजो परिसूचक २४.३९ अंकले बढ्दै नेप्से १९९८.८९ विन्दुमा पुग्दा ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको थियो ।


यसअघि गत आइतबार ८.२६ अंकले बढ्दै सेयर बजार १९७४.५० विन्दुमा पुग्दा  ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो ।


आज १३ उपसमूहमा सबै बढेका छन् । सर्वाधिक लघुवित्त ३.४४ र जलविद्युत उपसमूह ३.२२ प्रतिशतले बढेका छन् ।  


२१९ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । सेयरमूल्य बढेकाको सूचीमा लहरै ६ वटा लघुवित्त परेका छन् । समाज, उपकार र युनिक नेपाल लघुवित्तको सेयर बढेर सर्किट लागेको छ । जनउत्थान, मानुषी लघुवित्त पनि सर्किटस्तरमा बढेको छ ।


२२ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ता ४.६४ प्रतिशत नोक्सानमा रहे । ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।


सर्वाधिक कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर कम्पनी छ । उक्त कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शाइन रेसुंगा विकास बैंकको ११ करोड ६१ लाख, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाखको सेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस