• सोमबार-जेठ-७-२०८१

दुर्गा प्रसाईं निकट युवाद्वारा दुईवटा बैंकमा तोडफोड

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् ।

 


ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

 


घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन ।

 


प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।  नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।


गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता बिरोधमा उत्रिएका हुन् । लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।


प्रदर्शनकारीले ज्योति बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस