• सोमबार-जेठ-७-२०८१

गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षणपछि विशेष निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । बुधबार उनले आगमन र प्रस्थान दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् ।


प्रस्थान कक्षबाटै यात्रुकै रुपमा विमानस्थल छिरेका अर्यालले वायुसेवा कम्पनीहरुका  काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । २०८१ वैशाख २६ गते बुधबार बिहान ९ बजे विमानस्थल पुग्दा उनी आउने सुुइँको कर्मचारीले पाएका थिएनन् ।


उनले विमानस्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ड्युटी अधिकृतहरुसँग कुराकानी गरे । भौतिक पूर्वाधारदेखि लिएर जनशक्ति तथा समन्वयबारे समेत चासो राखेका उनले जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा ‘अन दी स्पट’ नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए ।


यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरु बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृहसचिव अर्यालले देखिएका स–साना समस्याहरु समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।


नेपाल प्रहरी प्रमुख आइजीपी वसन्तबहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका छन् ।


विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले न्यून स्रोतसाधन तथा जनशक्तिका बीच  सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गरिहेको जानकारी गराए । हाल २८ वटा मेसिन सञ्चालनमा छन् । जसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेका छन् ।
०००

 

प्रतिकृया दिनुहोस