• आइतबार-जेठ-६-२०८१

अब फुट्ने पालाे माधव नेपालकाे दल, एमालेमा 'रेड कार्पेट वेलकम'काे तयारी

६ सांसदले पार्टी विभाजन गरेर नयाँ संसदीय दल बनाउने

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (एस) भित्रको रडाको उत्कर्षतिर लागेको खबर छ । एसका ६ जना सांसदले विकल्पको खोजी गर्न थालेपछि माधव नेपालले तनावमा परेका छन् ।

 

रोचक कुरा के छ भने माधव नेपालसँग टसल गरिरहेका झलनाथ खनाल भने यो विकल्पको बाटोमा देखिएका छैनन् । र, ती ६ जना सांसदले पनि खनालको साथ खोजेका छैनन् । व्यक्तिगत हिसाबले फाइदाको राजनीति हेर्दै ती सांसदले आफूहरुमात्रै सेट हुने गरी खनालसहितका असन्तुष्ट सिनियर नेतासँग छलफल गर्न नचाहेको एस स्रोतको दावी छ ।


  स्रोतका अनुसार, सांसदहरुले दुईवटा विकल्पमा छलफल अगाडि बढाएका छन् । पहिलो विकल्पको रुपमा पार्टी विभाजन गरेर नयाँ संसदीय दल बनाउने गरी अगाडि बढ्न खोजेका छन् । त्यसका लागि भने उपेन्द्र यादवको पार्टीको कानूनी उपचारको कुराले भर पर्ने भएकोले केही दिन कुर्ने अवस्था आएको छ ।

 

स्रोतका अनुसार, अध्यक्ष माधव नेपाल पनि यो विषयमा जानकार रहेको पनि एसका नेताहरुले बताउने गरेका छन् । दोस्रो विकल्पको रुपमा भने ६ जना सांसद सामूहिक रुपमा एमालेमा प्रवेश गर्ने ।


  एस राष्ट्रिय दलको रुपमा मान्यता नपाएका कारण सांसदहरुलाई कारबाही गरेर पद नै खारेज गरिदिने अवस्थामा एस संस्थागत रुपमा कमजोर रहेका कारण सांसदहरुका लागि एमाले प्रवेश सहज हुने चर्चा पनि भइरहेको छ  । एमाले पनि एसका विद्राेही सांसदहरूलाई रेड कार्पेट वेलकम गर्न तयार भएर बसेकाे छ ।


    निर्वाचन आयोगले एसको कारबाहीलाई मान्यता नदिने वित्तिकै सांसद पद पनि सुरक्षित हुने र अवसर पनि पाइने भन्दै राजनीतक भविष्यकाे सुरक्षाका लागि एसका सांसदहरु अहिले दुवै विकल्पको खोजीमा रहेकाे स्राेत बताउछ । एमालेले सुदूरपश्चिमबाट भानुभक्त जैसी र शेरबहादुर कुँवरलाई पहिलादेखि नै नेताहरुको रुपमा हेरेको थियो ।


 भीम रावलको छायाँमा परेर उठ्न नसकेका कारण उनीहरु हिजाे एमालेभित्र समस्यामा थिए । रावल  एमाले हुने भएपछि जैसी र कुँवरले एसलाई रोजेको त्यतिबेला नै बताइएको थियो । रावल अहिले एमालेमा किनारा लाग्दै गइसकेका कारण उनीहरुलाई सहज हुनेछ ।

 

त्यसो त, प्रेम आले पनि प्रभावशाली सांसद नै हुन् । किसान श्रेष्ठ, धनबहादुर बुढा पनि आफ्नो जिल्लामा निकै प्रभाव राख्ने नेतामा पर्छन् । उनीहरु आर्थिक रुपमा पनि बलिया सांसदहरूमा पर्छन् ।


 अम्बरबहादुर थापाले पनि राजनीतिक विकल्पको रुपमा प्रकाश ज्वालाको साथभन्दा आलेको साथ राम्राे मान्न थालेकाे चर्चा छ। त्यसैले, पछिल्ला दिनमा थापा पनि आलेसँग बढ्ता हिड्डुल गर्न थालेको एस स्रोतको दावी छ । अहिले चलेको चर्चा अनुसार एसका १० जना सांसदमा माधव नेपाल, राजेन्द्र पाण्डे र मेटमणि चौधरीबाहेक सबै विकल्पको खोजीमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस