• शनिबार-जेठ-५-२०८१

भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई जना घाइते, एकको अवस्था गम्भीर

 

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

 

घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा रहेका छन् ।

 

घाइतेमध्ये उर्वाको अवस्था गम्भीर छ । उनलाई डा. इवामुरा अस्पतालबाट थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शनिबार मध्यराति १२ बजे सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको थियो ।

 

खबर प्राप्त हुनासाथ खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं, भक्तपुर ललितपुर र काभ्रेबाट बोलाइएका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

 

कारखानामा अझै पनि धुवाँ आइरहेकाले दमकल र एक्साभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको उनले बताए । सो आगलागीमा १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।

 

 

प्रतिकृया दिनुहोस