• शनिबार-जेठ-५-२०८१

शान्ति स्थापनार्थ साउथ सुडान मिशनमा जाने फौजको विदाई

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न जाने फौजको २०८१ बैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गरिएको छ ।


महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुवामा कार्यरत एघारौँ डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बिदाई गर्दै कार्य सफलताको शुभकामनासमेत व्यक्त गरिएकाे थियाे ।


महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।


महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा संगठन र राज्यको प्रतिनिधित्व गर्दै परिचालन हुने हुँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग आपसी समन्वय तथा सहकार्य गरी कुशलतापूर्वक कार्यसम्पादन गर्न निर्देशन पनि दिएका छन् ।


महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कनको फलस्वरुप एफपीयू मिशनमा छनाेट भएको बताए ।


मिशनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले समेत शुभकामना सहित हार्दिक बिदाई गरेका थिए ।


सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिशन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिशन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु कार्यरत छन् ।


सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितको कमाण्डमा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु २०८१ बैशाख २३ गते राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

                                            

                                            

 

प्रतिकृया दिनुहोस