• मंगलबार-जेठ-८-२०८१

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु

काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज २०८१ वैशाख १९ गते  बिहान मृत्यु भएको छ ।


गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटिले जानकारी दिए ।


उनका अनुसार पहरीको शव बर्न अस्पतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ । पोस्टमार्टमपछि आजै पशुपतिमा अन्तिम संस्कार गरिने उल्लेख गर्दै वडाअध्यक्ष नगरकोटीले भने, ‘उहाँको अन्तिम संस्कार सकेपछि मृतकका परिवारलाई नगरपालिका र वडाकार्यालयको बैठक बसेर उचित राहतको व्यवस्था गर्छौं।’


गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । वैशाख १८ गते मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । शंकरको उपचारका क्रममा वैशाख १८ गते मंगलबार दिउँसो र रमेशको आज वैशाख १९ गते बिहान निधन भएको हो ।


बनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन ।

 

 

प्रतिकृया दिनुहोस