• आइतबार-बैशाख-३०-२०८१

सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै


काठमाडौँ, १६ वैशाख । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 

सरकारले आमऔषधी सेवन अभियान सञ्चालन गरेर (सबैलाई औषधि खुवाउने गरी) दुईहप्ते अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले ती सात जिल्लाका एक सय एक पालिकाका करिब ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधी खुवाइने बताउनुभयो । 

 

सरकारले यसअघि ती सात जिल्लामा आमऔषधी सेवन अभियान सञ्चालन भए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गरेको हो । दुई वर्षदेखि माथिका सबै उमेर समूहका सर्वसाधारणलाई औषधी खुवाइने छ । 

 

सरकारले समुदायस्तरमा सङ्क्रमण रोक्नका लागि ती जिल्लामा सबैलाई औषधी खुवाउन थालेको हो । यसअघि ५३ जिल्लामा समुदायस्तरको सङ्क्रमण रोकिएको छ भने दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । अभियानमा यसपटक करिब छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।
–––

 

प्रतिकृया दिनुहोस