• सोमबार-बैशाख-२४-२०८१

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति 

 

दोहा, १२ वैशाख (रासस/एएफपी) : रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् ।

 

सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराउनुभएको हो । मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो ।

 

एलभोभा–बेलोभाले भन्नुभयो, “पहिलो पटक ‘प्रत्यक्ष वार्ता’को ढाँचामा हामीले युक्रेनी पक्षसँग वार्ता ग¥यौँ । वार्ताबाट युद्धका क्रममा विस्थापित बनेका २९ जना बालबालिका युक्रेन र १९ जना रूस जाने छन् ।” ती बालबालिका किन रूसी वा युक्रेनी नियन्त्रण थिए वा उनीहरू कहाँबाट आएका थिए भन्नेबारे उहाँले केही बताउनुभएन ।
 

युक्रेनले सन् २०२२ को आक्रमण सुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा बढी बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४०० भन्दा कमलाई फिर्ता गरिएको जनाएको छ ।

 

मस्कोले उक्त आरोपको खण्डन गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ । युक्रेनमा दुई वर्षअघि युद्ध सुरु भएदेखि नै बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको छ ।

 

केही केटाकेटीका आमाबाबु मारिएका थिए भने अन्य आक्रमणको सुरुमा तीव्र गतिमा भएका आक्रमणका कारण परिवार वा उनीहरूका अविभावकहरूसँगबाट अलग भएका थिए । विस्थापितमध्ये केही रूसले कब्जा गरेको इलाकामा युक्रेनी अनाथालयमा बसिरहेका बालबालिका पनि रहेका छन् । 

 

युक्रेनले मस्कोको सेनाले उनीहरूलाई गैरकानुनी रूपमा रूसमा निर्वासित गरेको र रूसी अधिकारीहरूले उनीहरूको युक्रेनी पहिचान मेटाउने प्रयास गरेको आरोप लगाएको छ ।

 

युक्रेन फर्केका किशोरकिशोरीहरूले आफूहरूलाई रूसी देशभक्तिपूर्ण शिक्षा दिइएको र रूसी सेनाको प्रशंसा गर्न बाध्य पारिएको बताएका छन् ।
--- 

(तस्बिरमा युक्रेनमा "रूसी सैनिकहरूले कब्जा गरेको" भनिएको बख्तरबंद सवारीसाधनहरूबाट हिंड्दै रुसी अधिकारीहरू) 

प्रतिकृया दिनुहोस