• शुक्रबार-बैशाख-२१-२०८१

लहै लहैमा लागेर सुनमा लगानी नगरौं, सोचविचार गरौं !

  अहिले सुन किन्नेको ओइरो लागेको छ । बजारमा सुनको मूल्य दिनहुँ बढिरहेको छ । अझै सुनको मूल्य बढ्ने व्यापारीहरु बताउँछन् । सुन तोलाकै साढे दुई लाखसम्म पुग्ने बजारमा व्यापक चर्चा छ । सुनको मूल्य बढेसँगै आम सर्वसाधारण पनि सुन किनिरहेका छन् । आफूसँग भएको रकम उनीहरु सुनमा खर्चिरहेका छन् ।


फेरि भोलि सुनको मूल्य ह्वात्तै घट्यो भने अहिले महंगोमा किन्नेको हालत के होला ? पक्कै पनि उनीहरु पनि डुब्ने छन् । मान्छे कि त परेर चेत्छ कि त देखेर । त्यसैले, अर्काको लहै लहैमा लाग्नुहुन्न । छिटो नाफा कमाइन्छ भनेर यस्तोमा लगानी गर्नुहुन्न । उदाहरण नै भन्नुपर्दा हिजो कित्ताकै ३५ सय हालेर सेयर किनेकाहरु अहिले सय रुपैयाँमा बिक्री नहुँदा चुर्लुम्मै डुबेका छन् ।


त्यस्तै, घरजग्गा र गाडीमा पनि यस्तै भएको छ । आनाकै ४० लाख हालेर किनेको जग्गा अहिले त्यसको आधा मूल्यमा बिकेको छैन । २० लाखमा किनेको गाडी लाखमा बिक्री हुन्न । यता, ब्याजको प्रलोभनमा परेर सहकारीमा निक्षेप जम्मा गरेका बचतकर्ताहरु पनि आज नराम्ररी डुबेका छन् । सहकारी भाग्यो । करोडौं बचतकर्ताको बिचल्ली बनायो ।

 

   सुन बेचेको पैसा व्यापारीहरुले बैंकमा राख्दैनन् । सुन धितो राखेर वा बेचेर कमाएको पैसा व्यापारीहरुले ३६ प्रतिशत ब्याजमा लगाइरहेका छन् । डेढ लाखको सुन धितो राखेर ५० हजार कर्जा दिई तीन महिनाको समय दिइन्छ । अनि सो अवधिभित्र ऋण नतिरेर सुन नै पचाइदिन्छन् । हिजो पनि सर्वसाधारण लैंलैंमा लागेर डुबे । र, आज पनि त्यही गल्ती दोहोर्याउँदै छन् ।


दलालहरुको लहै लहैमामा लागेर बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सयमा किने । पाँच हजार आना नपर्ने जग्गा ६०–६५ लाखमा किने । पाँच लाखको गाडी पनि २०–३० लाख हालेर किने । हिजो दलालहरुको लहै लहैमा लागेर सर्वसाधारण डुबे त आज सुन व्यापारीहरुको लहै लहैमामा जनता डुब्दै छन् । त्यसैले, अब जनता समयमै सतर्क हुनुपर्छ ।


सरकारले बैंक, वित्तीय संस्था खोल्न अनुमति दियो । बैंक, सहकारी, लघुवित्त, फाइनान्समा पैसा राख्नुस्, हामी तपाईंहरुको पैसाको जिम्मेवारी लिन्छौं भनेर सरकारमा बसेका व्यक्तिहरुले नै भने । साेझा जनताले विश्वासमा परेर आफूसँग भएको वा जीवनभर दुःख गरेर, खाईनखाई राखेको पैसा बैंक, वित्तीय संस्थामा राखे ।


 
  व्यापार व्यवसायमा पनि लगानी गरेनन् । र, अहिले त्यो पैसाले सबैले सुन किनिरहेका छन् । सुन किन्दा न राज्यले राजस्व पाउँछ न त्यहाँबाट रोजगारी सिर्जना हुन्छ । जनताले सरकारमाथि विश्वास गर्न छोडिसकेका छन् । सरकारले सहकारीका सञ्चालक, अध्यक्षलाई समातेको भए र बचतकर्ताको निक्षेप फिर्ता गरिदिएको भए आज बैंकबाट पैसा निकाल्नेको भीड बढ्दैन्थ्यो ।


अब बजारमा झन् ठुलो मन्दी निम्त्याउने देखिन्छ । सरकार आर्थिक मन्दी हटाउँछु भन्छ । तर, मुखले बोल्दैमा त मन्दी हट्दैंन नि ? सरकारका मन्त्रीदेखि प्रधानमन्त्री, राष्ट्रपति, गभर्नर सबै अर्थतन्त्रमा सुधार आएको दाबी गर्छन् । अर्थतन्त्रमा सुधार आएको हो भने किन उपत्यकामा कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् ?


किन व्यापारीहरु दिनहुँ पलायन भइरहेका छन् ? किन देशभर मन्दी छ ? राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसकेको छ । सरकारी स्वामित्वकै महालेखा परीक्षकको कार्यालय सरकारको आम्दानीभन्दा खर्च दोब्बर रहेको बताउँछ । सरकारको लक्ष्यअनुरुप ४० प्रतिशत पनि राजस्व उठेको छैन । बजार पुरै मन्दीमा छ । भिडभाड हुने मालपोत र यातायात कार्यालय अहिले सुनसान छन् ।


जनतामा निराशा छाएको छ । उनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानी सबै डुबेको छ । भाटभटेनी, बिग मार्ट, सुपरमार्केटहरु पनि सुनसान छ । होटल, रेस्टुरेन्ट, माछा, मासु पसल, डेरीलगायतमा पनि कोही ग्राहक आउँदैनन् । अहिले भीड भनेको कि त सुन पसलमा कि बैंक, वित्तीय संस्थामा ।


एकातर्फ सुन किन्न मानिसहरुको लाम लागेको छ भने अर्कोतर्फ आफ्नो बचत झिक्न । यता, वैदेशिक रोजगारीको सिलसिलामा खाडी जानेहरुको पनि एयरपोर्टमा लर्को छ । २०८० सालमा धेरै मानिसहरुले आत्महत्या गरे । धेरै डुबे । धेरै सडकछाप भए । त्यो कारण थियो, सहकारी । सहकारीले पैसा खाइदिएपछि करोडौं जनताको घरपरिवार नै लथालिंग हुन पुग्यो ।
 
जबसम्म सरकार हजार र पाँच सयको नोटमा प्रतिबन्ध पनि लगाउँदैन । बजारबाट मन्दी पनि हट्ँदैन । झन् झन् नाजुक अवस्थामा पुगेको छ । सरकारलाई राजस्व कसरी उठाउने ? खर्च कसरी धान्ने ? भनेर मतलब छैन । यता, जनता भने आफूसँग भएको पैसाले धमाधम सुन किनिरहेका छन् । सुन किन्दा सम्बन्धित व्यक्तिलाई फाइदा होला ।
 
  सरकारमा बस्नेहरुले देश र जनताको लागि सोचेनन् । आफ्नो पार्टी र परिवारको लागि मात्र सोचे । अनि यस्ता व्यक्तिहरुका कारण आज देश नै असफल राष्ट्र बन्ने अवस्थामा पुग्न लागेको छ । अब जनता पनि दलाल वा व्यापारीहरुको लहैलहैमा लाग्नुहुन्न । जथाभावी लगानी नगरौं, पहिला राम्ररी सोचौं ।
रुषा थापा
भक्तपुर

 

प्रतिकृया दिनुहोस