• बिहीबार-बैशाख-२०-२०८१

अक्षयप्रति विश्लेषकको टिप्पणी–ओभरएक्सपोजले फिल्म फ्लप

 

मुम्बई । कुनै समय अभिनेता अक्षय कुमारलाई बक्सअफिसको ‘ग्यारेन्टी कुमार’ भनिन्थ्यो । तर कोरोना महामारीपछि अक्षयका जति पनि फिल्म रिलिज भए, अधिकांश फिल्म फ्लप साबित भए ।

 

यतिमात्र होइन, उनको हालै रिलिज फिल्म ‘बडे मियाँ छोटे मियाँ’ प्रति बलिउडको निकै ठूलो आशा थियो, तर फिल्मले इदका बाबजुद पनि बक्सअफिसमा कुनै कमाल गर्न सकेन । जसकारण निर्माताहरुले घाटासँग सम्झौता गर्नुपर्यो । कोभिड पछिको यात्रामा उनका फिल्मको औषत लाइफटाइम कलेक्सन ७८ करोडमात्र रह्यो ।

 

कोभिड पछि अक्षयका ९ फिल्म प्रदर्शनमा आए, जसमा ६ फिल्म फ्लप भए । फ्लप फिल्ममा ‘बेलबटम(३०.६३ करोड रुपैंयाँ)’, ‘बच्चन पाण्डे(४९.९८ करोड रुपैंयाँ)’, ‘सम्राट पृथ्वीराज(६८.०५ करोड रुपैंयाँ)’, ‘रक्षा बन्धन(४४.३९ करोड रुपैंयाँ), ‘सेल्फी(१६.८५ करोड रुपैंयाँ)’ र ‘मिसन रानीगन्ज(३३.७४ करोड रुपैंयाँ)’ छन् ।

 

जबकी दुई फिल्म ‘सूर्यवंशी(१९६ करोड रुपैंयाँ)’ र ‘ओएमजी २(१५०.१७ करोड रुपैंयाँ)’ सुपरहिट भए । फिल्म ‘राम सेतु(७१.८७ करोड रुपैंयाँ)’ले औषत कमाई गर्यो । कोभिडपछि उनको फिल्मको औषत लाइफटाइम कलेक्सन मात्र ७८ करोड छ । यसमा ‘सूर्यवंशी’ र ‘ओएमजी २’ छन् । यदि यी दुई सफल फिल्मलाई हटाउने हो भने औसत लाइफटाइम कलेक्सन झरेर ५० करोड रुपैंयाँ छ । यी सबै फिल्मको कुल लाइफटाइम कलेक्सनको कुरा गर्दा करिब ७ सय करोड रुपैंयाँ हुन आउँछ । जसमा ५० प्रतिशत कलेक्सन ‘सूर्यवंशी’ र ‘ओएमजी २’बाट ३४१.१७ करोड रुपैयाँ हुन आउँछ ।

 

अक्षय एक उत्कृष्ट कलाकार हुँदा हुँदै पनि उनको फिल्म किन चल्न सकेका छैनन् ? बलिउडमा अहिले यो प्रश्न उठिरहेको छ । दिग्गज फिल्म समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शको जवाफ यो प्रश्नमा फरक छ ।

 

‘चाहे अक्षय हुन् वा शाहरुख खान वा सलमान खान वा आमिर खान वा अजय देवगन, तपाईं पछिल्लो शुक्रबारको जस्तै राम्रो या नराम्रो थाहा पाउनुहुन्छ । मलाई सम्झना छ मैले अमिताभ बच्चनलाई ‘खुदा गवाह(१९९२)’को सेटमा भेटेको थिएँ । मैले उनलाई ‘अग्निपथ(१९९०)’मा तपाईंको अभिनयको सराहना गरिएको छ’ भनें । तर उहाँले ‘तर निराश त्यो होइन’ भनी जवाफ दिनुभयो ।

 

जब आमिर खान ‘लाल सिंह चड्डा(२०२२)’ जस्तो झुर फिल्म दिन्छन्, या शाहरुख खान ‘पठान(२०२३)’ अघि फ्लप फिल्मको झण्डा गाड्छन् वा अक्षय कुमार वर्तमान अवस्थामा एकपछि अर्को फ्लप फिल्म दिन्छन्, त्यसले तपाईंको अवस्थालाई प्रभाव पार्छ । यो बक्सअफिस नम्बरले सञ्चालन गरेको उद्योग हो । स्टार रेटिङ वा अभिनेता–अभिनेत्रीको प्रदर्शन कति शानदार छ, त्यो अप्रासंगिक साबित हुन्छ’, तरण भन्छन् ।

 

जयपुरमा इन्टरटेनमेन्ट प्याराडाइजका मालिक राज बंसल थिएटरसँगै ओटीटीमा अक्षयका फिल्म धेरै रिलिज हुनु उनका लागि दुर्भाग्य भएको दाबी गर्छन् । ‘यदी कोही अभिनेता आफूलाई ओभरएक्सपोज गर्छ, ऊ चल्दैन । एक अभिनेतालाई वर्षमा दुई देखि अधिकतम ३ वटासम्म फिल्म गर्न आवश्यक छ’, उनी भन्छन् । उनी फिल्म विश्लेषकका रुपमा पनि चिनिन्छन् ।

 

अक्षयको हातमा ‘सरफिरा’, ‘स्काईफोर्स’ र बहुप्रतिक्षित कमिक फिल्म ‘हेराफेरी ३’, ‘वेलकम टू द जंगल’ छन् । विश्लेषकहरु यद यी फिल्मका विषयवस्तु दर्शकले मनपराए भने अक्षयका लागि सबै कुरा बदलिनेछ ।
 

 

प्रतिकृया दिनुहोस