• बिहीबार-बैशाख-२०-२०८१

नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पद तथा गोपनीयताको शपथ

 

सुदूरपश्चिम, ६ वैशाख । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

 

धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेशसभामा सो पार्टीको संसदीय दलका नेता हुनुहुन्छ । 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । अछामको मङ्गलसेनमा विसं २०३४ मा जन्मिनुभएका सोडारीको हालको स्थायी बसोबास कैलालीको मसुरिया र अस्थायी बसोबास धनगढीमा छ ।

 

शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गर्नुभएका सोडारी विसं २०७० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कैलाली जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन नेकपा विभाजनका बेला उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुभएको थियो ।

 

प्रदेशसभाको विसं २०७४ मा भएको पहिलो निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी सोडारी निर्वाचनपछि गठन भएको प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी बहन गर्नुभएको थियो । विगतका राजनीतिक आन्दोलनमा पटकपटक जेल पर्नुभएका उहाँ पार्टीको कुशल सङ्गठनकर्ताका रुपमा चिनिनुहुन्छ ।
---

 

 

प्रतिकृया दिनुहोस