• बुधबार-बैशाख-१९-२०८१

सुदूरपश्चिममा सरकार दाबी गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

 

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ ।

 

यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले आज बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् । 

 

यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टा छुट्टै दाबी पेस गरेका थिए । तर लक्ष्मणकिशोरलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरी सरकारमा दाबी गर्न आव्हान गरेका थिए ।

 

सत्ता समीकरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि एकीकृत समाजवादीले दिर्घ सोडारीलाई अगाडी सारेको छ । तर सोडारी विवादस्पद व्यक्ति भएको भन्दै एमालेले विकल्प खोज्न भनेपछि यो विषय पेचिलो बनेको छ । यता एकीकृत समाजवादीको सचिवालय बैठकले भने सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडी सार्ने निर्णय गरेको छ । अब एमालेले केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने तयारी गरेको छ । 

 

प्रतिकृया दिनुहोस