• शनिबार-श्रावण-१२-२०८१

प्रधानमन्त्री प्रचण्डको कामः बजार अनुगमनलाई तीव्रता दिने कि ओली र देउवाको अनुहार मात्र हेर्ने ?

  पछिल्लो समय सुपरमार्केट, बिग मार्ट, भाटभटेनीलगायत किराना पसलदेखि सबैमा प्राय: प्लास्टिकमा प्याक गरिएको सामान पाइन्छ । यस्तो सामान कम तौलको हुने गरेको छ । कतिपय सामान त कुहिएको, बिग्रिएको पनि भेटिन्छ । म्याद गुज्रिएकोमा पनि नयाँ लेवल टाँसेर महँगो मूल्य बेचिन्छ ।


सबै सामान प्याक गरिएको हुँदा उपभोक्ताले न त्यो खोलेर हेर्न पाउँछन् न तोकिए बमोजिम तौल छ वा छैन ? भनेर जाँच नै गर्न पाउँछन् । त्यहाँ जति प्याक गरिएको छ र जति मूल्य भनिएको छ, त्यति नै तिर्न आम सर्वसाधारण बाध्य छन् । एक पटक सामान किनेपछि बिग्रिएको वा कुहिएको पाइएमा फिर्ता लिइदैन ।

 

प्रधानमन्त्री प्रचण्डलाई  केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, रवि लामिछाने, उपेन्द्र यादवको अनुहार दिनदिनै हेरे पुग्छ ? अनि यस्तो व्यक्ति प्रधानमन्त्री भएपछि देश कसरी विकास हुन्छ ? कसरी जनताले  गुणस्तरीय सामान पाउँछन् ? कसरी जनता ठगिनबाट जोगिन्छन् ?


उपभोक्ताहरु सामान किनेर लैजान्छन् । अनि खान योग्य भएमा खान्छन् नभए फाल्छन् । किनकि एक पटक सामान किनेर लगेपछि फिर्ता लिंदैनन् । अहिले बजारमा नक्कली वा गुणस्तरहीन सामानहरु व्यापारीहरुले बेचिरहेको उपभाेक्ताहरूकाे गुनासाे सुनिन्छ । चाहे त्यो मदिरा होस् या घर बनाउने सामान । माछामासु, दही दुध तथा तरकारी र फलफूल पसलहरुले पनि सडेका, बिग्रेका सामान बेचिरहेका हुन्छन् ।


उनीहरु आफूले धमाधम कमाएका छन् भने सर्वसाधारण ग्राहक ठगिएका छन् । सुन, औषधि, हार्डवेयर पसलहरुको पनि यस्तै ठगीधन्दा चलेकै छ । म्याद सकिएको, गुणस्तरहीन वा कम तौलको सामान महंगोमा बेचेर सर्वसाधारण  ग्राहक ठगिरहेका छन् । बजारमा सरकारी निकायको अनुगमन सुस्त छ । यसले गर्दा होटल, रेस्टुरेन्ट तथा मिठाई पसलहरुमा म्याद सकिएको वा बिग्रिएको सामान महंगोमा बेचिरहेको पाइन्छ ।


बजारमा ठगी र कालोबजारी ह्वात्तै बढेको छ । जसले जे गरेपनि भएको छ । तरपनि, सरकारी निकायको यसप्रति ध्यान गएको छैन । प्रचण्ड सरकारले अनुगमनमा पटक्कै चासो दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, सम्बन्धित स्थानीय तहहरुले अनुगमन गरेका छैनन् । कतिपय पेट्रोल पम्प व्यवसायीहरुले सिल बिगारेर महंगो पैसा लिएर  तोकिएभन्दा कम तेल बेच्ने गरेका छन् ।


ग्याँस व्यवसायीहरुले पनि थोत्रा, पुरानो सिलिण्डर बेचिरहेका छन् । नाप तौल तथा गुणस्तर विभाग अनुगमनमा निस्किंदैन । केही वर्षअघि सरकारी निकायको अनुगमनमा भाटभटेनी सुपरमार्केटले बिग्रिएको वा कुहिएको सामान बेचेको पाइयो । उता, रायस हार्डवेयरले पनि गुणस्तरहीन वा तोकिएभन्दा कम तौलको निर्माण  सामाग्री बेच्ने गरेको पाइएको थियो ।


तर, यी दुवैलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरेर छोडिदिइयो । बजारमा व्यापारीहरुले लुटतन्त्र मच्चाएका छन् । कमसल, गुणस्तरहीन र कम तौलको सामान बेचेर उपभोक्ता ठग्नु ठगेका छन् । तर पनि , प्रचण्ड सरकार भने अनुगमनमा चासो दिंदैन । झन् अहिले त व्यापारी तथा व्यवसायीहरुले सरकारी, सार्वजनिक जग्गा दुरुपयोग तथा हिनामिना गरेको पनि पाइएको छ ।


अनि उद्योग, वाणिज्य महासंघ भने यस्तो अवैध वा गैरकानूनी काम गर्ने व्यापारीलाई सरकारले समात्नु हुन्न भन्दै विज्ञप्ति निकाल्छ । व्यापारी तथा व्यवसायीहरुले जे-जस्तो काम गरेपनि सरकार मौन रहनुपर्ने महासंघ भन्छ । अहिले जनता नेपाल उद्योग वाणिज्य महासंघलाई जनता ठग, दलालीहरुको पक्षधर महासंघ भन्छन् ।


सरकारी, सार्वजनिक जग्गा हिनामिना गर्ने तथा जनताको बचत दुरुपयोग गर्नेलाई समेत कारबाही नगर्नु भनी विज्ञप्ति निकाल्छ भने त्यो पक्कै पनि उपभाेक्ता हितकारी महासंघ हुँदै होइन । किनकि महासंघले शुद्ध व्यवसाय गर, इमानदार बन, भन्दै गलतलाई गलत र सहीलाई सही भन्नुपर्छ । गैरकानूनी काम गर्ने जोकोहीलाई पनि कारबाही गर्न महासंघबाट आवाज उठ्नुपर्छ ।


काठमाडौं उपत्यकालगायत मुलुभरका विभिन्न ठाउँमा अहिले पनि धारामा पानी आउँदैन । यसले गर्दा उपभोक्ताहरु जारको पानी किन्छन् । तर, त्यो जारको पानी गुणस्तरहीन हुने गरेको पाइन्छ । जार खोल्दा पानी नै गन्हाउँछ । त्यो पानीले कतिपयको स्वास्थ्यमा समेत असर गर्ने गरेको सुनिन्छ । जिरा पिस्ने मिलमा एक किलो जिरा र तीन किलो धनियाँ मिसाइन्छ ।


अनि त्यो प्लास्टिकमा प्याक गरेर शुद्ध जिरा भन्दै महंगोमा बेचिन्छ । बजारमा केमिकल मिसाएका, खान अयोग्य सामान व्यापारीहरुले बेचिरहेका हुन्छन् । कानूनमा घरायसी मदिरा बेच्न पाइँदैन । तर, भट्टी पसलहरुमा देसी मल, पुरानो कपडा र जुत्ता, राँगाको खुट्टा, शखरलगायतको प्रयोग गरी रक्सी बनाएर बेचेको पाइन्छ ।


 यसतर्फ पनि सरकारको ध्यान गएको देखिंदैन । बाणिज्य विभाग, सिडियाे कार्यालय वा सरकारी निकायहरु कसैले पनि अनुगमन गर्दै गर्दैनन् । मासु पसलेहरु खसीको मासु भनेर बुढी बाख्री र राँगाको भनी बढी भैंसीको मासु बेच्छन् । अझै बासी र कम तौल बेच्छन् ।
विभिन्न केमिकल मिसिएका सामान प्रयोग गरी मानिसहरुको कपालदेखि अनुहारसम्म बिग्रारिन्छ । फेरि यस्ता व्यवसायहरु दर्ता पनि भएका छैनन् ।

 

दर्ता बिनै व्यवसाय सञ्चालन गरी यिनीहरुले सर्वसाधारणसँगै राज्यलाई समेत ठगिरहेका छन् । व्यापार गर्ने नाममा व्यापारीहरुले सर्वसाधारण ठगेका छन् । उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । राज्यलाई कर तिरेका छैनन् । तैपनि उनीहरुलाई कारबाही कसले गर्ने ?


बाटोमा बच्चादेखि ठूलासम्मले अस्वस्थ पानीपुरी, चटपटे खाइरहेको देखिन्छ । व्यापारीहरुले आफ्नो नाफाको लागि यस्ता खानेकुरामा विभिन्न अखाद्य वस्तु मिसाउने गरेका छन् । यस्तो खानेकुराले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर गर्छ । तर, सरकारले यसमा रोक लगाएको छैन । सम्बन्धित जनप्रतिनिधि भनिने स्थानीय तहहरुले पनि यस्तो वस्तुमा प्रतिबन्ध लगाएका छैनन् ।


कतिपय स्थानीय तहले प्रतिबन्ध लगाएपनि अनुगमन नगर्दा बेइमान व्यापारीहरुले बेचिरहेको पाइन्छ । सार्वजनिक सवारीसाधनमा पनि यस्तै छ । यातायात व्यवसायीहरु सिटभन्दा बढी यात्रु हाल्छन् । झुण्डिएर, कुच्चिएर यात्रा गर्नुपर्छ तर भाडा भने सरकारले तोकेकाभन्दा बढी तिर्नुपर्छ । उता, ट्याक्सी व्यवसायीहरु पनि मिटरमा यात्रु बोक्दैनन् ।


  न त यात्रुले भनेको ठाउँमा नै जान्छन् । थोत्रा, पुराना र कबाडी ट्याक्सी चलाएर व्यवसायीहरुले जनता ठग्नु ठगेका छन् । अनि यस्तालाई कसले कारबाही गर्ने ? अहिले गृहमन्त्री रवि लामिछाने भन्छन्, ‘मैले खल्तीमा राजीनामा बोकेर हिँडेको छु । काम गर्न सकिँन भने तत्काल राजीनामा दिन्छु ।’


लामिछाने गृहमन्त्री भएको पनि एक महिना भइसक्यो । तर, अहिलेसम्म उनले एउटै काम गरेका छैनन् । न सुन तस्करीमा सम्बन्धित व्यक्तिलाई समाते न बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई कानूनी दायरामा ल्याउन सके । उल्टै उनीमाथि नै सहकारीमार्फत हजारौं बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप छ ।


  अनि यस्ता गृहमन्त्रीले पनि देश र जनताको लागि काम गर्छन् त ? काम भने नगर्ने अनि काम गर्न नसकेमा राजीनामा दिन्छु भन्दै जनतामा भ्रम फैलाउने, गृहमन्त्रीज्यु ? गृहमन्त्री भएको यत्रो दिनसम्म के के गर्नुभयो ? यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भन्छन्, ‘देशमा आर्थिक मन्दी छैन ।’


बजारमा व्यापारीहरु भन्छन्, ‘मन्दीका कारण व्यापार व्यवसाय ठप्प छ । अब हामी पनि पलायन हुने अवस्थामा पुगेका छौं ।’ सर्वसाधारण पनि आर्थिक संकट निम्तिएको बताउँछन् । बेरोजगारी बढेकाले दिनहुँ विदेश पलायन हुने बढिरहेका छन् । तर, सरकारमा बसेकाहरु भने आफ्नो कुर्सी जोगाउन जनतामा भ्रम फैलाउने काम गरिरहेका छन् ।  


अहिले बजारमा दाल चामल वा कुन सामानको मूल्य कति छ ? भनेर प्रधानमन्त्री भन्न सक्दैनन् । किनकि उनलाई बजारको अवस्थाबारे केही थाहा छैन ।  प्रधानमन्त्री प्रचण्डलाई  केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, रवि लामिछाने, उपेन्द्र यादवको अनुहार दिनदिनै हेरे पुग्छ ? अनि यस्तो व्यक्ति प्रधानमन्त्री भएपछि देश कसरी विकास हुन्छ ? कसरी जनताले  गुणस्तरीय सामान पाउँछन् ? कसरी जनता ठगिनबाट जोगिन्छन् ?


अहिले जनता सोध्छन्, ‘बजार अनुगमन गर्ने काम कसको हो, प्रधानमन्त्रीज्यू ?’ प्रधानमन्त्रीले अब कि त आफू देशको प्रधानमन्त्री बजारकाे मतलब छैन भन्नुपर्छ नभए बजार अनुगमनमा पनि तीव्रता दिनुपर्छ । जनताले प्रचण्डलाई ओली र देउवाको अनुहार हेर्न मात्र प्रधानमन्त्री बनाएका होइनन्, देश र जनताको हितमा काम गर्न हो ।
रुषा थापा
भक्तपुर

प्रतिकृया दिनुहोस