• शनिबार-बैशाख-१५-२०८१

नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरू क्रमिक रूपमा थपिँदै गए-प्रधान सेनापति

सेनाकाे उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

 काठमाडाैं । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा २०८० फाल्गुण ३० गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा २९ जना शिक्षार्थी सहभागी गराई सञ्‍चालन भएको सि.सं. ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on National Security) को  २०८० चैत १६ गते रक्षा मन्त्री हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा समापन भएको छ ।


  समारोहमा समापन मन्तव्य राख्दै रक्षा मन्त्री उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकोले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरू बिच सुरक्षा सम्बन्धी विषयमा साझा बुझाई र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको र सबैको सक्रिय प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकमा आन्तरिक तथा बाह्य सुरक्षा सुदृढ हुने बताएका छन् ।

सम्बोधनकै क्रममा रक्षा मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्त्वहरू अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समुचित रुपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्ने बताएका छन् ।


  सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा सहभागी शिक्षार्थीहरूलाई बधाई दिँदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले भूमण्डलीकरण र सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको र परम्परागत सुरक्षा खतराहरूको साथै, जलवायु परिवर्तन, महामारी, साइवर थ्रेट, आतंकवादका परिष्कृत प्रवृत्ति जस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरू समेत क्रमिक रूपमा थपिँदै गएको बताएका छन् ।


  प्रधान सेनापति शर्माले सामरिक सोच र संस्कृतिको विकास गरी रणनीतिक तहको नेतृत्व उत्पादन गर्ने उद्देश्यले नेपालमै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराउदै सबै क्षेत्रका रणनीतिक तहमा रहेका नेतृत्व वर्गहरूमा सामरिक सोचलाई थप परिष्कृत गर्दै लैजान सकिएमा राष्ट्रिय शक्तिका प्रमुख तत्त्वहरूको सामञ्जस्यताले भयरहित सुरक्षा वातावरण सिर्जना भई राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताए ।


   यसै क्रममा प्रधान सेनापति प्रभुराम शर्माले सुरक्षा संयन्त्र लगायत सबै सरकारी एवं गैर सरकारी निकायहरू तथा जनताको साझा प्रयासबाट मात्र देशको समग्र सुरक्षा व्यवस्था मजबुत बनाउन सकिने हुँदा सम्भावित खतराहरूको पहिचान र उक्त खतराहरूबाट हुन सक्ने चुनौतीहरूलाई यथोचित ढङ्गबाट सम्बोधन गर्न यस तालिम सहयोगी सिद्ध हुने बताए  ।


 तालिमको दौरान  २०८० चैत ०९ गते जलवायु परिवर्तनले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा सम्बन्धित विषयका विज्ञहरू र सञ्चारकर्मीहरू सहित १०० जनाको सहभागितामा एक दिवसीय सेमिनार समेत संचालन भएको थियो ।  


 वि.सं.२०७२ सालबाट शुरु भएको यस तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरु, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म २२२ जना प्रशिक्षित भई सकेका छन् ।

 


  समारोहमा विभिन्न मन्त्रालयका सचिवहरु, बलाधिकृत रथी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द तथा अधिकृत, सरकारी निकायका पदाधिकारीहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस