• शनिबार-बैशाख-१५-२०८१

सेनाका प्रमुख सुवेदार/ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक २०८० सम्पन्‍न

काठमाडाैं ।  जंगी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको प्रमुख सुवेदार/जेष्ठ सुवेदार समन्वयात्मक बैठक  २०८० चैत्त १६ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट समापन गरिएको छ ।

 

कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरू युनिट तथा सब-युनिटहरुका सबैभन्दा पुराना र अनुभवी व्यक्ति भएकाले युनिट तथा  सब-युनिटहरुको संस्कृति र परम्परा कायम राख्न थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताएका छन्।

 

प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले प्रदर्शन गर्ने व्यवसायिक क्षमता र जिम्मेवारीले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयास गरी पल्टनको युद्धकार्य तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरूमा नतिजामुखी उपलब्धी हासिल गर्न निर्देशन दिइएकाे छ ।


  सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन समेत दिएका छन् ।

 

   नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्‍नति हुँदै पुग्ने राजपत्र अनङ्कित वरिष्ठतम् पद प्रमुख सुबेदार/जेष्ठ सुबेदार हो । पल्टनको संस्कृति, परम्परा र रीतिरिवाज बारे जानकार तथा जिम्मेवार प्रमुख सुबेदार/जेष्ठ सुबेदारलाई नेपाली सेनामा अति महत्त्वपूर्ण नियुक्तिका रूपमा लिइन्छ ।

 

 २०८० चैत्त १५ गते बलाधिकृत रथी अशोकराज सिग्देलबाट उद्‍घाटन गरिएको  समन्वयात्मक बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस