• शनिबार-बैशाख-१५-२०८१

नवाजुद्दीन र आलियाको सम्बन्ध सुध्रियो  

 

मुम्बई । बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ । सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो । यसपछि उनीहरुबीचको द्वन्द्व निकै समयसम्म चल्यो । उनीहरुले आपसी विवाद लिएर अदालतसम्म पुगे ।


यही बीचमा आलियाले सामाजिक सञ्जालमा नवाजुद्दीनको परिवारलाई लिएर विभिन्न खुलासा गरिन् । उनले नवाजुद्दीनविरुद्ध सम्बन्धविच्छेदको मुद्दा पनि दर्ता गराएकी थिइन् । उनी आफ्ना सन्तानसँग अलग्गै बस्थिन् । अब भने यो जोडी पुनः एकै ठाउँमा आएको छ ।


हालै आलियाले विवाहको १४औं वर्षगाँठ मनाउँदै एउटा पारिवारिक भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन् । यो भिडियो हेरेका धेरैले उनीहरुबीच झगडा साम्य भएको होला भन्ने अनुमान गरेका थिए । आलियाले एक अन्तरवार्तामा आफ्नो जीवनमा धेरै कुराको बद्लाव आएको बताउँदै नवाजुद्दीनसँगको सम्बन्धमा सुधार भएको जनाउ दिएकी छन् ।


‘यो दिनमा मेरो जीवनमा धेरै बद्लाव भएको छ । मलाई लाग्छ कि मैले विश्वका साथ खराब कुरामात्र शेयर गरें । राम्रो कुरा शेयर गर्न चाहिनँ । मलाई लाग्छ कि जुन राम्रो कुरा हो, त्यो पनि हेर्न पाउनुपर्छ,’ उनले भनेकी छन् ।


उनले अगाडि भनेकी छन्,‘मलाई लाग्छ कि हाम्रो सम्बन्धमा जुन समस्या आए, त्यो जहिल्यै कुनै तेस्रो पक्षका कारणले भयो । तर अब त्यो गलत बुझाई हाम्रो जीवनबाट हटिसकेको छ । हामीले आफ्नो सन्तानको कारण आत्मसमर्पण गरिसक्यौं । 


अब जिन्दगीमा अलग रहनुको कुनै विकल्प छैन । किनकी सन्तान पनि ठूला भइसकेका छन् । साथै नवाज शोराको नजिक छ र जे जति भयो त्यो कुराले ऊ निकै चिन्तामा थिई । त्यसकारण हामी अब एकापसमा नलड्ने र शान्तिका साथ बस्ने निर्णय लिएका छौं ।’


नवाजुद्दीन र आलियाले निकै लामो समयसम्म डेट गरेका थिए । नवाजुद्दीनसँग विवाह गर्नुअघि आलियाको नाम अञ्जली थियो । सन् २००९ मा विवाह गरेका यो जोडीको दुई सन्तान छन् ।

 

प्रतिकृया दिनुहोस