• शनिबार-बैशाख-१५-२०८१

प्रधानाध्यापक कै लापारवाहीले सिराहाको एक विद्यालय बन्यो विद्यार्थीविहीन

 

सिरहा । विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ। तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्र र राजनितिकरणले सिरहा लगायत मधेस प्रदेशको समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको छ। 


यसको उदाहरण हो सिरहाको श्री आधारभुत विद्यालय रामनगर गुलरिया। २०३५ सालमा स्थापना भएको सिरहा नगरपालिका ९ स्थितको श्री आधारभुत विद्यालय रामनगर गुलरियामा प्रधानाध्यापक, अभिभावक र राजनितिककर्मीहरुको चरम लापर्वाहीले विद्यालय अहिले विद्यार्थी विद्यार्थी विहिन बनेका छन्।

 

श्री आधारभुत विद्यालय रामनगर गुलरीयामा करिव २५ वर्ष देखि कार्यरत शिक्षक श्याम कुमार यादव (हाल प्रधानाध्यापक)को चरम राजनीतिक चलखेलका कारण विद्यालय विद्यार्थी विहिन बनेका हुन्। 


कुनै समय सयौँको संख्यामा विद्यार्थी रहने यो विद्यालयामा अहिले खोजखाज पारेर १०÷१२ जना विद्यार्थी भेला पार्नु पर्ने अवस्था छ। २०७३ पछि श्याम कुमार यादवले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न थालेपछि विद्यालयको अवस्था खस्कदै गएको स्थानीयहरु बताउँछन्। उनी २०५५ सालदेखि यसै विद्यालयमा कार्यरत छन्। अर्का शिक्षक सावित्रि शर्मापनि यहि विद्यालयमा २०५३ सालबाट काम गरिरहेका छन्।


स्थानीय अमलेश यादवका अनुसार पहिला राम्रै विद्यार्थी उपस्थित हुन्थ्यो तर, पछिल्ला दिनमा शिक्षकहरु नै विद्यालय नआउने भएपछि विद्यार्थी कम हुँदै गएको हो। उनले भने, ‘बाल बालिकाकालाई विद्यालय पढ्न पठाउने हो। अहिले जम्मा दुईजना शिक्षकहरु छन्। उनीहरु पनि नियमित नआउने भएपछि गाउँलेले अन्यत्र विद्यार्थी पठाउन थाले अहिले विद्यालयमा विद्यार्थीको अवस्था शुन्य छ।’

 

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाई हुन्थ्यो, एक सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत थिए। तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयय सुधारका लागि विद्यालय प्रशासनसँग पटक पटक आग्रह गरिसक्यौं। तर, हाम्रा कुराको सुनुवाइ नै भएन, अहिले शिक्षकहरुलाई मनलागेको दिन गाउँ चाहारेर ल्याएको विद्यार्थीसँग एकछिन अलमलिने गरेको छु।’

 


कोरोनापछि ३ वर्ष विद्यालय बन्द रहे। त्यसवेला शिक्षकहरुले घरै बसेर तलव खाए। यो कुरा प्रअ यादव आफै स्वीकार गर्छन्।

 

विद्यालय धारासायी हुने अवस्था देखेपछि शैक्षिक शत्र २०८०मा स्थानीय सामाजिक अगुवा र जनप्रतिनिधीले ५५/६० जना विद्यार्थी खोजेर भर्ना गराएपनि प्रअको लापर्वाहीले विद्यार्थी १२÷१५ जनामा झरेको वडा अध्यक्ष रामदयाल यादबले बताए। उनले भने, ‘हामीले विद्यालयलाई सुधार गर्न धेरै प्रयास गर्यौं। एक जना स्वयम्सेवक (निःशुल्क)शिक्षक राखेर धेरै मेहनत पछि विद्यार्थी जम्मा गरायौं। प्रअले ती शिक्षकमाथि पनि अनावश्यक आरोप लगाउन थालेपछि आउन छाडे अहिले फेरी उही अवस्थामा पुगेको छ।’ 

 


उनले २५ वर्ष भन्दा लामो समयदेखि यहीँ विद्यालयमा बसेका शिक्षकहरु छन्। उनीहरुको सरुवा नभएसम्म विद्यालयमा सुधार आउने मैले देखेको छैन। उनले भने, ‘मैले यस विद्यालयको सुधारको लागि कम्तीमा प्रअको सरुवा गर्नुपर्ने नगर शिक्षा समितिमा माँग गरेको छु।’

 


यस विद्यालयमा विद्यार्थीसंख्या न्यून छ। आएका विद्यार्थीको हाजिरी समेत हुँदैन। आधारभुत विद्यालयका लागि पुग्ने भौतिक पूर्वाधार भएपनि कालो पाटी (ब्लयाक वोर्ड) नभएको र धुलाम्मे कक्षाकोठामा पढाउने गरेको विद्यार्थीहरु बताउँछन्। ५५ जना विद्यार्थीको इमिस भरेको भएपनि अहिले १५ जनाको हाराहारीमा विद्यार्थी आउने गरेको प्रअ यादव आफै बताउँछन्। 

 


प्राधानाध्यापक यादवले भने साउनमै विद्यार्थी हारिजी रजिष्टर चोरी भएकाले विद्यार्थीको हाजिरी हुन नसकेको बताए। विद्यालयमा तलव बाहेकका रकम नआएकोले नयाँ रजिष्टर खरिद गर्न नसकिएको प्रअको भनाई छ। 

 


उनले थपे, ‘विद्यालयको बैंक खाता म र अर्का शिक्षक शावित्री शर्माको नाममा छ। राजनीतिक प्रभावका कारण उहाँले तलवभन्दा अन्य रकम निकासामा हस्ताक्षर नगरिदिंदा पनि समस्या हुने गरेको छ।’ 

 


राजनीतिक खिचातानीले दशक देखि विद्यालय व्यवस्थापन समिति विहिन
राजनीतिक खिचातानी र विवादका कारण पछिल्लो एक दशकदेखि  विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन। कहिले प्रअले चाहेको जस्तो व्यक्ति नपाउँदा त कहिले अभिभावकले भनेजस्तो व्यक्ति छनोट हुन नसक्दा व्यवस्थापनि समिति गठन हुन नसकेको स्थानीय युवाहरु बताउँछन्। 

 


प्रअले आफूले पटक पटक कोशिस गरेपनि विवादका कारण विद्यालय व्यवस्ववथापन समिति गठन नभएको स्वीकारे। स्थानीय बुद्धिजिवि र अभिभावक भने प्रअको चरम रानीतिक हठका  कारण विद्यालय धारासायी भएको बताउँछन्। 

 


विद्यालयमा शिक्षक,  अभिवावक, स्थानीय राजनितिकर्मीहरुले विद्यालयलाई राजनीति गर्ने प्रयोगशाला बनाएपछि शैक्षिक क्षेत्रको अवस्था ओझेलमा परेको जानकारहरु बताउछन्। विद्यालयलाई राजनितिक थलो बनाएपछि समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको उनीहरुको भनाई छ।

प्रतिकृया दिनुहोस