• शनिबार-श्रावण-१२-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

समकालिन राजनीतिको यो अक्करको भीर थियो ।
जहाँ सबै एक पछि अर्को चुक्दै गएका छन् ।
वीरगञ्ज पुगेर पुर्व राजा भक्कानिए ।
मुलुकको कालखण्डमा यो लामो समय पछि देखिएको घटना थियो ।
राजसंस्थालाई बिष्णु अबतारको चोला गह्रुङ्गो भयो ।
दुई दुई पटक श्रीपेच पहिरिँदा पनि अक्कल त न आउने पो रहेछ ।
परिवार माथि लागेको आरोप प्रति पूर्वराजा रुँवासे भए ।
राजदण्ड संहितामा यसको निदान कसरी गरिएको छ, तिनै जानुन् ।
तर पहिलो पल्ट राजा रैती जस्तै आफ्नो परिवारको दुखेसो कथेर बसेको देखियो ।
कम्तिमा राजा फर्काउन खोज्नेहरुले यो राजा चाँहि फर्काउन न खोजुन है ।
रैती चोला भिरेर अब फेरि राजा हुन सुहाउँदैन ।
यो अक्करमा,
तेश्रो पटक राजा हुन खोजेका पुर्व राजा मात्रै चुकेनन् ।
राजा फर्काउनेहरु पनि नराम्ररी चुके ।
मलाई लाग्दछ,
यसलाई सदाको लागि अब इतिहासको पोको पन्तेरोमा थन्काइनु बेस ।
पुर्व राजाको रुँवासेमा प्रधानमन्त्रीको प्रत्युत्तरले त कत्ति हाँस्नु ।
निहत्थाहरु मारेर जनयुद्धको उद्घोषमा रमाएकाहरु
शासन सत्तामा पुग्दा कत्ति लुते हुन पुग्छन, प्रचण्ड हेर्दा मात्र पुग्छ ।
प्रधानमन्त्रीको रुपमा प्रचण्डले बाबुराम भट्टराईको एकान्तबास फुकुवा शैलीमा भने
राजदरबार हत्या काण्डको फेरि जाँच गराइन्छ ।
यसले अक्कर भीरमा चुक्दै गएको राजनीति उदाङ्गो पारेको छ ।
नयाँ ढङ्गबाट समिति बनाउने कुरा बाबुराम भट्टराईको एकान्तबास फुकुवा गरे जस्तो थिएन ।
तीन तीन पटक प्रधानमन्त्री हुँदा मात्र अक्कल त नआउने पो रहेछ ।
प्रचण्डको दशवर्षे जनयुद्ध त त्यत्तिकै बितेको पो देखियो ।
नत्र, आफ्नै अघिल्तिर मदन भण्डारीको मृत्यु प्रहसनमा
राष्ट्रपतिको सान्त्वना पुरस्कार सबैले ठ्म्याएकै थिए त ।
राजा वीरेन्द्रको वंशनासको नरसंहार र मदन भण्डारीको दुर्घटना
मुलुक भित्र भित्रिएको अज्ञात खुफिया रहस्यको पेन्डोरा पोको मात्र थियो ।
जसले जहाँ फरिया फुकाले पनि हुने ।
एउटा सामान्य राजनीति शास्त्रका विद्यार्थीले पनि ठम्याउँछन् ।
तर भयानकको फरेबि युद्ध हाँकेका हाम्रा प्रधानमन्त्री 
जब फेरि अर्को समिति बनाउँछु, भन्छन्
कत्ति हाँस्नु ।
मुलुकको राजनीति अक्करमा फसेको गोरु जस्तै हुन पुग्दो छ ।
कसैलाई पत्तो हुन छोडेको छ, सबै फागुन नै किन रोज्छन भनेर ।
फागुनमा रुखका पातहरु हेर्दा मात्रै पुग्छ, तिनले किन धर्ती रोज्छन भनेर ।
अज्ञात खुफिया संन्यत्रका पान्डोरा पोकोमा नै छ, रोमाञ्चकता ।
मानिसहरुलाई रोमाञ्चकता मन पनि पर्दछ ।
हामी सबै रोमाञ्चक दृश्यहरुका लागि आतुर हुन्छौ ।
र त्यसको लागि आजको दिनमा
पूर्व राजा र पूर्व जनमुक्ति सेनाका कमाण्डर दुबै भड्खारोका पात्र हुन् ।
रैती रुवासेमा रुने पुर्व राजा र त्ंयान्द्रो समाएर जंघार तर्न खोज्ने प्रधानमन्त्री
दुबै अक्करमा पुगेर चुकेका छन् । 
राम राम भन्न अयोध्यामा स्थापित राम बोलाउने कि
माडिको अयोध्यापुरिका लठुवा कामरेडलाई ।
क्यारम त ।

प्रतिकृया दिनुहोस