• शनिबार-श्रावण-१२-२०८१

पाकिस्तानमा मतगणना सकियो, केन्द्रमा कुनै दलले बहुमत ल्याएनन्

पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारलाई १०१ सिट

 

काठमाडौं । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ ।  

 

प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान निर्वाचन आयोगले जनाएको छ । २६६ सिटका लागि भएको निर्वाचनमा २६४ सिटको नतिजा सार्वजनिक हुँदा १ सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना नै स्थगित भएको छ ।


२६४ सिटको नतिजा सार्वजनिक हुँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले  उत्साहजनक १०१ सिट जितेको छ ।


पीटीआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न दिएको थिएन । निर्वाचन चिह्न नदिएपनि पीटीआई समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए ।
पाकिस्तानको सेनाले समर्थन गरेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नेश्नलिस्ट (पीएमएल–एन)ले भने ७५ सिटमा मात्रै जित हात पार्यो । सेनाको समर्थनका बाबजुद पनि पीएमएल–एनदलले बहुमत पाउन सकेन ।

 
यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जित्दा बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पीपीपी)ले ४ सिट जितेको छ । चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ ।

 
जसमा पञ्जाबमा २९७ सिटका लागि भएको निर्वाचनमा १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । पञ्जाबमा  पीएमएल– एनले १३७ सिट र पिपिपीले १० सिट ल्याएको छ ।


सिन्धमा पीपीपीले बचस्व कायम राख्यो । १३० सिट मध्ये पीपीपीले ८४ सिट जितेको छ । यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट पाए । तर, खेबर पख्तुन्ख्वा प्रान्तमा भने स्वतन्त्र उम्मेदवारले १२२ मध्ये ९० सिट जितेका छन् ।


मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा कम्तिमा २३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटका बाबजुत त्यहाँको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको थियो । 
उक्त प्रान्तमा ५१ सिटका लागि गरिनएको निर्वाचनमा पीपीपीले ११, पीएमएल–एनले १०, जमियत उलमा–ई–इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ ।


मतपरिणाम आएसँगै सरकार गठन केन्द्र र प्रान्तमा चर्चाको विषय बनेको छ । केन्द्रमा कुनैपनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन । पञ्जाब र बलोचिस्तान दुई प्रान्तमा पनि मतपरिणामले केन्द्रकै अवस्था बनाइदिएको छ । 


बिहीबार भएको आम निर्वाचनमा मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो । कतिपय नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि समेत कुटपिट भएको समाचारहरू सार्वजनिक हुँदा यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको टिप्पणी भएको छ । 


अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र  हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेका छन् ।
 

 

 

प्रतिकृया दिनुहोस