• शनिबार-श्रावण-१२-२०८१

दस अर्ब भन्दा बढी लागत बढाएर भ्रष्टाचार : अख्तियारले गर्ला त भ्रष्टहरुको भण्डाफोर ?

 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका विवादस्पद महानिर्देशक प्रदीप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा आयोजना प्रमुख रहेका अधिकारीले आर्थिक अनियमितताका गरेको भन्दै आयोगले छानबिन थालेको छ । नेपाल सरकारको जमानीमा चिनियाँ एक्जिम बैंकको ऋणमा बनेको उक्त विमानस्थलमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको, अस्वभाविक लागत बढाएको, समयमा काम सम्मपन्न नगरेर राष्ट्रलाई करोडौं नोकसन पारेकोलागयतका आरोपसहित आयोगमा उजुरी परेको थियो । 


साँघु साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यमले पनि उक्त आयोजनामा भ्रष्टाचार भएको भन्दै समाचार प्रकाशन गरिरहेका थिए । नेपाली सञ्चारमाध्याममात्र होइन, अमेरिको प्रतिष्ठित सञ्चार माध्यम दी न्यूयोर्क टाइम्सले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौंअनियमितता भएको लामो खोजमूलक समाचार प्रकाशन गरेको छ । न्यूयोर्क टाइम्सले समेत समाचार प्रकाशित गरेपछि आयोगले आयोजनामा भएको भ्रष्टाचारको छानबिन सुरु गर्न थालेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित कार्यालयबाट सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।


पोखरा विमानस्थल निर्माणको चरणमा आयोजना प्रमुख रहेकाकमिशनमा रमाउने भ्रष्ट प्रवृत्तिका अधिकारीले महानिर्देशक भएपछि निर्माण सम्पन्न नहुँदै उद्घाटनसमेत गराएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हतारहतारमा उद्घाटन गराएका थिए । उक्त विषयमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रश्न उठाएका थिए । मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई केही समय अघि सोधेको स्पष्टीकरणमा समेत पोखरा विमानस्थलनको निर्माण कार्य सम्पन्न नहुँदै किन उद्घाटन गरेको भन्दै प्रश्न सोधेका थिए । 


नागरिक उड्डयन प्राधिकरणको जुनसुकै नयाँ निर्माण गर्ने प्रोजेक्ट जसरी पनि प्रमुख हुनै पर्ने विवादस्पद पृष्ठभूमिका कमिशनखोर महानिर्देश्क अधिकारीले मन्त्री किराँतीलाई जवाफ नदिई प्रधानमन्त्री प्रचण्डको बलमा आफ्नो पद टिकाउँदै आएका छन् । तर, अहिले आयोगले नै छानबिन गर्न थालेपछि भने उनी तनावमा परेको प्राधिकरण स्रोत बताउछ । 
प्राधिकरणका कर्मचारीहरुको भनाइमा विभिन्न राजनीतिक शक्ति केन्द्रको प्रयोग गरी आयोगमा सेटिङ मिलाउने प्रयासमा सक्रिय रहेका छन् । उनी आफ्नो भ्रष्ट शैली र प्रवृत्तिको विरुद्ध लागेका कर्मचारीलाई कारबाहीको डण्डा चलाउने चलखेलमा समेत लागेका छन् । डिजी अधिकारीको भ्रष्ट प्रवृत्तिलाई असहयोग गर्ने सबै कर्मचारीलाई सरुवा गर्ने, कारबाही गर्नेभन्दै कर्मचारीलाई तर्साई पनि रहेका छन् । 


अधिकारीले पोखरामा विमानस्थल निर्माणको चरणमा चिनियाँ ठेकेदार कम्पनी र प्राधिकरणका कर्मचारीको मिलेमतोमा १० अर्ब रुपैयाँभन्दा बढी लागत बढाएको आरोप रहेको छ । महँगो ब्याजदरदेखि बढी लगानी गरेका कारण अहिले नेपालले चिनिया ऋण तिर्न नसक्ने चर्चा समेत भइरहेको छ ।


डिजी अधिकारीले भने उक्त रकममा राजनीतिक नेतृत्वसमेत मुछिएको भन्दै शक्तिकेन्द्रलाई बचाईदिन आग्रह गरिरहेका छन् । हुन पनि १० अर्बभन्दा बढी रुपैयाँको लागत बढाउने कार्य राजनीतिक नेतृत्वको सहमतिविना संभव नभएको भन्दै मन्त्रालय र अख्तियारमा पनि चर्चा भइरहेको स्रोत बताउछ । त्यसैले, यो मुद्दा अख्तियारकै लागि पनि निकै चुनौती र महत्वपूर्ण बनेको पनि बताइन्छ । 


पोखरा विमानस्थल उद्घाटन भएपनि अन्तर्राष्ट्रिय उडान पनि सुरु भएको छैन् । चीनले बीआरआई अन्तर्गतको प्रोजेक्ट हो भन्ने भएपछि अन्य देशले पनि चासो राखेपछि यो विमानस्थल सञ्चालनमा अवरोध सिर्जना भइरहेको छ ।डिजी अधिकारीको विवादस्पद भूमिका रहेको र निर्णय पनि त्यसरी नै रहेका कारण उनी अहिले आफ्नो बचाउ र प्रचारमा लाखौ लाख खर्च गरेर मिडिया खपत गराउन थालेका छन् ।


 मिडियामा आफ्नो क्रान्तिकारी निर्णयहरुको भन्दै विभिन्न कामको प्रचार गराउनका लागि डिजी अधिकारीले लविङ गर्न थालेका छन् । अख्तियारको कारबाहीबाट बच्ने उपायका रुपमा पनि उक्त प्रयासलाई लिन थालिएको छ । 


देशको हित र भ्रष्टतन्त्रको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दृढ भएर कानून बमोजिम हिम्मत गर्ने हो भने १० अर्ब रुपैयाँमा भएको अनियमितताको ठूलो पर्दाफास हुने निश्चित छ । (साँघु साप्ताहिक, मंसिर ४)

प्रतिकृया दिनुहोस