• शनिबार-श्रावण-१२-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

चक्रव्युह, पूर्वीय संस्कृतिमा महाभारत ग्रन्थका स्रष्टाको परिकल्पना थियो ।
भिन्नभिन्न मुठभेड र भिन्नभिन्न भिडन्त वर्णन गर्दा
ग्रन्थका स्रष्टा अर्जुृन पुत्र अभिमन्युको मृत्यु निचोडमा पुग्छन ।
चक्रव्युह त्यहीँ बन्छ । 
चक्रव्युहमा अभिमन्युको मृत्यु पारिन्छ ।
र, महाभारतको कथा अघि बढ्छ । 
पूर्वीय समाज आज पनि महाभारतको ग्रन्थका भिन्नभिन्न पात्रमा हिंड्छ ।
र, वाचन पनि हुन्छ ।
किनकि समाजको लामो विकासकम्रमा युद्ध अवश्यम्भावी छ ।
र, चक्रव्युह पनि ।
मानवीय सभ्यतामा मान्छेहरुलाई कथावाचन पनि मन पर्दछ । 
र, युद्ध पनि ।
नेपाली राजनीतिको विकासक्रमको आजको बिसौनीमा बसेर हेर्दा
जनआन्दोलनमार्फत परिवर्तन गर्नेहरु मात्र होइनन्
सशस्त्र संघर्षको जनयुद्ध गर्नेहरु पनि
सबका सब महाभारत पात्र जयद्रथका सिकार भएका छन ।
अभिमन्युको मृत्युमा महाभारत टुङ्गिएको पनि होइन । 
न त उनी मर्दा नै महाभारत युद्ध रोकिने नै हो ।
लेखकहरु महाभारत ग्रन्थमा चक्रव्युहलाई हजारौ मध्येको एक बिसौनी बनाउँछन ।
आज पनि पूर्वीय जीवनमा यसको मञ्चन बिसौनीहरुमा भइरहेका छन ।
स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय शासन पद्धतिका लागि लड्ने जति
सबका सब क्रान्तिकारी र परिवर्तनका संबाहक भए ।
तर, तिनले द्रोण पनि पढ्न पाएनन् र दुर्याेधनका पुत्र लक्ष्मण नै जान्न पाए ।
नेपालका जनआन्दोलनहरु मात्र होइन परिवर्तनका सारा प्रपञ्चहरु
चक्रव्युह कै रचना थिए ।
न बहुदलीय व्यवस्था ल्याउन आन्दोलन गर्नेहरुलाई पत्तो थियो 
न जनयुद्ध गर्ने माओवादीहरुलाई यसको ज्ञान ।
सबका सब माफियाका प्यादा थिए ।
राजनीति गर्छु भन्नेहरु हुस्सिएको कुइनेटो नै यै थियो ।
जात्रामा भिन्न अवतारको मकुण्डो लाएर नाच्ने लाखे देखेर
जत्रालुहरु मोहित हुन्छन ।
नेपालमा परिवर्तन ल्याएको भन्ने अवतारे लाखे देखेर
भुँइ मान्छे नेपालीहरु जत्रालु झै मोहित पक्कै भएका हुन ।
नेपालको सन्दर्भमा लाखे र जत्रालु दुबैलाइै थुन्ने खोर थियो
परिवर्तनको अवतारे चक्रव्युह ।
चक्रव्युहमा सित्तिमिति फर्किने बाटो हुन्न ।
गेमिङमा जस्तै अज्ञात शत्रुसित भिडिरहनु पर्दछ ।
नेपालमा परिवर्तनकारीहरु भिडिरहे, लडिरहे ।
कतिखेर जयद्रथ पछाडिबाट आक्रमण गर्छन, पत्तो हुन्न ।  
अभिमन्यु गुम्सिएर मरेका होइनन, महाभारतमा ।
पछिल्तिरबाट आक्रमण भएको हो ।
मुलुकको परिदृश्यमा रक्तविज जयद्रथहरु पलाएका छन ।
सरकारको लागि शिक्षा विधेयक र सामुदायिक स्वास्थ्य काउसो भएका छन ।
सामुदायिक विद्यालयको व्यवस्थापन सच्याउन खोजेको मात्र हो, सरकारले ।
धेरैको सुरुवाल भिज्न पुगेको छ ।
सामुदायिक अस्पताल सच्याउन मात्र खोजेको हो, सरकारले ।
धेरैको कन्दन चुँडिन्छ ।
खोलानाला दोहन गर्ने देखिन सार्वजनिक यातायातसम्मका माफियाहरुलाई
चोर औंला उठाएर प्रश्न गर्नै भ्याइएको छैन ।
सबलाई आफ्नो हैसियत र बलबुताको ज्ञान समेत भएको छ ।
कम उमेरमा सर्वश्रेष्ठ धर्नुधारी भएको अभिमन्युको मरण पुष्टि गर्न
महाभारतका स्रष्टाहरुलाई थुप्रै मुडभेड सिर्जना गर्नु पर्दथ्यो । 
चक्रव्युह एउटा अभेद्द निशाना बन्यो । 
अभिमन्यु महाभारतमा त्यसै मारिएका होइनन् ।
महाभारत कथाको रोचकता र रोमाञ्चकता दुबैको चोट थियो, चक्रव्युह ।
मुलुकको आजको चक्रव्युहमा कसैलाई लाग्दो हो
कसैको मृत्युमा मुलुकको कथानक टुङ्गिन्छ
मित्र,
सामाजिक विकासक्रममा महाभारत कथा वाचन भइरहन्छ ।
किनकि युद्ध अवश्यम्भावी छ । 
कसैलाई मन परोस् मन नपरोस् ।
युद्ध रोमाञ्चक छ । 

प्रतिकृया दिनुहोस