• शनिबार-श्रावण-१२-२०८१

महिला भलिबलको उपाधि पुलिसलाई : पुरुषतर्फ गण्डकी र पुलिस भिड्ने

कास्की,  : पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।

 

    पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा असाेज १ गते सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३-१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।

 

    नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८-२५, २५-२२, २५-१४ र २५-२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
    


    च्याम्पियन बनेको पुलिसले उपाधिसहित नगद रु एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले रु एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

 

    यसअघि लिग चरणको खेलमा पुलिसले सबै खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै रु ५० हजार एक सय ११ पुरस्कार पायो ।

 

महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यू डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

 

    यसैबीच प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल आज रोकिएको छ ।

 

फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि असाेज १ गतेका लागि खेल रोकिएको थियाे  । पुरुषतर्फको फाइनल खेल असाेज २ गते मङ्गलबार बिहान हुने आयोजकले जनाएको छ ।

 

पुरुषतर्फ लिगको अन्तिम खेलमा असाेज १ गते गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिससँग नै फाइनल खेल्ने गरी स्थान पक्का गरेको थियो ।

प्रतिकृया दिनुहोस