• सोमबार-कार्तिक-१२-२०८१

भारत सरकारको अनुदानमा निर्माण बूढानीलकण्ठ धर्मशालाको उद्घाटन

 

काठमाडौँ, २० असार (रासस) : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गर्नुभएको छ ।

 

भारत सरकारको करिब रु पाँच करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो । सो अवसरमा उहाँले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले पु¥याएको सहयोगको सराहना गर्नुभयो ।

 

समारोहमा प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल, बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।

 

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो । विसं २०७२ को भूकम्पले क्षति पु¥याएका सम्पदाको संरक्षण एवं पुनःनिर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिकाबमोजिम बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माण भएको हो ।

 

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) र सहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो । नवनिर्मित साढे तीनतले धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने तीर्थयात्रीलाई सेवा दिनेछ । 

 

भारत सरकारले नेपालको सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनःनिर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घर पुनःनिर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा एक सय ३२ वटा स्वास्थ्य सुविधा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेको छ ।
–––
 

 

प्रतिकृया दिनुहोस