• बिहीबार-बैशाख-१३-२०८१

भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु

 

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुईदिन हुनेछ । 

 


प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा वढी प्रतिस्पर्धीहरु प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको जनाइएको छ । 

 


टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो । ग्वाछाको करिब महिना दिनअघि अल्पआयुमै निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । 

 


प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । 

 


भक्तपुर युवा टीम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टिम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका खेलकुद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्री, आयोजक टीमका अध्यक्ष केशव त्वानाबासु, पूर्व अध्यक्षहरु, मृतक ग्वाछाका सुपुत्रलगायतले खेलका विविध पक्षबारे चर्चा गरेका थिए ।
 

प्रतिकृया दिनुहोस