• मंगलबार-बैशाख-११-२०८१

मुलुकको आर्थिक सङ्कटको समाधान गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

 

काठमाडौँ, १८ चैत (रासस) : नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

 

आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक सङ्कट र मिटरब्याजपीडित नागरिकका समस्या सम्बन्धमा छलफल गर्दै ती समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

 
बैठकले मौद्रिक तरलताको सङ्कट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरूको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र कायम राख्नसमेत सरकारसँग माग गरेको छ ।

 

“मिटरब्याजबाट पीडित नागरिक काठमाडौँ आई धर्नामा बसेको र उनीहरू शारीरिक एवं मानसिक पीडाका कारण बिरामी पर्दै गएको स्थितिप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ”, महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रचलित कानुन र वित्तीय प्रणालीका मान्यताविपरीत सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटरब्याज असुल गर्नु गैरकानुनी हो । यस सम्बन्धमा सार्वजनिक भएका कतिपय घटना अमानवीयसमेत छन् ।”

 

बैठकले मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिले घर–जग्गा गुमाउनुपरेको, कतिपयले मुद्दा–मामिला व्यहोर्नुपरेको, कतिपय जेलमा परेको, कतिपयले घर छाड्न बाध्य हुनुपरेको र कतिपय बालबालिकाले पढाइसमेत गुमाउनुपरेको यथार्थले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादोन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्तकै उपहास गरिरहेको निष्कर्ष निकालेको छ ।

 

“हाम्रो पार्टी यस समस्याको दिगो समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गर्दछ । प्रचलित कानुनविपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठह¥याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “यस्तो काममा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न, उनीहरूले झुक्यानमा पारी कब्जा गरेका जग्गा–जमिन पीडितलाई फिर्ता गराउन र यस विषयमा मुद्दा लगाएर जेलमा थुनिएका या फरार हुन बाध्यहरूलाई उन्मुक्ति दिन माग गर्दछ ।”

 

एमालेले स्थानीय पालिकाका न्यायिक समितिमा पीडितको गुनासो सुन्ने, विवरण सङ्कलन गर्ने र त्यसका आधारमा सरकारले आवश्यक कानुनी कारबाही अगाडि बढाउने व्यवस्था गर्नसमेत माग गरेको छ । बैठकले मुलुकको अर्थतन्त्र सबै क्षेत्रमा सङ्टग्रस्त बन्दै गएको, व्यापार घाटा निरन्तर बढ्दो र राष्ट्रिय उत्पादन निरन्तर ओरालो लागिरहेको निष्कर्ष निकालेको छ ।–––
 

 

प्रतिकृया दिनुहोस