• शुक्रबार-बैशाख-१४-२०८१

‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा

 

काठमाडौँ, २ चैत (रासस) : सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

 

च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे ।

 

यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो ।

 

सातदोबाटोले पाँच खेलमा १२ अङ्क जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अङ्क छ ।
–––
 

प्रतिकृया दिनुहोस