काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा कार्यकारी निर्देशकको विवाद चर्किन पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले दैलेखका दीपक कुमार थापालाई चार वर्षका लागि नाथमको कार्यकारी निर्देशक नियुक्त गरेका थिए । उनले नाथममा प्रबिधिको क्षेत्रमा उल्लेखनीय काम गरेर सुधार गरेको बताइएको छ ।
तर, नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका प्रेम बहादुर आलेले राम्रो काम गर्दागर्दै थापालाई अढाइ वर्षमै हटाएर पर्यटन क्षेत्रमा खासै ज्ञान नभएका २४ (घ) का विवादस्पद उपसचिव राजेश उप्रेतीलाई नाथमको सिईओमा नियुक्त गरेका थिए । राज्यमन्त्री सरहको सेवा सुविधा रहेको नाथमको कार्यकारी निर्देशक एकेडेमिक व्यक्ति पठाउनु पर्नेमा मन्त्री आलेले राम्रै थैली बुझेर उप्रेतीलाई चार वर्षको लागि नियुक्ति दिएको स्रोतले जानकारी दिएको छ । यस अघिका मन्त्री जीवनराम श्रेष्ठले हिंड्ने बेलामा उप्रेतीलाई हटाएर सर्लाहीका नारद लुइँटेललाई नियुक्त गरेको बताइन्छ । त्यस विरूद्व उप्रेतीले पाटन उच्च अदालतमा उत्प्रेषणको मुद्दा दायर गर्न पुगेका थिए ।
अदालतले उप्रेतीका पक्षमा अन्तरिम आदेश दिएपछि उनी थमौती भएका छन् । अन्तिम फैसला के हुन्छ, हेर्न बाँकी नै छ । २०८० जेठमा ५८ वर्ष उमेर पुगेर उनी अनिवार्य अवकासमा जाँदैछन । उनी निजामती सेवाबाट अवकास भए पनि नाथममा भने चार वर्ष नै कार्यकारी हुनेमा ढुक्क जस्तै थिए । अर्ध सरकारी निकायमा पनि उमेर हद ५८ वर्ष नै मानिएको छ । तर उप्रेतीले भने मेरो पद राजनीतिक हो भन्दै हिंडेको नाथम स्रोत बताउँछ ।
उता, पूर्व मन्त्री जीवनरामले नियुक्ति गरेका चाहिं तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका छन् । तारा गाउँमा सदस्य सचिव रहँदा उनले ह्यात रिजेन्सी होटलले अतिक्रमण गरेको १ सय ५० रोपनी जग्गाको विवरण सार्वजनिक गरेका थिए । साथै उनले कारवाही प्रकृया अगाडि बढाएर सरकारी जग्गा संरक्षण गरेकोमा जनस्तरबाट बाहीबाही कमाएका थिए । उनलाई नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा २०७८ फागुन २६ गते पुनः सदस्य सचिवमा नियुक्ति दिइएको थियो । तर मन्त्री आलेले आफू हिड्नु भन्दा एक महिना अगाडि लुइँटेललाई हटाएर २०७९ जेठ ३१ गते महेन्द्र बहादुर थापालाई सदस्य सचिव र सुरेशराज जोशीलाई अध्यक्षमा नियुक्ति दिएका थिए ।
पार्टीले लुइँटेललाई नै निरन्तरता दिन सिफारिस गरे पनि आलेले अटेर गरी थापालाई नियुक्ति दिलाएको बताइन्छ । नेकपा (एस) ले आलेलाई मन्त्रीबाट हटाएर ०७९ असार २९ मा श्रेष्ठलाई मन्त्री बनाएको थियो । श्रेष्ठले भने पार्टी सिफारिस अनुसार लुइँटेललाई पर्यटन क्षेत्र बुझेको र अनुभवी भनी नाथमको कार्यकारी निर्देशकमा नियुक्ति गरेको बताइएको छ । तर, उप्रेतीले पद नछाडेपछि अहिले लुइँटेल पेन्डुलम बनेर बसेका छन ।
नाथममा उनले खासै काम गर्न पनि सकेका छैनन् । यो आर्थिक वर्षका खरिद प्रकृयाका काम भने भ्याई सकेका छन् । कमिशन रकम कुम्म्ल्याएर उनी मन्त्रालय फर्किन तरखरमा रहेको स्रोत बताउँछ ।
प्रतिकृया दिनुहोस