• शुक्रबार-बैशाख-७-२०८१

चिफसा’ब, यस्तै छ, एमटीको कथा–व्यथा 

श्रीमान् प्रधानसेनापतिज्यू, आज जागिरको १८औं बसन्तमा चल्दै गर्दा आफूले भोगेका र आफूले देखेका केही विकृतिहरु यसै पत्रिकामार्फत पु¥याउने आँट गरेको छु । गल्ती भए माफ पाउँ । 
 प्रधानसेनापतिज्यू, म मध्यपृतना अन्तर्गत इन्फेन्ट्री बलानीयनमा कार्यरत एक जवान हुद्दा हुनाको साथै नेपाली सेनाका कर्मठ, बफादार सैनिक र एक चालक पनि हुँ । आजको मितिसम्म मैले कुनैपनि गल्ती कमजोरी  गरेको छैन र गर्न‘ पनि छैन । सदैव संस्था र राष्ट्र हितको लागि आफूभन्दा माथिल्लो कमाण्डरको आदेश सिरोपर गरिरहेको छु । 


खै आज जागिर छाड्ने मनस्थिति भएर हो कि किन हो आफूले देखेको र भोगेको कुराहरु मनमा उकुसमुकुस भएर होला सायद यस पत्रिकामा प्रस्तुत गर्ने आँट गरेर यसमा गल्ती गरे कि सही गरे आफूभित्रका भोगाई र विकृतिलाई चिफसाब समक्ष पु¥याउने सरल उपायको लागि यस साँघु साप्ताहिक पत्रिकाको सहारा लिएको छु । 


 सेनापतिज्यू नागरिकको कर्तव्य पूरा गर्ने क्रममा नेपाली सेनाको जंगी अड्डा नजिक रहेको एमटी गणमा तालिम गर्ने अवसर पाएँ । गणमा उत्कृष्ट र अनुशासित छवि बनाउन सफल भएर होला २०६६ सालमा एमटी गणमा चालक तालिम पूरा गरी त्यसै गणमा गाडी सिक्ने र अभ्यास गर्ने अवसर मिल्यो । केही वर्ष त्यहींँ काजमा बस्ने अवसर पाएँ । 


त्यस गणका अधिकृत पदिक र अरु सहकर्मीसँग घुलमिल हुँदै एक कुशलल चालक बन्ने अवसर भयो । २०७१ सालमा कंगो मिशनमा चालकको जिम्मेवारीमा शान्ति सेनामा सहभागी भएँ । नेपालीमा तालिमको सिलसिलामा विभिन्न युनिटहरुमा जाने र चालकको रुपमा धेरै गण र गुल्ममा जाँदा प्राय धेरै कुराहरुको अनुभवहरु प्राप्त गरे । यसै सिलसिलामा आफ्नो काम विशेषले अर्थात एक कुशल ड्राइभर हुनाको नाताले एमटी गणमा अन्यत्रभन्दा धेरै समय बस्ने र त्यहाँ चालकहरुको आत्मीयता र जीवन भोगाईहरु बुझ्ने मौका मिल्यो । 


प्रधानसेनापतिज्यू, आज नेपाली सेनाले शान्ति सेना हेभी ड्राइभरको ट्रायल परीक्षाको मिति र विभिन्न नीतिनियम परिपत्र गर्दा मलाई त्यस गणमा सेनानी राजेश थापा र सेनानी दिलीप केसीको उपस्थितिले त्यस ठाउँमा चालकको रुपमा परीक्षा दिने उर्जा नै आएन । 


हुनतः सेनानी राजेश थापा त शान्ति सेना ट्रायल परीक्षामा लाखौं रकम चालकबाट उठाएको र संस्थाको आचरण धमिल्याएको पुष्टि भएर जागिरबाट विदा भइसक्नु भएको पनि ४, ५ वर्ष भयो होला । तर, सेनानी राजेश थापाभन्दा पनि खुँखार सेनानी दिलीप केसी त्यस गणमा रहेसम्म मेरो पाइला ट्रायल परीक्षामा सरिक हुने उर्जा नै आउँदैन खै किन हो ? 


  गत साल जेष्ठ महिनामा शान्ति सेना ट्रायल परीक्षामा कयौं चालकहरुसँग पैसा उठाएर लेनदेनको हिसाब मिलाउने र पासलाई फेल र फेललाई पास बनाउन सक्ने खुबी भएका सेनानी दिलीप केसीसँग माथिल्लो तहको जर्साब र कर्साबसँग घनिष्ठ र नजिकको सम्बन्ध छ भन्ने कुरा सूचना पाएका छौं । मैले पनि पहिलो शान्ति सेना हेभी चालकको रुपमा कंगो देशमा डिउटी सफलतापूर्वक पूरा गरी सेफ ड्राइभिङ सर्टिफिकेट प्राप्त गरेको पनि ७÷८ वर्ष बितिसक्यो । 


आफ्नो युनिटमा पनि यसै हेभी गाडीमा अहोरात्र आफ्नो डिउटी र जिम्मेवारी बहन गरेको छु । तर गत जेठमा शान्ति सेना हेभी ट्रायल परीक्षामा सबै तहका परीक्षामा उत्तीर्ण हुँदा पनि शान्ति सेना जना योग्य चालक नहुनु अर्थात मेजर दिलीपले मागेको रकम २ लाख आफूले दिन नसक्नु नै मेरो शान्ति सेना जाने फलामे गेटमा भोटे ताल्चा लाग्नु स्वभाविकै थियो । त्यसकारण खै किन हो कुन्नि आज मलाई दोस्रो पटक शान्ति सेना ट्रायल परीक्षामा सहभागी हुन भित्री मनदेखि नै उर्जा आएको छैन । गइहाले पनि उहाँको नजर पर्नासाथ असफल हुन्छु होला भन्ने मनमा शंका र उपशंकाले डर पैदा गराउँछ । 


हुन त सोही गणका चालक पनि धेरै पास भएकाहरुको नाम नअटाएको भन्ने सुनेको छु । किनभने एमटी गणका चालकले प्राय कसैलाई घुस दिन मान्दैनन् । किनकि बरु आफूले चिनेको अधिकृतलाई अनुरोध गर्दछन्, त्यसैकारण पनि एमटी गणका अधिकांश चालकहरु शान्ति सेना जान असफल भएका छन् । म एउटा अट्न सकिन भनेर पनि त्यति गुनासो त छैन । तैपनि यस्ता बेथिति र विकृतिहरुको निराकरण होला कि भन्ने आशामा आज यस पत्रिकामार्फत चिफसाब समक्ष पुगोस् भन्ने चाहना छ । अर्काे कुरा एमटी गणमा अचम्म त के कुरा छ भने जहाँ चालक नपुगेर दिउँसो १० बजेदेखि २ बजेसम्म अधिकांश पोष्टमा भएका सेन्ट्री डिउटीलाई पोष्ट खाली गराई गाडीको चाबी थमाई तत्काल गाडी लिएर देशको विभिन्न युनिटहरुमा खटाइन्छ  र त्यस खाली रहेको सेन्ट्री पोष्ट तिनै गाडी लिएर विभिन्न युनिटमा आफ्नो डिउटी पूरा गरी फर्किनासाथ सेन्ट्री पोष्टमा पुनः सेन्ट्री तैनाथ हुन्छन् । 


त्यसै गणमा अधिकांश जेसीओ र अन्य दर्जाको दरबन्दी पनि कटौती भएको छ । यहाँभन्दा अचम्म त अरु के होला मान्छे भए पोष्ट्रमा सेन्ट्री चाहिने, नभए पोष्ट खाली गर्दा नि हुने, फेरि अति संवेदनशील जंगी अड्डाको कम्पाउन्डमा । के सुरक्षा र सहजताको लागि गणका कमाण्डरले गणको नफ्री बढाउने प्रस्ताव माथिल्लो निकायमा गर्ने हो कि नजिकको युनिटहरुलाई कम्पाउण्डको सेन्ट्री सुरक्षा दिने हो । 


   यति कुरा पनि मातहतका निकाय र जर्साब समक्ष प्रस्ताव नगर्नु भनेको करोडौंको सवारीको क्षति गराउनु नै हो । किनकि एउटा चालकलाई गाडीको चाबी दिएर पठाउनु अगाडि उसको स्वास्थ्य अवस्था र चालक राती कम्तीमा पनि ५/६ घण्टा सुतेको छ कि छैन, खाएको छ कि छैन त यकिन हुनुप¥यो नि हैन र ? राति १२ बजेदेखि ३ बजेसम्म सेन्ट्री बसेको चालक बिहान ४, ५ बजे ट्रक लिएर पूर्वपश्चिम  पठाउँदा के संस्थालाई खतरा छैन ?


 एउटा चालक गुमाउँदा कम्तीमा पनि ५÷७ वर्ष लाग्छ कुशल चालक उत्पादन गर्न । अनि करोडौंको गाडी दुर्घटनामा क्षति भयो भने यसको जिम्मेवार को ? तसर्थ मैल पटक पटक यस गणमा तालिम गर्दादेखि डिउटी र काज बस्दासम्मको यस गणको आफूले देखेको र भोगेको अनुभवलाई आज जानी नजानी यसपत्रिकामार्फत चिफसाब समक्ष पु¥याउने आँट र साहस गरेको छु । यस विषयमा सत्यतथ्य सोही गणमा गएर यथार्थ जानकारी हुनेछ भन्ने मेरो मनमा उकुसमुकुस भएर छछल्किएको गुनासाहरुलाई एमएमार्फत चिफसाब समक्ष पु¥याउने साहस गरेको छु । गल्ती भए माफ पाऊँ ।                निवेदक : इन्फेन्ट्री बटालियनमा कार्यरत हुद्दा चालक
 

प्रतिकृया दिनुहोस