• शुक्रबार-बैशाख-१४-२०८१

जीवनलाई हेर्ने दृष्टिकोण बारे जान्ने कि ? 

 

जीवन आफै उज्यालो हो अनि दुर्लभ पनि । किनकि जीवनलाई सबैले उज्यालो कै रुपमा लिएका हुन्छन् । जीवनमा उज्यालो आफै आउने होइन, आफैले बनाउनु पर्दछ । त्यसकारण मानिस अहोरात्र खटिइरहेको हुन्छ । परिश्रम गरेकै हुन्छ । जीवन चलाउन उसले भौतिक बस्तु प्राप्त गर्न अनेक प्रयास गरेको हुन्छ । केही प्रयत्न नगर्ने हो भने जीवन कसरी चल्न सक्छ र ? जीवन धान्न, चलाउन वा बचाउन पनि मानिसले केही न केही गर्नै परेको हुन्छ । अकर्मन्य भएर बस्नु भनेको जीवनको अर्थ नबुझ्नु हो । जीवनलाई चलायमान बनाउनु पर्दछ । तबमात्र जीउन सहज हुन सक्दछ ।


अर्को पक्ष हो जीवनको दुर्लभता । जीवन प्राप्त गर्नु त्यति सजिलो पनि हुँदैन । यो ब्रम्हाण्डमा जीवको उपलब्धता हुने भनेको पृथ्वीमा मात्र हो । अहिले सम्मको अध्ययनबाट जीवको वासस्थान पृथ्वीमात्र हो । अन्य ग्रहमा छ भन्ने कुरा प्रमाणित हुन सकेको छैन । यसकारणले गर्दा पनि जीवनको महत्व बढ्दै गएको छ । दुर्लभ यस अर्थमा छ कि जीवन पाउनु यो पृथ्वीमा मात्र हो, अन्यत्र होइन । सबै जीवले मानिसको जस्तो जीवन पाउन सक्छन् भन्ने पनि होइन ।


 सबै मानिसमा एकै प्रकारका गुणहरु पनि हुँदारहेछन् । बुझ्नु पर्ने कुरा के रहेछ भने जन्मिदा सबै मानिस एकदम राम्रा हुन्छन् । असल हुन्छन् । सबैको स्वभाव एकै प्रकारको हुन्छ । पछि गएर उनीहरुमा खराब आचरणले प्रवेश पाउँदो रहेछ । लोभ, पाप, घृणा, ठगी जस्ता कुराहरुलाई मानिसले महत्व दिंदो रहेछ । यी कुराहरुले उसको जीवनलाई कुमार्गतिर धकेल्न पनि सक्दो रहेछ । आफूसंग भएका राम्रा गुण तथा विचारलाई आत्मसात गर्न सक्यो भने निश्चय नै यो पृथ्वीमा जन्मलिनुको सार्थकता होला, अन्यथा मानिसले बाटो बिराउन पनि सक्छ ।


मानिसले आफ्नो बुद्धिलाई सही मार्गमा लान नसकेको हुँदा अहिले मानिस ज्यादै निर्दयी बन्दै गएको छ । यसो हुनुमा मानिस बाठो हुनु पनि हो । जो मानिस बाठो छ, चतुर छ, जालझेल, ठगठाग गर्न सक्दछ उही नै समाजमा प्रतिष्ठित भएको देखिन्छ । जसले आफ्नो पसिना बेचेर जीवन धानेको हुन्छ, उसलाई कसैले पनि पुछेको हुँदैन । पसिना बेचेर जीवन धान्ने व्यक्ति जहिले पनि सन्तोषी हुन्छ । उसले परिश्रममात्र गर्न जानेको हुन्छ । अरु कुराहरुले उसलाई त्यति मत्लब राखेका हुँदैनन् । जीवन भनेको आफ्नो लागि हो र आफैले केही गर्नु पर्दछ भन्ने भावनाले काम गरेको हुन्छ । अर्को तर्फ हेर्दा केही यस्ता मानिस हुन्छन् जसले सारमा जीवनको अर्थ बुझेकै हुँदैनन् । मान्छे भएर पनि उनीहरुमा हिटलरमा जस्तो प्रवृत्ति विकास भएको हुन्छ । राजा मिदासमा जस्तो लोभले बास गरेको हुन्छ । यस्ता व्यक्तिहरुमा क्रुर्रता र लोभ हुन्छन् । 


भनिन्छ मानिसलाई यस्तो विकृति ल्याउन यो पृथ्वीमा प्रकृतिले अनुमति दिएको हुँदै होईन तर त्यस्तै भई रहेछ । हत्या, हिंसा, छलकपट जस्ता दुर्ग‘णहरुलाई उसले आत्मसात गरी आएको छ । यिनै दुर्गुणहरुको प्रयोगबाट उसले आफूलाई सम्पन्न बनाएको पनि देखिन्छ । मानिसमा भएको ठूलो दुर्गुण भनेकै उसले जहिले पनि क्षणिक फाईदा हेरेको हुन्छ । क्षणिक फाईदा तथा आनन्दले उसलाई दीर्घकालीन फाईदा दिन सकेको हुँदैन । किनकि क्षणिक भन्नु नै एकै छिनको लागि हो । 


 मानिसमा के भ्रम हुँदो रहेछ भने ऊ निरन्तर यो धर्तीमा रहिरहने हो । उसलाई जीवन र जगतको विषयमा सोच्ने मौकै हुँदो रहेनछ । जहिले पनि कसरी धन कमाउने र आफू सर्वश्रेष्ठ हुने ध्यानमात्र । त्यसैले मानिस कहिले पनि सर्वश्रेष्ठ हुन पनि सक्दो रहेनछ । किनभने उसका अगाडि असंख्य अरु मानिसहरु पनि त अघि गएकै हुन्छन् । एउटालाई उसले उछिन्न सक्ला तर सबैलाई भने उछिन्न सकेको हुँदैन । केही गरेर केही मानिसलाई पछि पारे पनि पछि परेकाहरुले  पनि उसलाई उछिन्न सक्ने हुन्छन् । त्यसकारण मानिसले यस्तो नराम्रो प्रतिष्पर्धा गर्नै हुँदैन । बरु प्रतिस्पर्धा गर्नुको सट्टा जीवनको अर्थ बुझ्नु पर्नेतर्फ लाग्नु पर्दछ ।


जीवन अनौठो 
जीवन यस्तो अनौठो विषय रहेछ, जीवन अघिका कुरा पनि थाहा हुँदो रहेनछ र जीवन पछिका अर्थात मृत्यु पछि के हुन्छ भन्ने पनि अत्तोपत्तो हुँदो रहेनछ । त्यसैले गर्दा जीवन र मृत्युबारे जान्न खोज्दा पनि बुझ्न सकिदो रहेनछ । हाम्रा शास्त्रहरुमा मानिसको पूर्वजन्म र पुनर्जन्म हुन्छ भन्ने कुरा पढ्न पाइन्छ र जसले राम्रो काम गरेको हुन्छ, ऊ सजिलैसंग स्वर्ग गएको हुन्छ भन्ने पनि पाइन्छ । स्वर्ग र नर्क भनेको राम्रो र नराम्रो काम नै हुन् । राम्रो काम गर्न सकियो भने हामी पुस्तौंपुस्तासम्म पनि अरुको नजरमा रहन सक्दछांै । यदि राम्रो काम गर्न नसकेको अवस्थामा त नर्क समान नै हुन्छ । अर्थात कसैले हामीलाई सम्झन सक्दैनन् र घृृणाको पात्रमात्र भइन्छ । त्यसैले यो धर्तीमा जति बाँचिन्छ त्यतिसम्म आफूूूूलाई अब्बल बनाउन सक्नु पर्दछ ।


जीवन बारे विभिन्न जिज्ञासा आउने गर्दछन् किनकि यो भनेको कसैले जान्न र बुझ्न नसकेको विषय हो । यसको ठोस परिभाषा एवं अर्थ पनि कसैले दिन सकि रहेका छैनन् । जीवन के हो भनेर कुनै साधारण पनि छन् । यसरी प्रत्येक मान्छे प्रत्येक परिभाषा भएको पाइन्छ । त्यसकारण जीवनको अकाट्य परिभाषा भएको देखिदैन । तर पनि जीवनलाई मानिसको क्रियाकलापमा भने जोडिएको पाइन्छ । निचोडमा के भन्न सकिन्छ भने जीवन एउटा यस्तो अनौठो विषय रहेछ जुन जन्म र मृत्युसंग सन्निकट हुँदो रहेछ । यस अर्थमा भन्नु पर्दा जीवन भनेको जन्म र मृत्युको बिचको अवधि हो, जुन अवधिमा मानिसले अनेक कार्य गरेको हुन्छ । समष्टीमा भन्नु पर्दा यही नै जीवन हो । अर्थात् जीवन भनेको एउटा डोरीको एक छेउ र अर्को छेउको जति लम्बाई छ, त्यहीभित्र गरिने विभिन्न गतिविधि हुन् ।


जीवन भनेको मानिसको खुसीसंग पनि त्यत्तिकै टाँसिएको हुन्छ । मानिस खुसी हुन सक्यो भने निश्चय नै उसले जीवनको अर्थ बुझेको हुन्छ । खुसी भनेको सुख, आनन्द, विलासिता, ऐस, आराम भन्न खोजिएको होइन । यिनीहरुले त मान्छेलाई झनै तृष्णा बढाउने काम गरेका हुन्छन् । जीवनको खुसी भनेको त अन्तर्मनबाटै आनन्द प्राप्त गर्नु हो । भौतिक सुख भनेको त अस्थायी हुन्छन् । आज हुन सक्छन्, भोलि नहुन सक्दछन् । त्यसैले स्थायी सुख खोज्नेतिर लाग्नु पर्दछ । त्यो भनेको आफूले आफैभित्र खोज्ने हो ।


जीवनलाई खुसीसंग दाँजेर पनि हेर्न सकिन्छ । अधिकांश हामी नेपाली खुसी छौं । जे जस्तो आई परेपनि हामी सजिलैसंग पचाई दिन्छौं । हामीसंग सहन सक्ने क्षमता छ । निम्न कोटीमा रहेर पनि हामी बाँच्न सक्दछौं । हामीसंग जे जति छ त्यसैमा रमाउन सक्दछौं । त्यसैले होला अघिल्लो वर्ष अन्तर्राष्ट्रिय संगठनले गरेको अध्ययनमा दक्षिण पूर्वी एशियामा नेपाल सबभन्दा खुसी हुने मुलुकमा पर्न गएछ । यसबाट के पुष्टि हुन सक्छ भने गरिब मुलुकमा बसेर पनि हामी नेपाली खुसी हुन कसरी सक्यौं, सबैको लागि यो आश्चर्य नै हुन गएको छ ।


मानिसको सबैभन्दा ठूलो दुर्गुण
 मानिस जीवनको सारभूत विषयतिर लागेकै हुँदैन । ऊ जहिले पनि भौतिक सुख सुविधा प्राप्त गर्नेतर्फ नै लागेको हुन्छ । चरम भौतिक लाभ प्राप्त गरेर सुख प्राप्त गर्न चाहेको हुन्छ । यो हुँदै होईन । मानिसले जीवन बारे ज्ञान प्राप्त गरेर आफू संतुष्ट हुन सक्दछ तर भौतिक सम्पत्ति आर्जन गरेर ऊ कहिले पनि सन्तुष्ट हुन सक्दैन । यो बुझ्न नसक्नु नै मानिसको सबभन्दा ठूलो दुर्गुण हो ।


मैले आफ्नै आँखाले देखेको छु कतिपय मानिसहरु धन सम्पत्ति संग्रह गर्नको लागि गर्न नहुने काम गरेर र गर्नुपर्ने काम नगरेर पनि सम्पत्ति जोडेकै छन् । उनीहरु सँधै बेखुसी नै देखिन्छन् किनकि उनीहरुलाई धन सम्पत्तिबाट कहिल्यै पुगेको हुँदैन । चार पाँच ओटा घरले उनीहरुलाई पुगेको हुँदैन । अथाह सम्पत्ति भएर पनि अझै जोड्नु परेको छ । जहिले पनि अभावकै कुरा गरेका हुन्छन् । झुटको खेती गर्न सक्छन्, अरुलाई दुःख दिन सक्छन्, अरुलाई रुवाउन सक्छन्, अनि आफू सम्पन्न हुन्छन् । यसो गर्दैमा मानिस कहिल्यै पनि सुखी हुन सक्दैन । तृष्णा भन्ने चिज मानिसमा यसरी जकडिएर बसेको हुन्छ कि ऊ कहिल्यै पनि तृप्त हुन सक्दैन । त्यसैले यो अनुपम जीवनमा अन्तर मनबाटै सन्तुष्टी हुन सक्नु पर्दछ । यो नै जीवनको सफल पक्ष होे । (पराजुली नेपाल सरकारका पूर्वउपसचिव हुन्)
 

प्रतिकृया दिनुहोस