• आइतबार-असार-२२-२०८२

कास्की–२(१) मा एमालेका कार्की विजयी, अहिले सम्म अरु क्षेत्रमा को को विजयी भए ?

 

कास्की, ७ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । 

 

पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो । 

नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू  दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याउनुभएको छ । 

 

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

 

उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिनुभयो । एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ ।


यसैगरी बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।

 

मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित

पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाउनुभयो ।
 

 

काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (२)मा नेकपा (एमाले)का  उम्मेदवार प्रकाश श्रेष्ठ विजयी 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२)को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार  लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ । ---

 

बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी

बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ ।

थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गर्नुभएको छ ।

 

बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी 

बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी हुनुभएको छ । यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको थियो । यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ ।

बाँके क्षेत्र नं २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिनुभयो । ---

 

ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाको जित 

ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ ।

यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार दुई सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार छ सय ४१ मत प्राप्त गर्नुभयो ।

 

ललितपर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी
 

ललितपर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।

 


दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी

दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।

खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा (एमाले)का धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभयो । रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत ल्याउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।

 

काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस विजय

काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार एक सय ९६ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा दुवै प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा सदस्य (१) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (२) मा विमल ठकुरी विजयी हुनुभएको मतदान अधिकृत शाहीले जानकारी दिनुभयो ।---
 

रासस

प्रतिकृया दिनुहोस