• बिहीबार-बैशाख-६-२०८१

गन्दागन्दै सत्ता–समीकरणको संकेत र द्वन्द्व

 

मतपेटिकाको मत गन्दागन्दै स्थिरता, विकास र समृद्धिको हिमायती एमाले शक्तिशाली हुने कि उही निकम्मा गठबन्धनवालाले फेरि राज्यसत्ताको तालाचाबी पाउने भन्ने राजनीतिक द्वन्द्व, आशंका तथा अन्यौलताको भूमरीमा समेत नागरिक रहेका छन् । मुलुक बनाउने भिजन, मिसन, दृष्टि र योजना भएको एमालेका अध्यक्ष केपी ओली शक्तिमा फेरि आएको खण्डमा मुलुकमा राजनीतिक अन्यौल र अजराकता न्यून हुने अवस्था छ भने सत्ता गठबन्धनले बढीमत पायो भने फेरि उही गिद्दले सिनोको लुछाचुँडी गरेजस्तो सत्ताको लाम्टो चुस्नको लागि तँछाडमछाड हुने स्थिति बन्नेछ । चुनावपूर्व र चुनावको समयमा देखिएका अनेकौं हतकण्डा, हिंसा, धाँधली र सत्ताको दुरूपयोगले आशंका चाहिँ जन्माएका छन् ।


सत्ताको लुछाचुँडी कि स्थिरता ?
परमादेशी सेटिङबाट सूत्रपात भएको जनविरोधी गठबन्धनले बलियो मत पायो भने त्यो मुुलुक र नेपाली जनताको लागि अभिसाप हुनेछ । उता एमालेले बहुमत वा ठूलो दल हुनेगरी जनमत पायो भने चाहिँ मुलुकमा राजनीतिक स्थिरता, समृद्धि, प्रगति, विकास, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक स्वतन्त्रताले बढवा पाउने अवस्था प्रष्टै देखिन्छ । एमालेका अध्यक्ष ओलीको मुलुक बनाउने तीव्र चाहना, लक्ष्य, उद्देश्य तथा मनोकांक्षाले गर्दा नेपाली राजनीतिमा एउटा राम्रो सम्भावना देखिएको छ । त्यो भएन भने चाहिँ मुुलुकमा फेरि सत्ताको हानथाप र लुठाचुँडीले बढावा पाउने पक्का छ ।


एमाले आए के हुन्छ ?
एमाले र उसले तालमेल गरेका प्रतिनिधि विजयी भएको खण्डमा र बहुमत पायो भने मुलुकले एक हिसाबले राष्ट्रविरोधी तत्वबाट उन्मुक्ति पाउने अवस्था बन्न पुग्दछ । एमाले विजयी भएको खण्डमा अध्यक्ष ओली स्वभाविक प्रधानमन्त्री बन्ने हो । मुलुकले स्थिरता सहित प्रगति र विकास पाउने हो । प्रधानमन्त्री को हुने वा बन्ने भन्ने झगडा एमालेमा छैन । झगडा गर्ने र निजी स्वार्थ हावी भएका जनविरोधीहरू एमालेबाट बाहिरीसकेका छन् । पार्टी, जनता र संस्थाको हित नहेर्ने आफ्नो मात्र दुनो सोझ्याउने लोभीपापीले पार्टी छोडेपछि एमालेमा एक हिसाबमा राजनीतिक र सांगठानिक एकता देखिन्छ । प्रधानमन्त्रीको किचलो एमालेमा छैन ।


गठबन्धनले बहुमत पाए के हुन्छ ?
जनविरोधी, सत्ता गठबन्धनवालाले तिगडम, जालझेल र हिंसा मच्चाएर निर्वाचनमा अराजकता प्रदर्शन गरे । निर्वाचनपूर्वनै गोरखा, चितवनलगायतका जिल्लामा गठबन्धनको नाउँमा हिंसा, कुटपिट र राजनीतिक द्वन्द्वका अनेकौं घटना घटाए । सत्ताको चरम दुरूपयोग गरे । पद र पैसाको खोलो बगाए । यस्तो तरिकाबाट भएको निर्वाचनको मत परिणाम गठबन्धनको पक्षमा गएको खण्डमा पहिले त प्रधानमन्त्री को बन्ने भन्ने झमेला र झगडाले तीव्रता पाउने अवस्था छ । काँग्रेसमा तीन चार जना प्रधानमन्त्रीवाला उम्मेदवार देखिएका छन् ।

 

उता प्रचण्ड प्रधानमन्त्री बन्ने दुन्दुभी निर्वाचनपूर्व माओवादी खेमाले बजायो । दुई दर्जन भन्दा कम सिटमा उठेको ढेउवावाला माधव नेपाल पनि प्रधानमन्त्री भन्दै भोट माग्दै हिंडे । यसरी हेर्दा गठबन्धनले आवश्यक मत पायो भने त्यहाँ प्रधानमन्त्रीको लफाडा मच्चिने अवस्था छ । प्रत्यक्षको मतगणना सात दश दिनमा सकिने भएपनि समानुपातिक तर्फको समेत गन्दा मंसिरको अन्तिम सातासम्म लाग्ने कुरा यस अघिनै आयोगले अनुमान सार्वजनिक गरेको थियो । यसरी हेर्दा २०७९ माघसम्म नयाँ सरकार बन्नुपर्नेमा गठबन्धनले मत पायो भने नयाँ सरकार बन्ने कुरा नयाँ वर्ष २०८० को वैशाखसम्म पुग्न सक्ने आंकलन गर्न थालिएको छ ।


माओवादी–एमाले मिलन होला ? 
भोटको अवस्थाले फेरि एमाले र माओवादीको तालमेल हुन सक्ला कि नसक्ला भन्ने कोणबाट पनि बहस र छलफल थालिएको छ । राजनीतिमा व्यक्तिगत झगडा र द्वन्द्व भन्दा पनि राजनीतिक तथा शक्तिको लागि अनेकौं अवस्था आउने गरेका छन् । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकोले नेपाली नागरिकको मत र राष्ट्रिय आवश्यकता आयो भने एमाले र माओवादीको मिलन नहोला भन्न सकिन्न । राजनीतिक र विचारधारात्मक दृष्टिकोणले आकाश जमिनको भिन्नता छैन । संघीय लोकतान्त्रिक गणतन्त्र पछिका अवधिका सबै दल एमालेको जनताको बहुदलीय जनवादी राजनीतिक लाइनमा आएका छन् । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै अधिकतम् प्रगतिशील सुधार गर्दै जाने नीतिलाई माओवादीले पनि स्वीकारेको अवस्था छ । यस दृष्टिमा माओवादी र एमालेको सत्ता समीकरण नबन्ला भन्न सकिने अवस्था पनि देखिन्न । तर, यो विकल्प चाहिं अब निकै कठिन छ । 


दुई दिन भित्र सत्ताको संकेत 
मत गन्न थालेको सात दिनभित्रै संसद र सत्ताको संकेत देखिनेछ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सुरू हुँदै गर्दा सात दिनभित्रै भावी सत्ता समीकरण र दलीय शक्तिको आंकलन प्रष्टै देखिने अवस्था छ । मतगणना हुँदै गरेका सबै स्थानको प्रारम्भिक मतपरिणामलाई विश्लेषण गरी सत्ताको स्वरूप आंकलन र अनुमान गर्न सकिने हुन्छ । समानुपातिकको मत गणना गर्न कम्तीमा दुई हप्ता लाग्ने भएपनि प्रत्यक्षको मतबाटै भावी सरकार र सत्ता कस्तो बन्ने हो ? कुन दल वा समूहको बहुमत आउने हो ? कुनकुन दलको सत्ता समीकरणबाट आगामी सरकारको निर्माण हुने हो ? भन्ने जस्ता प्रश्नको पूर्वानुमान गर्न सकिने स्थिति छ । 


बहुमत कसैको नआए के हुन्छ ?
बहुमत कुनैपनि दल वा गठबन्धनको नआएको खण्डमा समीकरणबाट सत्तामा सहभागिता हुने हो । अर्थात गठबन्धनले पनि प्रष्ट बहुमत नल्याउने र एमालेले पनि बहुमत नल्याउने अवस्थामा चाहिँ निर्वाचनपूर्वको गठबन्धन स्भाविक हिसाबले धरापमा पर्ने हुन्छ र टुट्न सक्छ । माओवादीका प्रचण्ड त्यस्ता पात्र हुन जो सत्ता र शक्तिको लागि जोसुकै दल वा शक्तिसँग तत्कालै मिल्न पुग्दछन् । जुनसुकै आश्वासन र वाचा गर्न पुग्दछन् । यसैले त्यस्तो स्थितिमा समीकरणमा पुरै परिवर्तन हुने कुरा पनि असम्भव हुन्न । सबैभन्दा ठूलो दल एमाले फेरि पनि कायम भयो भने माओवादीले एमालेसँग मोलमोलाई गर्दै सत्ताको भाग खोज्ने पनि हुन सक्दछ । एमाले र जसपाबाट बहुमत नजिक आयो भने केही साना र स्वतन्त्र (दलका स्वतन्त्र) सँग तालमेल गरी सत्ता र सरकारको निर्माण हुने अवस्था पनि आउन सक्छ । 


 ढेउवावाला माधव कुमारले आधा दर्जन सिट जित्ने आंकलन गरिएको छ । उसलाई समानुपातिकको लागि सदर मतको तीन प्रतिशत मत ल्याउन फलामको च्यूरा खाए सरह हुने देखिन्छ । बरु राप्रपाको हालतमा भने तात्विक फरक वा बढोत्तरी हुने देखिन्छ । स्वतन्त्रले निर्वाचनमा कुनैपनि स्थानबाट जित हासिल गर्न मुस्किल देखिन्छ । तरपनि प्रभु साह, घनश्याम भुसाल, विकास कोइराला जस्ता पार्टीबाट अलग भएका स्वतन्त्रले चाहिँ जित्न सक्ने अवस्था पनि देखिएको छ । जे होस २०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी हुँदै गर्दा दुई÷चार दिनभित्रै नेपालको राजनीतिमा कस्तो संसद, सरकार र सत्ता आउने हो ? कस्तो खालको सत्ता समीकरण हुने हो भन्ने चाहिँ प्रष्टै हुनेछ ।

 

यो चाहिँ प्रष्टै हो सत्ता गठबन्धनवालाले बढीमत पाएको खण्डमा मुलुकमा राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, राजनीतिक द्वन्द्व र सडक आन्दोलन हुने पक्कापक्की देखिन्छ । नागरिक र जनताले नचाहँदा नचाहँदै गठबन्धनवालाले जालझेल र षडयन्त्र गर्दै सत्ता लिएमा जनताका पक्षपाती र देशप्रेमीहरूले सडकमा फेरि आगो बाल्ने अवस्था बन्ने छ । मुलुकमा राजनीतिक द्वन्द्व चर्किने अवस्था पनि आउन सक्छ ।
 

प्रतिकृया दिनुहोस