• बुधबार-बैशाख-१२-२०८१

सैनिक मेडिकल कलेज (NAIHS)मा प्रश्न पत्र आउट गरेर कमाउने धन्दाकाे छानविन हाेस्

  श्रीमान प्रधान सेनापतिज्यू ।  नेपाली सेनाको स्वास्थ्य निकाय, मेडिकल कलेजमा भएका विविध विकृतिका श्रृंखला अन्तर्गत वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत विभागीय व्यक्तिहरुका दादागिरी तथा मनलाग्दी सेवाले उपचारार्थ जाने सकल दर्जाका विरामीहरुलाई दु:ख पाईरहेका छन् । सैनिक अस्पतालमा सेवा लिन जाने जवान, बिल्लादार वा भनाै सानाे दर्जाका विरामीहरूमा आक्राेश बढिरहेकाे पाइन्छ ।  यसतर्फ आर्मी हेडक्वार्टरकाे तत्काल ध्यान जावाेस् भने याे पत्र लेख्दैछाैं ।

 

सैनिक अस्पताल दिने सेवाकाे बेथितिले गर्दा अस्पताल संचालनको जिम्मेवारी प्राप्त सैनिक अधिकारीहरुलाई नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको अवस्था छ । घण्टाैं हाेइन कैयाैं दिन कुर्दा पनि विशेषज्ञ डाक्टर सेवा पाउन मुस्किल छ । स्वास्थ्य परीक्षणलगायत तत्कालै हुने न्यून ल्याव सुविधा र सामान्य परीक्षणकाे रिपाेर्ट समेत  समयमा पाइँदैन ।  


  अर्काे विकृति भनेकाे, नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित  सैनिक नर्सिङ कलेज तथा स्वास्थ्य शिक्षण संस्था मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान  (NAIHS) (Nepalese Army Institute Of Health Science) मा कार्यरत करारका कर्मचारीहरु विशेषत प्रश्न पत्र तयार गर्ने परीक्षा संचालन गर्ने र नतिजा निकाल्ने कम्प्युटर शाखामा कार्यरत कर्मचारीहरुले केही विद्यार्थीहरुसंग गोप्य रुपमा साँठगाँठ (सामाजिक संजालबाट सम्वन्ध बनाई) गरि प्रश्न पत्र आउट गरि मोटो रकम असुल्ने गरेको आशंका छ ।


  यसको गिरोहले विशेष गरि विद्यार्थीहरुका आफ्ना मान्छेहरुलाई परीक्षाका समयमा बाहिर भेटी रकम लेनदेन पश्चचात प्रश्न पत्र आउट गर्ने कार्य कलेज संचालन भए देखिनै गरिरहेको जानकारी हामीलाई  प्राप्त भएको छ । सोको जानकारी नेपाली सेनाकाे कलेज संचालकका नजिकका केही परीक्षा अधिकारीहरुलाई नभएको पनि चाहिं होइन । यसमा उनीहरु समेत करारका कर्मचारीले बुझाउने कमिशनमा रमाउने गरेको हामीले सुनेका छाैं ।

 

यसले गर्दा नेपाली सेना र  (NAIHS)काे बद्नाम भएकाे छ । यसको छानविन तत्काल नगरिएमा चिट चोरी डाक्टर भएका व्यक्तिहरुबाट कयौंको ज्यान खतरामा पर्ने छ। त्यसरी चिट चाेरेर, पास भएका कयौं डाक्टरहरु हाल नेपाली सेनाकै अस्पतालहरुमा समेत कार्यरत रहेको हामीले सुनेका छाैं ।


 साथै कल्याणकारी कोषको रकममा लामो समयदेखि करारमा कार्यरत तथा करारकाे म्याद थपि मोजमस्ती गर्ने कर्मचारीहरुलाई चाँडै नै विदा गरी दरबन्दी सिर्जना गरेर नयाँ याेग्य व्यक्तिहरु भर्ना गर्न सकेमा र करारका पुरानालाई दोहोराउने नीति नलिएमा सम्मानित संस्था नेपाली सेनाकाे र सैनिक मेडिकल कलेजको शिर संधै उंचो हुने थियाे । आगे  प्रधानसेनापतिज्यू काे जाे मर्जी । जय नेपाल ।

-नेपाली सेना तथा सैनिक कल्याणकारी कोषको भलो चिताउने समूह

प्रतिकृया दिनुहोस