• बिहीबार-असोज-१३-२०७९

 सत्ता गठबन्धन भागबण्डामा अल्झिएको छ !

(नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य लालबहादुर थापा बाजुरा १ बाट निर्वाचित जनप्रतिनिधि हुन् । नेकपा एमालेको जिल्ला कमिटी, बाजुराको अध्यक्ष हुँदै जिल्ला विकास समितिको सभापतिसमेत भइसकेका थापा विकास प्रेमी नेताको रूपमा पनि चिनिन्छन् । उनले बाजुरा जिल्लामा पालिका र वडा स्तरका सडक निर्माणमा महत्वपूर्ण भूमिका निभाएका छन् । मंसिर ४ मा हुन गइरहेको प्रदेश र संघको चुनावमा उनको नाम पनि सिफारिस छ । आसन्न निर्वाचनमा देखिएका राजनीतिक समस्या र विकास निर्माणको अवधारणा बारे रामहरि चौलागाईं र बोधराज पौडेलले थापासँग गरेको कुराकानीको अंश : (सम्पादक) 


० आसन्न मंसिर ४ मा सरकारले निर्वाचनको मिति घोषणा गरेको छ, निर्वाचनमा सहभागी बन्न एमालेले के के कुरामा कसरी तयारी गरिरहेको छ ?
–नेकपा एमालेको भर्खरै सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकबाट निर्वाचनसँग सम्बन्धित कामको सम्पूर्ण पूर्व तयारी गर्न निर्णय भएको छ । यसमा चुनावी घोषणा पत्र, निर्वाचन परिचालन मूल कमिटीलगायतका विषयमा बस्तुपरक ढंंगले छलफल भएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा हामीले जनताका बिचमा उठाउनु पर्ने मुद्दा र विषयवस्तु बारे छलफल भएको छ । त्यसैको आधारमा हामी चुनावी मैदानमा जान्छौँ । 


० उम्मेद्वारी चयनको सिफारिसले कहिले अन्तिम रूप पाउँछ नि ?
–उमेरद्वारीको सिफारिसको हकमा जिल्ला निर्वाचन कमिटीबाट प्रत्यक्ष निर्वाचितहुने उमेद्वारको छलफल सकिएको छ । जिल्ला तहको आवश्यक छलफल पूरा भएपछि प्रदेश कमिटीमा सिफारिस गर्ने प्रावधान अनुरूप सिफारिस गर्ने काम सम्पन्न भएको छ । प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा निर्वाचन क्षेत्र समन्वयन कमिटीले निर्णय गर्छ । एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला कमिटीले निर्णय गर्ने गर्छ । जिल्लाले आफ्नो परामर्शसहित प्रदेशलाई सिफारिस गर्छ । प्रदेशले आवश्यक छलफल गरेर आफ्नो निष्कर्षसहितको प्रतिवेदन केन्द्रीय कमिटीमा पठाउने गर्छ ।

समानुपातिकको हकमा पनि बस्तुपरक ढंगले सिफारिसका साथ अगाडि बढाउने प्रकृयामा पार्टी अगाडि बढेको छ । तलका कमिटीले पनि यो अभ्यास गरेका छन् । हामीले सबैलाई सर्वसम्मत सिफारिस गर्ने प्रयास गरेका छौँ । यदि कहिँ समस्या भएमा प्रदेश, संघ र समानुपातिक जे भए पनि एकजना महिला अनिवार्य गर्दै तीन जनाको नाम सिफारिस गर्ने भनिएको छ । सोही अनुसारका सिफारिस केन्द्रीय कमिटीमा प्राप्त भएको छ । असोज २ र ३ गते समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने छ । प्रत्यक्ष प्रणालीका उमेद्वारको निष्कर्ष पनि पार्टीले अगाडि बढाउछ । 


० एमालेले ७० स्थानभन्दा बढीमा सर्वसम्मत गरेर वाहीवाही पनि कमाएको छ, के एमाले अव विधि र प्रकृयामा छिरेको हो कि, केन्द्रको हस्तक्षेपका कारण सहज भएको हो ?
–नेकपा एमाले ७० भन्दा बढी स्थानमा एकल उमेद्वार सिफारिस गरेको छ । यसको अर्थ के हो भने यी क्षेत्रमा २५ प्रतिशत जित एमालेको पक्षमा हुन्छ भन्ने संकेत पनि हो । गठबन्धनको अंशबण्डाका लागि यो एउटा चुनौती पनि हो । गठबन्धनले १ सय ६५ निर्वाचन क्षेत्रलाई पैतृक सम्पत्ति जस्तो बनाएका छन् । एमाले अंगबण्डमा छैन । राज्य संचालनको महत्वपूर्ण आवधिक निर्वाचनको सुन्दर पक्षको भाग बण्डमा लाग्दैन । भागबण्डामा लाग्नु र त्यसैमा लिप्त हुनु गणतन्त्रमा नसुहाउने पक्ष हो । अर्को महत्वपूर्ण कुरा के हो भने अहिलेको गठबन्धनको सिद्धान्त र विचार पनि मिल्दैन । विपरीत ध्रुवमा रहेका उनीहरु सिट बाँडफाँडको भागबण्डमा फसेका छन् ।

यो झगडाको खेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई निकास दिंदैन । यो कुरा गठबन्धन सरकारको व्यवहारबाट प्रष्ट भएको छ । एमाले लोकतन्त्रको सुन्दर पक्षलाई कमजोर बनाउनु हुँदैन भन्ने पक्षमा उभिएको पार्टी हो । एमाले जनतालाई आजित पार्ने र घृणा जगाउने काममा कहिले पनि लाग्दैन । हामी स्वच्छ र निष्पक्ष निर्वाचनको परिकल्पना गर्छौं । गठबन्धन एमालेसँग एक्लै लड्ने साहस राख्दैन । एक्लै चुनावमा जान नसक्ने भएर नै ऊ गठबन्धनको बल खोजिरहेको छ । यसले लोकतन्त्र बलियो बनाउन सक्दैन भन्ने हाम्रो ठम्याइ छ । यो आफैमा दुखद पक्ष हो । यही कुरालाई बुझेर एमाले एकमनाका साथ एक ढिक्का भएको हो ।

 
० एमालेले पनि त राप्रपा र अरु दलसँग तालमेल गर्ने कुरा गरेको छ, आफूले गर्दा राम्रो हुने र अरुले गर्दा नराम्रो हुने भन्ने यो बुझाइ कतिको सापेक्ष हो नि ?
–विचार, सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा हुनुपर्छ भन्ने हाम्रो प्रष्ट धारणा छ । हामी कसैलाई सकाउने वा कमजोर बनाउने बहानामा तालमेल गर्ने पक्षमा छैनौ । हाम्रो उद्देश्य भनेको स्वस्थ रूपले कसैले हामी एमालेसँग तालमेल गर्न चाहन्छौँ भनेर आयो भने र हाम्रो पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयसँग मेल खायो भने मात्र तालमेल हुन्छ । तर, त्यो स्वस्थ, सभ्य र मर्यादित हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । यहाँ हाम्रो निर्णय जनताले समेत पचाउन सक्ने हुनुपर्छ भनेका छौँ ।

 

अर्को कुरा भनेको अहिलेका राष्ट्रिय मुद्दामा रहेका समान धारणा के हुन्, ती समान मूल्य र मान्यता बोकेका पार्टीसँग मात्र तालमेल हुनसक्छ । यसमा तानातान नभइ आवश्यकता र औचित्यका आधारमा गर्ने भनेका छौँ । अझ राजनीतिक गन्तव्य मिल्नेसँग सहकार्य गर्न सकिने भनेको हो । बुझ्नु पर्ने कुरा के हो भने एमाले हामीलाई साथ देऊ भनेर कतै पनि जाँदैन, अरु आएर तालमेल गरौँ भने भने छलफल र प्रकृया अनुरूप काम गर्छ । एमालेले यो सन्दर्भमा पुनः विचार गर्ने काम गर्छ । यही विचारमा अडिग भएर अगाडि बढ्छ । 

 


० केन्द्रीय कमिटीको बैठकमा देशभरि एमालेको अवस्था र आँकलनका विषयमा भएको छलफलले एमालेले बहुमत नै ल्याउँछ भन्ने छ, पहिला पनि एमाले राम्रो छ भनेर रिपोर्टिङ भएका कारण हार बेहोरेर तत्कालीन पार्टी अध्यक्षले राजीनामा दिएका थिए, यो आँकलन पनि गठबन्धनका कारण उस्तै त हुँदैन ?
–एमालेले बहुमत ल्याउन सक्दैन भन्ने हैन । नेपालको राजनीति एमालेको मुद्दाको वरिपरि नै घुमिरहेको छ । अहिले तपाईंले भने जस्तो अवस्था अहिले एमालेले निकालेको निष्कर्षले देखाउँदैन । भर्खरै सम्पन्न भएको निर्वाचनबाट पनि हामीले धेरै कुराको समीक्षा र ऊर्जा लिएका छौँ । ०७४ को र अहिलेको तुलना गर्ने हो भने हामी केही पछाडि छौँ । तर, सत्य के हो भने त्यहाँ ठूलो मतान्तर छैन । एमाले शक्तिशाली पार्टीको रूपमा अगाडि बढिरहेको छ भन्ने एउटा बलियो प्रमाण यो पनि हो ।

अवको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमाले बहुमतका साथ अगाडि बढ्छ भन्ने हाम्रो विश्वास हो । एमालेले अघि सारेका मुद्दा राष्ट्रियता स्वाधीनता, जनताको जीवन र अग्रगतिसँग सम्बन्धित भएका कारण पनि जनताले यही अनुरूपको सहयोग गर्छन् भन्ने कुरामा हामी ढुक्क छौँ । एमालेले बहुमत ल्याएपछि केपी ओलीको सरकारका पालाका अधुरा योजनालाई पनि पूरा गर्न सहयोग पुग्छ । राजनीतिक अस्थिरताको अन्त्य यहीँबाट हुन्छ । मुलुकले राजनीतिक र आर्थिक विकासमा फड्को मार्छ । र, जनताले लोकतन्त्रको लाभ प्राप्त गर्छन भन्ने विषयमा हाम्रो पार्टी प्रष्ट छ । 

 


० अब सुदूरपश्चिमको कुरा गरौँ, त्यहाँ एमाले र अरु पार्टीको चुनावी प्रतिस्पर्धाको अवस्था कस्तो देख्नु हुन्छ ?
–सुदूर पश्चिमा आन्तरिक कारणले एमालेलाई केही क्षति भएको छ । जनताले पत्याएको र विश्वास गरेको उमेद्वारभन्दा व्यक्तिले बनाएको उमेद्वारका कारण यो क्षति भएको थियो । बाह्य कारण भन्दा आन्तरिक कारणले क्षति भएको हुनाले हामीले स्थानीय तहमा भएका कमी कमजोरीबाट पाठ सिकेर अवको निर्वाचनमा उच्च स्तरको योजना बनाएर एमाले अगाडि बढ्छ । जसरी ०७४ मा अघि बढेको थियो । सुदूरपश्चिमाको १६ सिटमा डडेल्धुरामा मात्र नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले र कैलालीबाट रेशम चौधरीले जिते । माओवादीसँग एमालेको गठबन्धन भएको हुनाले ३ सिट माओवादी र बाँकी ११ सिट एमाले जितेको थियो । प्रदेशमा पनि सोही अनुपातमा नै जितेको थियो । हिजोको परिणामलाई बृद्धि गर्ने हाम्रो प्रयास छौं । यसका लागि जनताको भावना र वैज्ञानिक तरिकाले हामी काम गरिरहेका छौँ । हाम्रो प्रयास अनुसारको जनताको बहुमतसहितको अभिमत प्राप्त गर्ने छौँ । सुदूरपश्चिमलाई एमालेको पक्षमा ल्याउनका लागि साथ जनताले दिन्छन, नेतृत्व एमालेले गर्छ । 

 


० सुदूरपश्चिममा एमालेको प्रतिस्पर्धीको रूपमा कुन दल देखिएको छ नि ? 
–अगाडिको चुनावी रूपमा तुलना गर्ने हो भने काँग्रेस र माओवादी दुबै प्रतिस्पर्धामा देखिदैनन् । प्रतिनिधि सभामा देउवाले १ सिट मात्र जितेको अवस्था हो । प्रदेशमा पनि कांग्रेस कमजोर छ । एमालेले नै बहुमतको आधारमा प्रदेशमा सरकार बनाएको थियो । प्रतिस्पर्धा नै नहुने भन्ने कुरा त हुँदैन तर जनताले आभास गर्ने गरी प्रतिस्पर्धी भने देखिदैनन् । प्रतिस्पर्धी र शक्ति फरक कुरा हुन । मुद्दा वा अन्य हिसाबले भन्ने हो भने एमालेको प्रतिस्पर्धी छैन भन्दा फरक नपर्ला । बाजुराका ९ स्थानीय तहमा ६ मा एमालेले जितेको छ । बुढीगंगामा हारलाई पनि अहिलेको गठबन्धन सरकारले स्वीकार गर्न सकेन । हार स्वीकार नगर्न प्रधानमन्त्री, गृह मन्त्री, सचिव, आइजी प्रयोग भए । निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म मुद्दा प¥यो र पुनः निर्वाचन भयो । १० वटा वडामा ९ वटामा एमालेले जितेको थियो । पछि पुनः निर्वाचनमा पालिकामा पनि एमालेले नै विजय हासिल ग¥यो । जनताको शक्ति र चाहनाको अगाडि सत्ताको केही नलाग्ने आम जनताले यसबाट बुझे । नेपालको राजनीतिलाई दिशा दिने काम बुढीगंगाको निर्वाचनले देखाएको छ । 

 


० बाजुरामा एमालेको बलियो उपस्थिति छ, यो निर्वाचनमा एमालेले  पहिलाको भन्दा अझ बढी शक्ति संतुलन गर्छ ? के कस्तो आँकलन गर्नु भएको छ नि ?
–एमालेले पहिला भन्दा अझ मजबुत ढंगले निर्वाचन जित्छ । यो विषयमा शंका गर्नु पर्दैन । अब रह्यो साखको कुरा । राज्यको त्यत्रो शक्तिको अगाडि नझुकेका जनता स्वतन्त्र र निष्पक्ष निर्वाचनमा झुक्लान भन्ने कुरा कल्पना बाहिरको कुरा हो । जनताको माग एमाले नै हो भन्ने कुरा हामीले बुझेका छौँ । अवसर पाउँदा राज्यकोष र शक्तिको दुरुपयोग गर्ने पार्टीको रूपमा नेपाली काँग्रेसको चित्रण भएको छ । काँग्रेसले ०४८, ०५१, ०५६, ०६४, ०७०  देखि आजसम्म निर्वाचनको समयमा नेपाली काँग्रेस नै सत्तामा रहेको छ । हामी त सधैं प्रतिपक्षमा नै छौँ । सत्तामा रहँदा काँग्रेसले के गर्छ भन्ने कुरा यसपटको बुढीगंगाको निर्वाचनले देखाएको हुनाले त्यस घटनाले पनि हामीलाई सहयोग पुग्छ । बुढीगंगामा मत नदिएका मतदाताले पनि एमालेलाई मत नदिएकोमा आफूहरु पश्चातापमा परेको बताउँदै आएका छन् । यसबाट पनि एमालेले जनताको साथ र सहयोग पाउछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । 

 


० विचार सिद्धान्त नमिल्ने पार्टीले गठबन्धन गरेका छन्, माओवादी र नेकपा एकीकृत समाजवादीको बटम लाइन के हो र उनीहरूको सत्ता लिप्साको कारण के ठान्नु हुन्छ ?
–माओवादीको सैद्धान्तिक लाइनको कुरा गर्दा उसको काँग्रेससँग न त विचार मिल्छ, न नीति नै । माओवादीको राजनीतिक दिशा अब सिद्धियो । उसले आफ्नो राजनीतिक रक्षा गर्न सकेन भन्दा फरक पर्दैन । पुष्पकमल दाहाल प्रचण्ड माओवादी हुन कि नेपाली काँग्रेस भन्ने प्रश्न जनतामा उठ्न थालेको छ । साथै उनी प्रगतिशील वा पुँजीवादी के हुन्न भन्ने कुरा पनि कांग्रेससँगको गठबन्धनले स्पस्ट भएको छ । एसका अध्यक्ष माधव नेपाल एमालेको १४ वर्ष महासचिव भएको व्यक्ति, पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको व्यक्ति पनि सत्ता स्वार्थको लागि त्यता लागेका छन् । अव उनको समाजवादको नारा र परिवर्तनको कुरामा कसले विश्वास गर्ने । त्यो आधार नेपालले गुमाइसकेका छन् । अहिले यी सबै सिद्धान्तको जग र आधार बुढानीलकण्ठ र शेरबहादुर देउवाभित्र समाहित भइसकेका छन् । प्रचण्डहरूको राजनीतिक बटम लाइन भनेको भाग खोज्ने मात्र हो । यसले यी शक्तिहरु पुँजीवादी र बुर्जुवामा परिणत भइसकेको पुष्टि गर्छ । 

 


० बाजुरामा एमालेले कोसँग प्रतिस्पर्धा गर्छ नि ?
–अब पार्टी र उमेद्वारका हिसाबले नेपाली काँग्रेस होला । तर शक्तिको कुरा गर्न खोज्नु भएको हो भने कोही देखिंदैन । शक्ति भनेको जनता हुन् । चुनावमा मतदान गर्नको लागि जनता चाहिन्छ । उनीहरुको पक्षमा जनमत छैन भने प्रतिस्पर्धीको रूपमा बुझ्ने कुरा आउँदैन पनि । म प्रतिनिधि सभाको उमेद्वार बन्दै गर्दा सुरू देखि अन्तिमसम्म एउटै कुरा भनेको थिएँ–प्राविधिक हिसाबले मसँग प्रतिस्पर्धी होलान् । तर जनताको शक्ति र अभिमतको आधारमा म विजय बनेको छु भन्ने लाग्छ भनेको थिएँ । जनताको अभिमत त्यसरी नै आएको हो । अहिलेको अवस्था पनि त्यो भन्दा फरक रहेको देखिदैन । 

 

० आगामी निर्वाचनका लागि तपाईं पनि प्रतिनिधि सभाको उमेद्वारको लागि सिफारिस हुनु भएको छ, यो तपाईंको आकांक्षा हो वा पार्टीको आवश्यकता ?
–प्रदेश र प्रतिनिधि सभामा कार्यकर्ता र जिल्ला कमिटी र मातहतका कमिटीले जनता र कार्यकर्ताको भावना र आवश्यकताको आधारमा कसैलाई प्रदेश र कसैलाई प्रतिनिधि सभामा पठाउलान् तर हामी सबै जो–जो जहाँ छौँ । हुन्छौँ सबै संख्याको मन एउटै हुन्छ । यसमा एकजुट र एक शक्ति भएर एमाले बाजुरामा विजय हासिल गर्ने यात्रामा पार्टी अगाडि बढ्छ । कार्यकर्ता अगाडि बढ्छन् । उमेद्वार को कहाँबाट बन्ने विषय हाम्रो लागि महत्वपूर्ण विषय होइन । प्रदेशमा पनि योग्य मानिसको आवश्यकता पर्छ । संघमा पनि पर्छ ।

 

विगतको पाँच वर्षमा प्रदेशप्रति हेर्ने दृष्टिकोणमा वितृष्णा फैलिएको छ । त्यसलाई पनि मेटाउनु पर्ने छ । प्रदेश सरकारको आवश्यकता र औचित्यका लागि मनन गर्दै सातवटै प्रदेशमा केन्द्रीय स्तरबाट पनि पार्टीले विवेक प्रयोग गरेर कसलाई कहाँ पठाउने भन्ने निर्णय गर्ला । अहिले नै को कहाँ भन्ने निर्णयमा पार्टी पुगिसकेको छैन । म पनि सिफारिस भएको छु । तर विवेकयुक्त तरिकाले त्यसमा आवश्यकता र क्षमताको आधारमा राख्नुपर्छ भन्ने पक्षमा म छु । पार्टी छ । प्रदेशमा पनि जनताले पत्याएको व्यक्ति चाहिन्छ । विकास, वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यक्ति आवश्यक पर्ने हुनाले पार्टीले सोही अनुरूप मिलाउछ होला भन्ने मलाई लाग्छ । अहिलेको सिफारिस मात्र हो, यो नै अन्तिम निर्णय होइन । 

 


० बाजुरमा तपाईंले विकासका योजनामा ध्यान दिएको त प्रष्ट छ, खासमा पहाडी क्षेत्रका लागि आवश्यक विकासको पूर्वाधार के रहेछ, विकासका योजना संचालन गर्नका लागि तपाईंले गर्नु भएको संघर्षको अनुभव कस्तो रहेको छ ?
–म ०७४ मा प्रतिनिधि सभाको निर्वाचनमा उठ्दै गर्दा मैले पाँचवटा अवधारणा अघि सारेको थिएँ ।  पहिलो भनेको संविधानलाई कार्यान्वय गराउने भूमिका निर्वाह गर्नेछु । सोही अनुरूप संविधान जारी भएको दुई वर्षभित्र मौलिक हकसँग सम्बन्धित कानूनहरु बनाइसक्नु पर्ने काम सम्पन्न ग¥यौं । प्रतिनिधि सभाको बैठक बसेको एक वर्षभित्र संविधानसँग बाँझिएका र संविधानलाई नचिन्ने कानूनलाई संविधान अनुकूल बनाउने योजना अघि सारेको थिएँ । दुई सय भन्दा बढी ऐनको संशोधन गर्ने काम सम्पन्न भयो । संविधान कार्यान्वयनका लागि वित्तीय व्यस्थापन गर्नु हाम्रा लागि चुनौती थियो । स्थानीय तहमा उस्तै समस्या थियो । जनशक्ति लगायतका विषयको व्यवस्थापन गर्नुपर्ने थियो । यो नै हाम्रा लागि महत्वपूर्ण अभिभारा थियो । 

 


० मार्तडी–कोल्टी र  विच्छाको सडक कर्णाली जोड्नु भयो, यसको खाका कहिले बनाउनु भएको थियो नि ?
–पूर्वाधारमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने मेरो योजना थियो । सोही अनुसार मार्तडी–कोल्टी–कवाडी र विच्छाको सैन हुँदै हुम्ला–हिल्सा सडक कर्णालीसम्म जोडिएको छ । जुन सडक म जिल्ला सभापति २०५४ सालमा भएको वेला मैले विश्व खाद्य कार्यक्रममा पहल गरेँ । र, २०५६ सालमा सुरु भयो । त्यो कच्ची सडक थियो । अहिले हेर्नुहुन्छ भने ४० किलोमिटर सडक १ अर्ब ५८ करोड प्रदेश र संघको साझेदारी कालोपत्रे हुँदैछ । पश्चिमतर्फ जाने गौमुल–स्थानीय तहमा जाने सडक त्यो कालोपत्रे हुने तयारीमा छ । मार्तडी–घटमुना–दहकोट र बझाङको सिमाना जोड्ने रणनीतिक सडक बनाउन ६० करोड रकमको चाँजो मिलाएको छु । एक पालिकाबाट अर्को पालिका जोड्ने साना सडक र एक वडाबाट अर्को वडा जोड्ने सडक प्रदेश र केन्द्रीय सरकारसँग समन्वयन गरेर पालिका जोड्ने र वडा जोड्ने सडकलाई महत्वका साथ अगाडि सारेका छौं । 

 


० सुदूरपश्चिमका हिमाली क्षेत्रमा जडिबुटी, गेडागुडी र स्याउ उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ, कृषिलाई आत्मनिर्भर बनाउनका लागि यहाँको भूमिका कस्तो रह्यो त ?
–कृषिलाई आधुनिकीकरण गर्ने र व्यवसायिक बनाउने योजना छ । कृषिलाई जनताको आम्दानीको स्रोतको रूपमा विकास गर्ने मेरो योजना थियो । कृषि मन्त्रालयबाट सोही अनुरुपको कार्यक्रम प्रदेश सरकारको समन्वयनमा स्थानीय तहको रोहवरमा ती कार्यक्रम अगाडि बढाएको छु । सँगसँगै पयर्टन प्रवद्र्धनका कुरा छन् । बाजुरमा बडीमालिका रहेको छ । १४ हजार फिट भन्दा अग्ला हिमाल रहेका छन् । मध्यपश्चिम, सुदूरपश्चिम हुँदै भारतको उत्तराञ्चलका सबै भूगोलमा वसोवास गर्नेहरुको मेला लाग्ने एउटा तिर्थको रूपमा परिचित छ । यहाँ जनै पूर्णिमामा मेला लाग्छ ।

 


० बडीमालिकाको डिपिआरको काम कहाँ पुग्यो ? 
–त्यसको डिपिआर सम्पन्न भएको छ । सँगसँगै पैदल मार्ग बनेको छ । र, त्योसँग सम्बन्धित अन्य आवश्यक पूर्वाधार बनाइएको छ । त्यसका साथै खानेपानीको व्यवस्थापन गरिएको छ । नाट्यश्वरीबाट तल झरिसकेपछि अत्यन्तै रमणीयस्थल छ ।  त्यहाँ पार्क, मन्दिर, धर्मशाला बनाउने काम भइरहेको छ । स्वास्थ्य इकाइ नभएका स्थानमा स्वास्थ्य इकाइ व्यवस्थापन गर्ने काम भयो । शिक्षाको क्षेत्रमा गुणस्तरियता कायम गर्ने काम भयो । आवश्यक भएका स्थानमा विद्यालय थप गर्ने र धेरै भएका स्थानमा गाभ्ने भए गाभ्नु पर्छ भन्ने अवधारणा अनुसार राम्रा विद्यालय भवन बनेका छन् । अब शिक्षाको गुणस्तर सुधारको पाटोमा काम गर्ने तयारी भइरहेको छ । विकास भनेको अनवरत रूपमा चलिरहने विषय भएको हुनाले अपुग हुन सक्छ तर केही गरेन भएन भन्ने ठाउँ भने छैन भन्ने लाग्छ । 
 

प्रतिकृया दिनुहोस